Comments Add Comment

यो हो विश्वको सबैभन्दा आत्मनिर्भर राज्य

काठमाडौं । धेरैले विश्वमा नखचिवनको नाम नसुनेका पनि हुन सक्छन् । यो अजरबैजानको स्वायत्त गणराज्य हो । यो ट्रान्स–काकेसियन उच्च समस्थभूमिमा अवस्थित छ ।

नखचिवन चारैतिरबाट अर्मेनिया, इरान र टर्कीले घेरिएको छ । यो पूर्व सोभियत संघभन्दा पृथक आउटपोस्ट हो । यहाँ बाहिरबाट पनि खासै पर्यटक आउँदैनन् । यो राज्यलाई अर्मेनियाको ८०–१३० किलोमिटरको भूमिले आफ्नो मुलुक अजरबैजानसँग छुट्याएको छ । यहाँको जनसंख्या साढे चार लाख छ । यो विश्वको सबैभन्दा ठूलो अर्को मुलुकहरुले घेरिएको राज्य हो ।

यसको क्षेत्रफल इन्डोनेसियाको बालीको जति नै छ । यहाँ सोभियतकालका भवनहरु छन्, सुनका गुम्बज भएका मस्जिद छन् र राता पहाड छन् । हजरत नबीलाई यहाँको उच्च समाधिस्थलमा गाडिएको विश्वास छ ।

राजधानी

नखचिवनको राजधानी सहर सधैं सफा देखिन्छ । प्रत्येक साता सरकारी कर्मचारीहरु यहाँ रुख लगाउने र सरसफाइको काम गर्छन् । सोभियत संघ विघटन हुँदा सबैभन्दा पहिला यहाँ नै स्वतन्त्रताको घोषणा गरिएको थियो । त्यसको १५ दिनपछि मात्र यो राज्यलाई अजरबैजानमा सामेल गरिएको थियो ।

अजरबैजानको राजधानी सहर बाकुबाट ३० मिनेटको फ्लाइटमा नखचिवन पुग्न सकिन्छ ।

बाहिरी विश्वबाट टाढा

नखचिवनमा सोभियत संघको सीमा नाटोको सदस्य टर्कीसँग जोडिन्छ । यहाँको सीमा इरानसँग पनि जोडिएको छ । त्यसैले सोभियत संघका अधिकांश मानिस यहाँ सजिलै पुग्न सक्दैनथे । सोभियत संघबाट टुक्रिएको ३० वर्षपछि पनि रुसी भाषा बोल्ने र अन्य बाहिरी मानिसका लागि यो क्षेत्र नौलो छ । अजरबैजानको भिसा छ भने यो क्षेत्रको यात्रा गर्नमा कुनै रोकतोक हुँदैन । तर पनि कुनै विदेशी पर्यटक आउँदा यहाँका पर्यटकहरु अचम्ममा पर्छन् ।

हजरत नुहको क्षेत्र

नखचिवन यति सफा छ कि यहाँ कतै पनि फोहोर खोज्दा पनि भेटिँदैन । यहाँको आठा कुना भएको बुर्जले सबैको ध्यान तान्न सक्छ । इस्लामिक शैलीमा निर्माण गरिएको यो बुर्जमा सिंगमरमरका टाइलहरु छन् । यहाँका मानिसका लागि यो बुर्ज निकै विशेष छ । नुहको चिहान नबीलाई गाडिएको दाबी गरिने विश्वका पाँच स्थानमध्येको एक हो । यहाँका मानिसहरु भने उनीहरुको मातृभूमि हजरत नुहको जमिन भएकोमा विश्वास गर्छन् ।

जानकारहरुका अनुसार ‘नखचिवन’ अर्मेनियाली भाषाको दुई शब्द मिलेर बनेको छ । यसको अर्थ ‘वंशजहरुको स्थान’ भन्ने हुन्छ ।

अर्मेनियासँगको युद्ध

सन् १९८८ मा सोभियत संघको पकड कमजोर बनेसँगै उसको अधीनमा रहेको दक्षिण–पश्चिमी अजरबैजानमा नखचिवन नजिकै रहेको नागोर्नो–कारबाखमा अर्मेनियाका नश्लीय समूहहरुले अजरबैजानसँग युद्ध शुरु गरे । सन् १९९४ मा युद्धविराम हुँदासम्म यो हिंसामा करिब ३० हजार मानिसको मृत्यु भएको थियो ।

सन् १९८८ मा अर्मेनियाका नश्लीय समूहले नखचिवन र अजरबैजान तथा सोभियत संघसँग जोड्ने रेल तथा सडक मार्ग बन्द गरेका थिए । इरान र टर्कीसँग जोड्न आरस नदीमा बनाइएका दुई साना पुल नखचिवनलाई भोकमरीबाट बचाउन सहायकसिद्ध भए । नाकाबन्दीमा फसेको नखचिवनको मानिसहरुमा त्यसपछि आत्मनिर्भरताको भावना उत्पन्न भयो । आर्थिक रुपमा पुल र छिमेकीसँग निर्भर रहनुको सट्टामा उनीहरु आफैं आत्मनिर्भर हुने दिशामा अघि बढ्न थाले र आफूलाई आवश्यक पर्ने सामान आफैं उत्पादन गर्न थाले ।

सन् २००५ मा कच्चा तेलको कारण अजरबैजानको आम्दानी र अर्थतन्त्र पनि बढ्यो । यससँगै नखचिवनमा लगानी पनि बढ्यो । यसबाट आत्मनिर्भरताको राष्ट्रिय भावना मानिसहरुमा विकास भयो । अहिले अजरबैजानको अर्को मुलुकको बीचमा रहेको राज्य त्यस्तो उदाहरणमा पर्छ, जुन आर्थिक रुपमा कुनै पनि देश, बाहिरी सहायता वा अन्तर्राष्ट्रिय व्यापारमा निर्भर छैन ।

नखचिवनको नीतिले यहाँका मानिसहरुको खानपानको शैली पनि परिवर्तन भयो । यहाँका मानिसहरु अर्गानिक खेतीतर्फ आकर्षित भए, जुन राष्ट्रिय गौरवको स्रोत बन्यो र यसले यो ठाउँको नयाँ पहिचान पनि दियो ।

नखचिवनले सोभियत संघ छाडेपछि आफ्नै नीति बनायो, जसमा कीटनाशक औषधिको प्रयोगमा रोक लगाउने नीति पनि थियो । उनीहरु स्थानीय खेतमा फलेका खानेकुरा खान थाले । माछा पनि स्थानीय तालमा पालिएका मात्र खान्छन् । उनीहरुले नुन पनि नखचिवनको एक भूमिगत गुफाबाट निकालेका छन् । यहाँँका पहाडमा उल्लेख्य मात्रामा जडीबुटीहरु पनि पाइन्छन्, जसको कारण यहाँका मानिसहरु पनि स्वस्थ छन् ।

नखचिवनका सरकारी कर्मचारीहरुले स्वेच्छिक काम गर्नुपर्ने हुन्छ । जसमा सरसफाइ, बिरुवा रोप्नेलगायतका कामहरु हुन्छ । यस किसिमको काममा शिक्षक, सैनिक, डाक्टर र अन्य सरकारी कर्मचारीहरु पनि सामेल हुन्छन् । यस किसिमको काम गरेको उनीहरुले कुनै भुक्तानी भने पाउँदैनन् । यो कामप्रति आपत्ति हुने सरकारी कर्मचारीले तत्कालै आफ्नो कामबाट राजीनामा दिनुपर्ने हुन्छ । यो राज्यमा पछिल्लो १५ वर्षमा अर्थतन्त्र तीन गुणा बढिसकेको छ ।

–स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment