Comments Add Comment

अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका र बिग्रेका खाद्यवस्तुको चाङ

२८ भदौ, काठमाडौं ।  काठमाडौंका अधिकांश खाद्य स्टोरमा म्याद गुज्रेका वा अन्य कारण बिग्रेर फिर्ता गर्नु पर्ने सामान पनि उपभोक्तालाई झुक्याएर बेचिरहेको खुलेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरिरहेको नियमित अनुगमनका क्रममा बेच्न राखिएका समानसँगै म्याद गुज्रिएका समान पनि राखिएको भेटिए ।

ब्यापारीहरुले त्यो सामनान म्याद गुज्रिएकोले राखिएको बताएपनि छुट्टै व्यवस्थापन नगरेको पाइएको हो । ती समान सकेसम्म उपभोक्तालाई नै बेच्ने नियम देखिएको छ ।

अनुगमन टालीका अनुसार कतिपय दाल र गेडागुडी, काजु, किसमिस, छोकडालगायतका मसला कहिले कसले प्याकेजिङ गरेको हो? उपभोग्य मिति कहिलेसम्म हो, उल्लेख पाइएन ।

चिउरा, म्याक्रोनी, पास्ताजस्ता सामाग्री बोराबाट निकालेर आफैं प्याकेट बनाउने, तर उपभोग गर्न हुने मिति उल्लेख नगर्ने जस्ता समस्या पनि देखिएका छन् ।

यस्ता कुरामा उपभोक्ताले पनि ध्यान दिएको नदेखिएको टोलीका एक सदस्यले बताए ।  सामान मागेपछि व्यापारीले जुन दिन्छन् त्यही लिने गर्दा म्याद गुज्रिएका समान पनि भन्छासम्म पुगिरहेको खुलेको छ ।

भदौ २७ र २८ गते चावहिल क्षेत्रमा भएका होलसेल र खुद्रा खाद्यान्न पसलको अनुगमनका क्रममा उपभोक्ताले पनि प्याकेटमा लेखिएको सामान्य विवरण हेरेर खरिद गर्ने गरेको नदेखिएको हो । उपभोक्ताले खरिद बिल नलिने अर्को समस्या पनि देखिएको छ ।

चावहिल चोककै छेउमा एउटै पसलमा मजिन स्टोर र सावरिया होलसेल मार्ट । एउटा सटरमा बाहिरबाट हेर्दा सानो किराना पसल जस्तै देखिन्छ । यसका सञ्चालकले छेवैका दुईवटा घरमा दुई वटा फ्ल्याट लिएर सामान भण्डारण गरेका छन् ।

भण्डारमा म्याद गुज्रिएका सामान र म्याद भएका सामान एकै ठाउँमा छन् । भण्डारण गरिएका कोठामा सूर्यको प्रकाश छिर्दैन । भित्रअँध्यारो छ । पुतली उडिरहेका छन् । ढोका खोलेर भित्र छिर्दा केही गनाएको महसुस हुन्छ । गोदाम प्रमाणित गरेको छैन ।

पसलमा मूल्य सूची छैन । खानेकुरासँगै झिँगा, मच्छड र साङ्ला मार्ने विषादि पनि बेच्न राखिएको छ । पसलको यो अवस्थाले उपभोक्तालाई कुनै असर गर्दैन ।  किन्न आउने उपभोक्तालाई हतार छ । पैसा तिरेर लिएको सामान कस्तो छ ? हेर्ने फुर्सद पनि देखिँदैनथ्यो ।

यो जस्तै जयबागेश्वरी स्टोरलगायतका स्टोरमा खाद्य सुरक्षाका दृष्टिले भण्डारण असुरक्षित थियो । वडामा दर्ता छैन, नापतौल अद्यावधिक छैन ।

मित्रपार्कमा रहेको ठूलो होलसेल जय भोले ट्रेडर्समा पनि विवरण उल्लेख नभएका दाल र गेडागुडीका प्याकेट भेटिए । भण्डारण अस्तव्यस्त थियो ।

अनुगमन समितिले खरिद बिक्री बिल, दर्ता र नविकरण प्रमाण पत्र, गोदाम प्रमाणीकरणको प्रमाण पत्र, व्यवसाय र बहाललगायत करचुक्ता प्रमाण पत्र जस्ता आवश्यक कागजातसहित ३ दिनभित्र महानगरको कृषि बिभागमा सम्पर्क राख्ने गरी निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment