Comments Add Comment

खानेपानी विभागको महानिर्देशकमा मिना श्रेष्ठ

२८ भदौ, काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ ।

करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त भएकी हुन् । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत थिइन् ।

यसअघिका विभागका महानिर्देशक सुनिलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए ।

श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिवमध्ये वरिष्ठ थिइन् । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो,’ प्रवक्ता शाक्यले भने ।

मिना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन् । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो ।

यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन् । वि.सं २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन् । नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरेकी छिन् ।

२०६६ साल चैत्र १२ गते लिखित परिक्षाबाट बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन् ।

स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उनी  २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment