Comments Add Comment
अबिच्युरीः हक्की नेता सिकन्दर :

जसले वीपीलाई गोलीबाट बचाए

२८ भदौ, पोखरा । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ‘स्याङ्जा गोलीकाण्ड’ चर्चित छ । जनमत संग्रहताका आमसभालाई सम्बोधन गर्न वीपी कोइराला स्याङ्जा पुगेका थिए । पञ्चायतका मण्डलेहरूले वीपीको टोलीमाथि डाँडाबाट ढुङ्गा बर्साए। वीपीको साथमा पनि नेपाली कांग्रेसको सुरक्षादस्ता थियो । दस्तामा एकजना किशोर पनि थिए- भोजबहादुर गुरुङ ‘सिकन्दर’ ।

राङखोलामा आमसभा गरेर फर्किँदा सिकन्दर, महादेव गुरुङ लगायतको टोली डाँडामा उक्लिएर ढुङ्गामुढा बर्साउनेहरूलाई लखेटे । राङखोलाबाट स्याङ्जा बजार आइपुग्दा वीपीको टोलीमा प्रहरीले नै गोली चलायो । सिकन्दर पुराना किस्सा सुनाउँथे, ‘हामीले प्रहरीको पनि ३ वटा बन्दुक खोस्यौं ।’

स्याङ्जाबाट आएपछि वीपीले एउटा प्रसंगमा सिकन्दरजस्ता जुझारु युवाबाटै अब परिवर्तन निश्चित छ र कांग्रेसको भविष्य पनि यस्तै युवाको काँधमा छ भनेको सिकन्दर सुनाउँथे ।

कांग्रेसका पाका नेता खेमराज पौडेल सिकन्दरलाई पार्टीका निष्ठावान नेताका रुपमा सम्झन्छन्।२०३६ सालको आन्दोलनमा उनी नेपाल विद्यार्थी संघमा आबद्ध भएर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय थिए । त्यही क्रममा एक पटक पोखराको महेन्द्रपुलमा मण्डलेहरूले सिकन्दरमाथि नै गोली चलाएका थिए । ‘महेन्द्रपुलबाट पालिखेचोकतिर बार नाघेर भागें । घर पुग्दा त सबै रोइरहेका थिए’, पछि उनी भन्थे, ‘एक हिसाबले यो नाफाको जिन्दगी हो, केको लोभ गर्नु !’

२०३३ सालतिर सिकन्दरका बाजे धीरबहादुर गुरुङ कांग्रेसको कास्की सभापति थिए । त्यही कारण उनी कांग्रेसका एकजना निष्ठावान युवा कार्यकर्ता बन्न पुगेका थिए ।

कवि तीर्थ श्रेष्ठ, पोखराका पूर्व मेयर भोला थापा, पूर्व मन्त्री महादेव गुरुङसँग प्रभावित भएर सिकन्दर आन्दोलनमा हाेमिएका हुन् । विद्यार्थी आन्दोलन र कांग्रेसको राजनीतिमा सिकन्दर सधैं वीपीको पथमा रहे ।

पूर्वसभामुख तारानाथ रानाभाट सिकन्दरलाई पञ्चायती व्यवस्थाविरुद्ध लडेको, राजनीतिक आन्दोलनमा निरन्तर लागेको एक जोदाहा भन्छन् । ‘उमेर फरक भए पनि हरेक आन्दोलनमा हामी सँगै लड्यौं । ऊ इमान्दार, जुझारु, प्रतिबद्ध र उदार चरित्रको साथी थियो,’ रानाभाटले भने, ‘ऊ राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूको खिलापमा सधैं रहृयो ।’

वीपीको सानिध्य र माया पाएका सिकन्दरले न पदको लोभ गरे न पैसाको । तर पनि उनले राजनीतिक पहुँच र शक्तिलाई व्यक्तिगत स्वार्थमा कहिल्यै प्रयोग नगरेको रानाभाट सम्झन्छन् ।

खेमराज पौडेलका अनुसार वीपीको देहावसानपछि सिकन्दर गणेशमान सिंह, शैलजा आचार्य, गिरिजाप्रसाद कोइराला लगायतसँग नजिक रहे । २०३९ सालमा वीपीको निधन हुँदा कृष्णप्रसाद भट्टराई, आफूलगायत चारजना कोठामा सँगै रहेको उनी सुनाउँथे ।

नमागेको टिकट पाए, बचेको चुनाव खर्च फिर्ता गरे

सिकन्दर कास्की कांग्रेसमा हक्की नेताका रूपमा चिनिए । तत्कालीन मल्टिपर्पोज हाइस्कुलमा स्ववियु सभापतिसमेत रहेका उनी प्रदेश सभाका उम्मेदवार थिए । तर निष्ठावान र इमान्दार नेताको छबिले मात्र उनले कास्की क्षेत्र नम्बर ३ को ‘ख’ मा चुनाव जित्न सकेनन् ।

सिकन्दर निर्वाचनभरि चर्चाको केन्द्रमा भने रहिरहे । त्यसका केही कारण थिए, एक त उनले आफूलाई चाहिँदैनभन्दा भन्दै टिकट पाएका थिए । अर्को, चन्दा उठाएर चुनाव नलड्ने घोषणा गरेका थिए । आञ्चलिक शब्दमा गर्ने उनका भाषण पनि चर्चामै रहे ।

उनले चुनावमा भाषण गरेका थिए, ‘म त साथीका लागि टिकट माग्न गएको थिएँ, उल्टो थर्काएर मलाई पो दिए । पार्टीले भनेपछि चुनाव लड्नैपर्‍यो । तर म पैसाले होइन, जनताको विश्वासले चुनाव जित्छु ।’

सिकन्दरले जीवन चलाउन फेन्सी पसल गरे, फूल खेती गरे तर राजनीतिलाई सिँढी बनाएनन् । तर निर्वाचनमा पार्टीले पठाएको खर्च फिर्ता गर्ने उम्मेदवार उनी नै बने ।

‘चुनावलाई पैसा जम्मा गर्ने मौका बनाउनेहरू छन् तर सिकन्दरले पार्टीले दिएको खर्च उब्रिएपछि पार्टीलाई नै फर्काइदियो । यस्तो मान्छे कमै देखिन्छ,’ पाका नेता पौडेल भन्छन्, ‘ऊ नराम्रो नगर्ने र अन्याय नसहने मान्छे थियो ।’

उनी पुरानादेखि नयाँ पुस्ताका कार्यकर्तासम्म उत्तिकै लोकप्रिय थिए । पछिल्लो पुस्ताका सबैले उनलाई मामा भनेर सम्बोधन गर्थे। आममानिसमा जस्तो कमजोरी उनमा पनि थिए । उनी हक्की र इमान्दारसँगै गल्ती गर्नेमाथि जाइलागिहाल्ने रिसाहा पनि थिए । सिकन्दरले गुरु मान्ने कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘उनको प्रतिबद्धता, निरन्तरको लगन र इमानको अगाडि कमजोरीहरू लिलिपुटजस्ता लाग्थे ।’

विभिन्न कालखण्डमा अनेक राजनीतिक घटनासँग जोडिएका सिकन्दर अब भने सम्झनामा मात्र सीमित भएका छन् । हजारौं मानिस सम्मिलित वीपीको शवयात्राको व्यवस्थापन गरेका उनले पनि थ्रुप्रै मान्छे कमाएका थिए तर कोरोनाले उनको अन्त्येष्टिमा थोरै मात्र मलामी जम्मा हुन पाए ।

२०१९ सालमा कास्कीको भदौरेमा जन्मिएका सिकन्दर आइतबार बिहान जण्डिसबाट पराजित भए । भोलि सोमबार बौद्ध अघौं सदनमा उनको अन्त्येष्टि हुँदैछ । सिकन्दरका श्रीमती र २ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment