Comments Add Comment

पर्वतमा पहिरोमा परी ३ वर्षीया बालिकाको मृत्यु

२९ भदौ, पर्वत । फलेवास नगरपालिका-४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । आइतबार राति २ बजेदेखि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् ।

परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्‍याएको हो ।

घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी सुरु गरेका थिए ।

पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।

पर्वत प्रहरीका प्रवक्ता एवंम् निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा-८ चुवा र कुश्मा-१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो । त्यस्तै कुश्मा नगरपालिका-२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment