Comments Add Comment

कर्णालीमा लक्षणसहितका संक्रमित बढे

६५ प्रतिशत युवामा कोरोना संक्रमण

२९ भदौ, सुर्खेत । एक महिनायता कर्णालीमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेको छ । साउन अन्तिम सातासम्म लक्षणसहितका संक्रमितको संख्या कुल संक्रमितको ३ प्रतिशत रहेकामा एक महिनायता १६ प्रतिश्त पुगेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए ।

प्रदेश अस्पतालको आइसोलेसनमा सोमबारसम्म रहेका ५५ संक्रमितमध्ये ११ जना लक्षणसहितका रहेको उनको भनाइ छ । डा. न्यौपानेका अनुसार २१ जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ । जस्मा पाँच वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक रहेका छन् ।

संक्रमतिलाई अहिलेसम्म भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भने नआएको डा. न्यौपानेले बताए । ‘शुरुवाती चरणमा भारतबाट आएकाहरूमा मात्रै लक्षण देखिएको थियो । तर पछिल्लो समय समुदायमै फेला परेका संक्रमितमा लक्षण देखिन थालेको छ’ उनले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आइतबार डिस्चार्ज भएका ११४ जनामध्य १४ जनाम लक्षण लक्षण देखिएको अस्पताल निर्देशक डा. मंगल रावल बताउँछन् ।

‘पछिल्लो समय समुदायस्तरमा फेला परेका संक्रमितमा नै लक्षण देखिन थालेको छ,’ उनले भने, ‘उनीहरुमा घाँटी खसखसाउने, रुघाखोकी, ज्वरो आउनेलगायतका लक्षण देखिएको छ ।’

६५ प्रतिशत युवामा कोरोना संक्रमण

प्रदेशमा हालसम्म फेला परेका संक्रमितमध्ये ६५ प्रतिशत युवा रहेका प्रदेशको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कँडेलका अनुसार हालसम्म कोरोना संक्रमण देखिएका २७ सय ८६ जनामध्ये ६५ प्रतिशत २१ देखि ४० वर्षभित्रका रहेका छन् ।

‘हालसम्म कर्णालीमा देखिएका संक्रमितको उमेरगत तथ्याङ्कअनुसार २१ देखि ४० वर्षसम्मका युवाहरुको संख्या ६५ प्रतिशत छ’ अधिकृत कँडेलले भने ।

यस्तै ११ देखि २० वर्षभित्रका १५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । भने ४१ देखि ५० वर्षभित्रका ९ प्रतिशतमा संक्रमण छ । प्रदेशमा बालबालिका र जेष्ठ नागरिकमा कोरोना संक्रमण कम देखिएको अधिकृत कँडेल बताउँछन् । तथ्याङ्क अनुसार १० वर्षसम्मका ४ प्रतिशत, ५१ देखि ६० वर्षसम्मका ५ प्रतिशत र ६१ वर्ष माथिका २ प्रतिशतमा संक्रमण देखिएको छ ।

अधिकृत कँडेलका अनुसार कुल संक्रमितमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन् ।

प्रदेशमा संक्रमणमुक्त हुने बढे

कर्णालीमा कोभिड–१९ का नयाँ संक्रमित भन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हरेक दिन नयाँ संक्रमित थपिए पनि संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दो रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतबार मात्रै प्रदेशमा थप एक सय १० जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५०५ पुगेको छ ।

अर्थात ८६.२७ प्रतिशत निको भएका छन् । कर्णालीका विभिन्न आइसोलेसनमा अहिले ३ सय ७५ जना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये अहिलेसम्म ९२ जना होम आइसोलेसनमा रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । होटल आइसोलेसनमा सुर्खेतका ४ जना छन् ।

प्रदेशमा १९ भेन्टिलेटर र ५० आईसीयू थपिए

प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशका विभिन्न जिल्लामा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर थप गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा १९ भेन्टिलेटर र ५० आईसीयू थप गरेको जनाएको छ ।

हाल प्रदेशमा भेन्टिलेटरको संख्या २६ र आईसीयूको संख्या ६२ पुगेको स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । उनका अनुसार सबैभन्दा धेरै प्रदेश अस्पताल सर्खुेतमा १० थान भेन्टिलेटर र २५ थान आईसीयू छन् । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ थान भेन्टिलेटर र १० वटा आईसीयू रहेका छन् ।

त्यस्तै दैलेखमा दुई भेन्टिलेटर र पाँच आईसीयू, जाजरकोटमा एक भेन्टिलेटर र दुई आईसीयू, सल्यानमा एक भेन्टिलेटर र दुई आईसीयू, हुम्लामा दुई भेन्टिलेटर र पाँच आईसीयू, मुगुमा एक भेन्टिलेटर र दुई आईसीयू, कालिकोटमा दुई भेन्टिलेटर र पाँच आईसीयू पुगेको छ । रुकुम पश्चिममा एक भेन्टिलेटर र ६ आईसीयू छ ।

‘संक्रमित कसैलाई तत्काल भेन्टिलेटर वा आईसीयू्मा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा थप सहज हुनेछ’ प्रमुख शाहीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment