Comments Add Comment

प्रदेश २ मा दिनहुँजसो बलात्कार

दुई बर्षमा ६५३ घटना, चारजनाको बलात्कारपछि हत्या

२९ भदौ, जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– २ सिनरजोडाकी १३ वर्षकी बालिका २० भदौमा बलात्कृत भइन् । स्थानीय किराना पसले बद्री साहले पसलमै बोलाई बलात्कार गरेको भन्ने उजुरी परेपछि ५५ बर्षीय उनी महोत्तरीको मठियानीमा पक्राउ परे ।

२० भदौमा धनुषाकै जनकपुरधाम उप–महानगरपालिका– २१ की १७ बर्षीया किशोरी आफ्नै घरमा बलात्कृत भइन् । आधा रातमा आएका तीन जनाले उनलाई ढोका खोल्न लगाई बलात्कार गरेका थिए । किशोरीको उजुरीमा बलात्कार आरोप लागेकामध्ये छिमेकका ३० वर्षीय मुनुवा राउत पक्राउ परेका छन् ।

त्यसअघि भदौ पहिलो साता बाख्रा चराउन गएकी धनुषाकै गणेशमान चारनाथ नगरपालिकाकी १५ बर्षीया बालिका बलात्कारको शिकार भइन् । त्यस घटनामा तीन जना पक्राउ परेका छन् ।

धनुषामा भदौमा मात्र बलात्कारका सात घटना भएको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाइँका अनुसार, प्रदेश २ का आठवटै जिल्लामा बलात्कारको घटना बढेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई महिनाको तथ्यांकले प्रदेश २ मा ६५ जना महिला तथा बालिका बलात्कृत भएको देखाउँछ । भदौ २७ गतेसम्म सिरहामा १२, धनुषा र महोत्तरीमा १०–१०, सप्तरीमा ९, सर्लाहीमा ८, रौतहटमा ७, पर्सामा ६ र बारामा ३ वटा बलात्कारको घटना भएका छन् ।

प्रदेश २ मा पछिल्लो २६ महिनामा ६५३ वटा बलात्कारको घटना भएका छन् । तीमध्ये ६५ वटा बलात्कार चालू आवको दुई महिनाको हो । त्यस्तै, ०७६/७७ मा २९२ र ०७५/७६ मा २९६ वटा बलात्कार अपराध भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयसंग छ ।

आव ०७६/७७ मा सबभन्दा बढी ५३ वटा बलात्कार धनुषामा भएको थियो । त्यस्तै, सिरहामा ४८, बारामा ४५, पर्सामा ३९, सप्तरी र सर्लाहीमा ३१–३१, रौतहटमा २९ र महोत्तरीमा १६ जना महिला तथा बालिका बलात्कारको शिकार भए । आव ०७५/७६ मा पनि सबभन्दा बढी ५० वटा बलात्कारका घट्ना धनुषामै भएका थिए

पछिल्लो ६ महिनामा बन्दाबन्दीको अवधीमा बलात्कारको घट्ना झनै वृद्वि भएको छ । यो अवधीमा १५२ वटा बलात्कारको घटना प्रदेशमा भएको छ ।

चार बालिकाको बलात्कारपछि हत्या

गत दुई बर्षको अवधिमा प्रदेश २ मा चारजना बालिका बलात्कारपछि मारिएका छन् ।

भैंसी चराउन गएकी जनकपुरधाम– २१, कुर्थाकी ११ बर्षीय बालिका कञ्चन पञ्जियारको शव गत १९ असारमा दूधमती खोलाको डिलमा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । त्यो घटनामा संलग्नको आरोपमा भारतीय नागरिक दिपु सिंह पक्राउ परेका छन् ।

त्यसअघि १ फागुनमा मिथिला नगरपालिका–४ कि ११ बर्षकै बोल्न नसक्ने बालिकालाई बलात्कार गरेर ज्यूँदै जलाएर हत्या गरिएको थियो । उनलाई चाउचाउ दिएर २ किलोमिटर टाढा उखुबारीमा लगी बलात्कार गरी ज्यूँदै आगो लगाएर हत्या गर्ने निरज जर्घा मगर अहिले पुर्पक्षका लागि कारागारमा छन् ।

त्यसअघि २६ असोज २०७५ मा औरही गाउँपालिका– २ कि १० बर्षीया मनिताकुमारी यादवको पनि बलात्कारपछि हत्या भयो । मेला हेर्न गएकी उनको शव घरबाट एक किलोमिटर टाढा खेतमा फेला परेको थियो । त्यो अपराध गरेका औरही– ५ का ३२ बर्षीय विनोद मुखिया र वडा नम्बर ३ का ३० वर्षीय नथुनी पण्डितलाई जन्मकैद भएको छ ।

बलात्कार गरी हत्या गरिएकी करिब १२ बर्षीया अर्की बालिकाको भने पहिचान नै हुन सकेन । उनको शव ५ मंसिर २०७५ मा सिम्रौनगढ नगरपालिकाको वनमा फेला परेको थियो ।

फितलो कानुुन र समाजकै साथले समस्या

१३ बर्षीया बालिका बलात्कारको आरोप लागेका धनुषाको लक्ष्मिनियाँ गाउँपालिका– २ का बद्री साहलाई कानुनबाट जोगाउन वडाअध्यक्ष नै लागे । तर, रकम लिएर अपराध लुकाउन पीडित परिवार मानेन । न्यायका लागि पीडित परिवार र छिमेकीहरुले प्रदर्शन समेत गर्न पर्‍यो ।

बलात्कारको अपराध हुँदा स्थानीय नेतादेखि समाजका टाठाबाठासम्मले पीडित परिवारलाई प्रलोभनमा पारेर गाउँमै मिलाउने प्रपञ्च गर्छन् । पीडित परिवार कानुनी प्रक्रियामा अगाडि बढ्न चाहेपनि नेता र समाज अपराधी जोगाउनतिर लाग्ने अधिकारकर्मी गुञ्जा राय बताउँछिन् ।

‘लागूऔषध प्रयोग र फितलो कानुन बलात्कारका घट्ना बढ्नुको मुख्य कारण हो’, उनी भन्छिन्, ‘घटनाको प्रमाण नष्ट गर्न बलात्कारीले पीडितको हत्या नै गर्छन् ।’

अर्का अधिकारकर्मी सुनीता साह बलात्कार जस्तो पाशविक अपराधमा पनि राजनीतिकर्मी र समाजका अगुवाहरु नै गाउँमै मिलाउने प्रपञ्चमा लाग्दा यस्तो घट्ना बढेको बताउँछिन् । ‘बलात्कारी पक्राउ परे पनि केही दिन वा महिनामा फुक्काफाल भएर समाजमा फर्कन अवस्थाले पनि अपराध बढ्दै गएको देखिन्छ’, उनी भन्छिन्, ‘कम्तीमा आजीवन कैदको व्यवस्था हुनुपर्छ ।’

९५ प्रतिशत घटनाका अभियुक्त पक्राउ

प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंह कोभिड– १९ नियन्त्रणका लागि भएको बन्दाबन्दीको अवधिमा बढेको बेरोजगारी पनि अपराधसंग जोडिएको बताउँछन् ।

‘अर्को, मोवाइल फोनमा अश्लील सामग्री हेरेपछि बलात्कारको अपराधमा संलग्न भएको पाइएको छ’, उनी भन्छन्, ‘त्यस्तै, मदिरा र लागूऔषध सेवन पनि अपराधको अर्को कारण देखिएको छ ।’

प्रहरीले ९५ प्रतिशत बलात्कारका घट्नाका दोषी समातेको डीआईजी सिंहको दाबी छ । अपराध गरेर भारततिर पसेकाहरुलाई पक्राउ गर्न चाहिँ अलि समय लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment