Comments Add Comment

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

३० भदौ, काठमाडौं । खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् ।

उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फस्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् ।

वैज्ञानिकहरुका अनुसार फस्फिन एक फस्फोरसको र तीन हाइड्रोजनको कण मिलेर बन्दछ । पृथ्वीमा पनि फस्फिनको सम्बन्ध जीवनसँग छ । यो ग्याँस पेन्गुइन जस्ता जीवको पेटमा पाइने सुक्ष्म जीवसँग सम्बन्धित छ या दलदल जस्तै कम अक्सिजन भएको स्थानमा पाइन्छ । यस ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्दछन् । फस्फिन कारखानाबाट पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा कारखाना छैन, पेन्गुइन पनि पक्कै छैन ।

त्यसो हो भने शुक्र ग्रहमा यो ग्याँस किन छ, त्यो पनि ग्रहको सतहबाट ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गरेका छन्, जसमा शुक्र ग्रहमा फस्फिन ग्याँस भएको उल्लेख छ ।

यद्यपि उनीहरुले शुक्र ग्रहमा जीवन मिलेको दाबी गरेका छैनन् । बरु त्यहाँ जीवन हुन सक्ने सम्भावनाबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

शुक्र ग्रहमा जीवनको सम्भावना सूर्यमण्डलको कुनै दोस्रो ग्रहभन्दा कम मानिन्छ । किनभने शुक्र ग्रहमा वायुमण्डलको बाक्लो तह छ, जसमा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ । यस ग्रहमा वायुमण्डलको दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ । त्यसैले होला शुक्र ग्रहलाई बाइबलमा नरक भनिएको छ ।

शुक्र ग्रहको सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ । त्यसैले शुक्र ग्रहको सतहमा कुनै जीव भएको सम्भावना अन्य वैज्ञानिकहरुले देख्दैनन् तर ग्रहको सतहभन्दा ५० किलोमिटर हुन पनि सक्ने उनीहरु बताउँछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment