+
+
Shares

‘बहुगुणी–२’ धानमा बाला लागेन, सरकारबाटै ठगिएको किसानको गुनासो

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ भदौ ३० गते ९:२५

३० भदौ, धनगढी । कैलाली गौरिगंगा नगरपालिका-९ का किसान घनश्याम पौडेलले यसअघि कृषि प्राविधिककै सल्लाहमा गरिमा जातको धानको बिउ लगाएका थिए । त्यो वर्ष गरिमा जातको धानको बिउ लगाएका पौडेलसहित हजारौँ किसानहरू मर्कामा परे ।

यस वर्ष भने उनले गरिमाको विकल्पमा ‘बहुगुणी–२’ धान खेती गरे, कृषि प्राविधिककै सल्लाहमा । तर पौडेल अहिलेदेखि नै चिन्तामा छन् । वरिपरिका खेतमा धानका बाला झुलिसक्दा पनि उनको खेतमा अझै बाला लागेको छैन ।

गौरिगंगा नगरपालिकाको कृषि शाखाले वितरण गरेको बहुगुणी–२ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा पौडेलले लिएर आएका थिए । उनले ८ कठ्ठामा लगाएको धानमा अझै बाला लागेको छैन ।

‘कृषि शाखाले नै बाँडेको धान लगाएका हौँ । यस पटक त धान फल्दैन जस्तो छ,’ उनले भने, ‘अझैसम्म बाला नलाग्दा हामी चिन्तित छौँ ।’

पौडेलले लगाएको बहुगुणीमा बहुरंग देखिएको छ । कुनै भर्खर बाला लाग्दै छ । कतै बाला लागेको छैन । कतै पाक्दै छ । ‘हामीले एकैदिन एकैठाउँबाट ल्याएर लगाएका हौँ कसरी मिश्रित भयो ?’ उनले भने, ‘एउटै बिउमा पनि पनि फरक–फरक विशेषता देखियो ।’

पौडेललाई भन्दा धेरै पिर गौरिगंगा नगरपालिका ९ शंकरपुरका भान बहादुर ठगुन्नालाई छ । उनले नजिकैका स्थानीय चक्र बहादुर ताडीको डेढ बिघा जग्गा ठेक्कामा लिएर बहुगुणी–२ जातको धान लगाएका थिए । अहिलेसम्म धानमा बाला लागेको छैन । ‘कृषि शाखाले दिएको बिउ राम्रो नहोला कि भनेर शंका नै गरिएन,’ उनले भने, ‘तर हामी सरकारबाटै ठगियौँ ।’

गौरिगंगामा मात्रै होइन, घोडाघोडी नगरपालिकामा पनि सयौँ किसानहरूले अहिलेसम्म धानमा बाला नलागेको गुनासो गरेका छन् ।

थोरै जग्गामा अनुदानको धानको बिउ लगाएकी घोडाघोडी नगरपालिका–१ की उजेला खड्कालाई यस वर्ष के खाने भन्ने पीर परेको छ । खड्काले भएको ४ कठ्ठा क्षेत्रफलमा पूरै बहुगुणी–२ धान लगाएकी छिन् । तर, उनले पनि धानमा बाला लाग्ने छाँट देखिकि छैनन् । ‘यस वर्ष के खाने भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘अझै बाला लागेन भने त हामी भोकै पर्छौं होला ।’

घोडाघोडी–१ की ईश्वरी ढकालको पीडा पनि उस्तै छ । ‘अरू धानसँगै पाक्ने भनेर धान ल्याएका हौँ तर अरू पाक्न लाग्दासमेत अनुदानमा पाएको धानमा बाला लागेन,’ ढकालले भनिन् । उनले १२ असारमा १५ कठ्ठामा अनुदानको धान रोपेकी हुन् । धान लगाएको ४५ दिनसम्म पनि बाला नलागेको उनले बताइन् ।

‘वरपरका सबै धानहरू काट्ने हुन थालेका छन् । हाम्रोमा भने बाला नै लागेको छैन,’ उनले भनिन्, ‘हामीलाई त कृषि शाखाले नै ठग्यो ।’

कृषि शाखा कार्यालय के भन्छ ?

घोडाघोडीस्थित कृषि शाखाले भने अरू धानभन्दा केही समय ढिलो फल्ने भएको हुँदा बाला नलागेको जनाएको छ ।

‘केही किसानले हामीलाई पनि यो गुनासो गर्नुभयो,’ घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामीले भने, ‘हामी पनि हेर्ने गरेका थियौँ । ढिलो पसाउँछ । तर, पसाउँछ । तपाईं ढुक्क हुनुहोला ।’

बहुगुणी–२ जातको धान कैलालीको माटो सुहाउँदो र हावापानी सुहाउँदो भएको धामीको दाबी छ ।

उसो त धनगढी उपमहानगरपालिका भित्रै पनि बहुगुणी–२ जातको धान लगाएका किसानहरूले बाला नलागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय तहका कृषि शाखाले मात्रै होइन कृषि ज्ञान केन्द्रले पनि किसानलाई बहुगुणी–२ जातको धानको बिउ दिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोकुल प्रसाद बोहराले धानमा बाला नलागेको बिषयमा छलफल भइरहेको बताए । ‘हामीसँग औपचारिक रुपमा अझै गुनासो पुगेको छैन । तर, बाला लागेन भन्ने सुनेका छौँ,’ उनले भने, ‘हामी पनि यो विषयमा बुझ्दै छौँ ।’

उनले अरू धानभन्दा ढिला पाक्ने भएको हुँदा पनि बाला नलागेको हुन सक्ने बताए । सूचना अधिकारी बोहराले बहुगुणी १४० देखि १५० दिन भित्रमा पाक्ने दाबी गरे ।

तर, अरू धानभन्दा ढिलो पाक्दा किसानलाई समस्या हुने उनको भनाइ छ । ‘अरू सबै धान काटेर त्यो बाँकी भएपछि किरा र फट्याङ्ग्राले उत्पादन हुन दिँदैन,’ उनी भन्छन्, ‘जसरी पनि किसानलाई समस्यै पर्छ ।’

किसानले कैलाली र कञ्चनपुरमा प्राय ११५ देखि १२० दिनमा फल्ने धान लगाइरहेका छन् । कैलाली–कञ्चनपुरमै उन्नत जातको भनेर तयार गरिएको बहुगुणी–२ मा अझैसम्म बाला नलाग्दा यस पटक उत्पादन घट्ने आशंका गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?