Comments Add Comment

युएईमा आईपीएलको पर्खाइ

३० भदौ, युएई । चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) यसपटक युएईमा सञ्चालन हुँदैछ  र आगामी शनिबार आवुधाबीस्थित शेख जायद रङ्गशालामा उद्घाटन खेल हुँदैछ ।

उद्घाटन खेलमा गत सिजनको विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किङ्ग्स भिड्दैछन् ।  रोहित शर्माको टोली मुम्बईले ४ पटक आईपीएलको उपाधि जितिसकेको छ भने महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले तीन पटक जितेको छ ।

कस्ता छन् रङ्गशाला ?

कोरोना भाइरसको महामारीका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यसपटकको आईपीएल मुलुकबाहिर युएईमा सञ्चालन गर्ने निर्णय गरेको थियो । युएईका तीनवटा रङ्गशालामा आईपीएलका खेल  हुनेछन्  । शेख जायद रङ्गशाला आवुधाबी, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सारजाह क्रिकेट रङ्गशालामा खेल सञ्चालन हुनेछन् ।

२० हजार दर्शक क्षमताको शेख जायद रङ्गशाला २३ मिलियन डलरमा निर्माण भएको हो । यो रङ्गशाला सन् २००४ मा उद्घाटन गरिएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई युएईका बासिन्दाले दुबई स्पोर्टस् सिटी क्रिकेट रंगशाला पनि भन्छन्‍  । २५ हजारदेखि ३० हजारसम्म दर्शक अटाउन सक्ने यो रङ्गशाला सन् २००९  बाट सञ्चालनमा आएको हो । सारजाह क्रिकेट रङ्गशाला सन् १९८२ मा स्थापना भएको हो । १७ हजार दर्शक क्षमताको यस रंगशालामा लगभग अढाई सय एकदिवसीय खेल सञ्चालन भइसकेका छन्  ।

आठ टोलीमा कुन बलियो ?

आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, किङ्ग्स–११ पञ्जाब, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद गरी ८ वटा टोली सहभागी छ । १२ सिजनमा सबैभन्दा धेरै मुम्बई इण्डियन्सले ४, चेन्नईले ३ र कोलकाताले २ पटक उपाधि उचालेका छन् ।

धेरै उपाधि जितेका हिसाबले मुम्बई र चेन्नईका समर्थक पनि धेरै छन् । तर, यसपटक पारिवारिक कारण देखाउँदै चेन्नईका दुई भरपर्दा खेलाडी सुरेश रैना र हरभजन  सिंहले आईपीएल खेल्ने छैनन् । मुम्बई इन्डियन्सका भरपर्दा  बलर लासिथ मालिंगाले पनि यस वर्षको आईपीएल खेल्ने  छैनन् ।

नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि आईपीएल खेल्न सोमबार वेस्ट इन्डिजबाट युएई आएका छन् । उनी सन् २०१८ देखि दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment