Comments Add Comment

आन्तरिक हवाई उडान र होटल पनि असोज १ देखि खुल्ने

३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

हवाई उडान खोल्नेबारे मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामक निकाय र सेवा प्रदायक कम्पनीबीच छलफल भएको थियो । छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले ५० प्रतिशत प्रावधानबारे कुनै पनि जानकारी सेवा प्रदायकलाई दिएनन् ।

सेवा प्रदायकहरुले शुरु देखि नै ५० प्रतिशत यात्रु राखेर जहाज उडाउन सम्भव नभएको बताउँदै आएको बुद्ध एयरका निर्देशक तथा वायुसेवा संचालक संघका सदस्य रुपेश श्रेष्ठले बताए ।

‘व्यवहारिक निर्णय हुनुपर्‍यो,’ उनी भन्छन् । उनका अनुसार ५० प्रतिशत मात्र यात्रु राख्ने शर्तमा भाडा दोब्बर हुन्छ, दोब्बर भाडामा नेपालमा हवाई यात्रु आउने सम्भावना छैन ।

एयरलाइन्सहरु स्वास्थ्य सुरक्षाका प्रावधान लागू गर्ने शर्तमा तयार छन् । तर, सबैभन्दा लामो दूरी काठमाडौंबाट धनगढी रहेको र यो यात्रा अधिकतम १ घण्टाको मात्र हुने हुनाले एयरलाइन्सबाट कोभिड संक्रमण फैलन सम्भावना कम हुने तर्क समेत एयरलाइन्स कम्पनी गर्छन् ।

वायुसेवा सञ्चालकहरुका अनुसार हवाईजहाज उडान सूचारु गर्नु अगाडि कम्तिमा ७ दिनको समय अग्रिम जानकारी गराउनुपर्छ । सोही अनुसार उनीहरुले आफ्ना यात्रुलाई उडानबारे जानकारी गराउन सक्छन् । अर्कोतर्फ अझै पनि सरकारले गन्तब्य तय गरिसकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको उडान तालिका स्वीकृत गर्नुपर्छ । त्यसका लागि विमानस्थलमा स्लटको व्यवस्थापन गर्नुपर्छ । त्यो काम गर्न प्राधिकरणसँग समेत समय छैन ।

यस अवस्थामा यो निर्णय केवल घोषणामा मात्र सिमित हुने देखिएको नियामक निकाय र सेवा प्रदायक दुबैको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment