Comments Add Comment

कैलालीमा श्राद्धको खाना खाएका एकजनाको मृत्यु, १८ बिरामी

३१ भदौ, कैलाली । कैलालीमा श्राद्धको खाना खाएर बिरामी परेकामध्ये एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरामा भदौ २७ गते श्राद्धको खाना खाएपछि १९ जना बिरामी परेका थिए । बिरामी परेकामध्ये स्थानीय सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनका अनुसार बिरामी परेका सबै जनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उनीहरुलाई धनगढीका बिभिन्न अस्पतालमा भर्ना गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए । उनले श्राद्धको खाना खाएर १९ जना बिरामी भएको र १ जनाको मृत्यु भएको जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्माले फुड पोइजनिङका कारण बिरामीहरुमा उच्च ज्वरो लगायतका लक्षण देखिएको हुन सक्ने बताए । ‘श्राद्धको खाना खाए लगत्तै उनीहरुमा १०३ डिग्री फरेनहाइटसम्म ज्वरो देखिएका छन्,’ उनले भने, ‘के कारणले बिरामी परे भन्नेबारे उनीहरुकाे स्वास्थ्य परीक्षणपछि मात्रै भन्न सकिन्छ ।’

बिरामी परेकामध्ये तीन जनाको अत्तरियास्थित पद्मा अस्पताल, तीन जनाको धनगढी नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment