Comments Add Comment

६ महिनापछि ब्युँझिँदैछ नयाँ बसपार्क

अनलाइनबाटै टिकट काट्न सकिने

३१ भदौ, काठमाडौं । करिब ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले १ असोजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी सुरु गरिएको छ ।

लामो दुरीको यातायात खुल्ने समाचार आएपछि धेरै यात्रुहरु बुधबार बिहानै बसपार्क पुगेका थिए । तर एक दिन अगाडि मात्रै टिकट काट्ने भनिएपछि उनीहरु फर्किए ।

‘म अस्तिनै दैलेख जानुपर्ने, काठमाडौंमै अड्केर बसेको छु,’ धादिङका मोहनबिक्रम मगरले भने, ‘भोलिदेखि गाडी खुल्छ भन्ने समाचार आएपछि टिकट काट्न आएको हुँ ।’

उनी एक ठेकेदार कम्पनीमा स्काभेटरको अपरेटरका रुपमा कार्यरत थिए  । उनी कार्यरत कम्पनीले दैलेखको एक सडक निर्माण गर्ने ठेक्का पाएको छ । काम चलिरहेका बेला पूर्ण रुपमा लकडाउन भएपछि उनी दैलेखमै थुनिएका थिए ।

काम रोकिएपछि उनलाई घर जान मन लाग्यो । महंगो भाडा तिरेर उनी धादिङस्थित घरमा आइपुगे । केही महिना बसेपछि दैलेखमा काम शुरु भयो तर उनले जान गाडी पाएनन् । उनी गाडी पाइन्छ कि भनेर धादिङबाट काठमाडौं उक्लिए । दुई सातादेखि कहिले गाडी खुल्ला र दैलेख जाउँला भनेर पर्खेर बसिरहेका थिए । ‘आज त टिकट पाइन्छ भनेर आएको, भोलि मात्रै हुने रहेछ,’ उनले भने ।

सुर्खेत घर भइ काठमाडौं बस्दै आएका दुई युवा पनि टिकटको खोजीमा बसपार्क पुगेका थिए । उनीहरु पनि काठमाडौंमा कामको खोजीमा केही महिनाअघि आएका थिए । केही समय कपडा पसलमा काम गरेका उनीहरुको लकडाउनसँगै रोजगारी गुम्यो । त्यसपछि घर जान चाहे पनि गाडि नखुलेकाले पाएनन् ।

अरु पनि टिकट काट्न भन्दै बसपार्क पुगेका थिए । टिकट बुझ्न आउनेहरुको नाम, जानुपर्ने गन्तव्य र सम्पर्क नम्बर टिपिएको ल्होत्सेका व्यवस्थापक मल्लले बताए । ‘यदि भोलि नै गाडी जाने भयो भने हामी फोन गरेर जानकारी गराउँछौं, नत्र भोलि सम्पर्कमा आउनुहुन्छ,’ मल्लले भने ।

व्यवस्थापकीय तयारी तीव्र

बसपार्क व्यवस्थापनको जिम्मा पाएको ल्होत्से बहुद्देश्यीय प्रालिले गाडीहरुको विवरण संकलनदेखि टिकट काट्नेसम्मको तयारीलाई तीब्रता दिएको छ ।

लामो दूरीका यातायात खोल्ने खबर सञ्चारमाध्यममा सार्वजनिक भएपछि नै ल्होत्से सक्रिय भएको छ । असोज १ गतेदेखि नै खुल्ने भनिएपछि झन् तीव्र रुपमा काम भइरहेको ल्होत्सेका एचआर म्यानेजर पंकज मल्लले बताए ।

अहिले कुन–कुन गाडी कहाँ–कहाँ पठाउने भनेर विवरण संकलन गर्ने काम भइरहेको छ । हालसम्म १९ वटा कम्पनीले उपत्यकाका विभिन्न ठाउँमा जानसक्ने जानकारी गराइसकेका छन् । ‘सकेसम्म सरकारको निर्णयअनुसार १ गतेदेखि नै यातायात सञ्चालन हुन्छ,’ उनले भने, ‘नभए २ गते भने लामो दूरीका गाडीहरु जसरी पनि काठमाडौंबाट छुट्छन् ।’

अहिले कुन गाडीहरु कहाँकहाँ जान्छन्, सव–स्टेशनहरु (रोकिने ठाउँ) कहाँ–कहाँ हुन्छन् भनेर टिपोट भइरहेको छ । कहाँदेखि कहाँसम्मको भाडा लिने भन्ने पनि टिपोट भइरहेको मल्लले बताए ।

सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । कुनै पनि गाडीले सरकारले तोकेको भन्दा बढी भाडा नलिने मल्ल बताउँछन् । साथै गाडीभित्र कोरोना भाइरसबाट जोगिनका लागि उच्च सुरक्षा सतर्कता अपाइने उनको भनाइ छ । ‘आज हामी गाडीहरु स्यानिटाइज गर्छौ, छुट्ने बेलामा पनि सुरक्षा सतर्कताका विषयमा विशेष ध्यान दिनेछौं’ उनले भने ।

तर हामी पुग्दा टिकट काउन्टरमा भौतिक दुरी कायम गर्न मार्किङसमेत गरिएको थिएन ।

अनलाइनबाटै टिकट

विगतमा विभिन्न व्यक्तिहरुबाट यात्रु ठगिने, महंगो शुल्क तिर्नुपर्ने लगायतका समस्या आउन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । केही कम्पनीहरुको अहिले पनि ई–सेवा तथा अनलाइन गेटवेबाट टिकट काट्न सकिन्छ ।

अनलाइनबाटै टिकट काट्ने व्यवस्थाका लागि अहिले मोवाइल एप्लिकेसन बनाउने काम भइरहेको मल्ल बताउँछन् । एप्लिकेसन बनेपछि जो कोहीले तोकिएको भाडामा घरबाटै टिकट बुकिङ गर्न सक्नेछन् । ‘एप बनिसकेपछि कागजको टिकट लिनु पर्दैन’ मल्लले भने, ‘अनलाइनबाटै टिकट काट्ने भएपछि ठगिने सम्भावना पनि हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment