Comments Add Comment

पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा २ जना ट्याङ्कर चालक पक्राउ

३१ भदौ, वीरगञ्ज । पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा दुई जना ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्का पक्राउ परेका हुन् ।

विश्वकर्मा ना.७ ख.३९२३ र खड्का ना.७ ख. ४०९३ नम्बरको ट्याङ्कर चालक हुन् । दुबै ट्याङकर नेपाल आयल निगम अन्तर्गत अमलेखगञ्ज डिपोमा निगमको करारनामामा छ । ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी ल्याउने गरिएको छ । उनीहरुमाथि पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरेको आरोप छ । आयल निगमको २ नं. प्रादेशिक कार्यालय अमलेखगञ्जमा ट्याङकर खाली गर्नुअघि पेट्रोलको गुणस्तर चेकजाँच गर्दा दुबै ट्याङ्करमा मिसावट रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनीहरु विरुद्ध कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति दिएको र उनीहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment