Comments Add Comment

आर्थिक मन्दीमा न्युजिल्याण्ड

१ असोज, काठमाडौं । सन् २०२० को दोस्रो त्रैमासमा न्युजिल्याण्डको अर्थतन्त्रमा १२ दशमलव २ प्रतिशतको गिरावट आएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न लगाइएको कडा लकडाउनको कारण मुलुकको अर्थतन्त्र सो अवधिमा प्रभावित बनेको हो ।

विश्व वित्तीय संकटपछि न्युजिल्याण्डमा देखिएको यो पहिलो आर्थिक मन्दी हो । लगातार दुई त्रैमासमा अर्थतन्त्र खुम्चियो भने त्यसलाई आर्थिक मन्दी भनिन्छ । यसअघि सन् २०२० को पहिलो त्रैमासमा पनि न्युजिल्याण्डको अर्थतन्त्रमा एक दशमलव ६ प्रतिशतको गिरावट देखिएको थियो । न्युजिल्याण्डले अहिले सामना गरेको आर्थिक मन्दी सन् १९८७ मा डेटा रेकर्ड राख्न थालेयताकै सबैभन्दा ठूलो हो ।

यद्यपि सरकारले भने अबको केही समयमा नै महामारीको असर कम हुँदै अर्थतन्त्रमा सुधार आउन सक्ने बताएको छ । न्युजिल्याण्ड कोरोना भाइरसलाई रोक्न सफल भएको मुलुक हो । यो मुलुकमा अहिलेसम्म केवल २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

आगामी महिना न्युजिल्याण्डमा निर्वाचन हुन गइरहेको समयमा न्युजिल्याण्डको अर्थतन्त्र समस्यामा परेको हो । न्युजिल्याण्डमा गत अगष्टमा तय गरिएको निर्वाचन कोरोना भाइरसको संक्रमण बढेसँगै केही समयका लागि स्थगित गर्ने निर्णय गरिएको थियो । न्युजिल्याण्डको तथ्यांक कार्यालयका प्रवक्ता पाउल पास्कोइले कोरोना भाइरसको कारण अर्थतन्त्रको केही क्षेत्रमा ठूलो असर परेको बताए ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्र्डा अर्डनले भने मुलुकले कोरोना भाइरसविरुद्धको लडाइँमा पाएको सफलताले आर्थिक सुधारको लागि सहयोग गर्ने बताउँदै आएकी छिन् । न्युजिल्याण्डका अर्थमन्त्री ग्रान्ट रोबर्टसनले न्युजिल्याण्डको अर्थतन्त्रमा यसअघि अनुमान गरिएको जस्तो ठूलो गिरावट भने नआएको बताए । जानकारहरुले सन् २०२० को तेस्रो त्रैमासमा न्युजिल्याण्डको अर्थतन्त्रमा सुधार आउन सक्ने बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment