Comments Add Comment

प्रदेश २ मा सोहजन खेती अभियान सुरु

१ असोज, जनकपुरधाम । स्वास्थ्य, पोषण, सौन्दर्य, वातावरण र समृद्विका लागि उपयोगी हुने भन्दै प्रदेश २ मा सोहजनको खेती अभियान सुरु गरिने भएको छ ।

भोर नामक संस्थाले सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट यो खेतीको प्रारम्भ गर्न लागेको हो । चन्द्रनगर गाउँपालिकाको ३० बिघा जग्गामा यो खेती निकट भविष्यमै सुरु गर्न लागिएको भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

भर्चुअल पत्रकार सम्मेलन गर्दै महतोले सोहजन खेतीका लागि त्यहाँका किसान र गाउँपालिकाका जनप्रतिनिधिबीच छलफल भइरहेको बताए ।

प्रदेशका अन्य ठाउँमा यो खेती गर्नुअघि राष्ट्रियस्तरमा यसको फाइदाबारे जनजागरण अभियान संचालन गरिने उनले बताए । छलफल पश्चात तीनै तहका सरकारलाई भोर संस्थाले सोहजन खेतीबारे प्राविधिक सहयोग गर्ने उनले बताए ।

यो खेतीलाई व्यापकता दिन पैसा भएको निजी कम्पनीसित सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बजारीकरणका लागि समेत सहकार्य गर्ने महतोको भनाइ छ ।

‘सोहजनले पिपलभन्दा धेरै अक्सिजन दिन्छ’

पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीविद् समेत रहेका महतोले सोहजनले पिपलभन्दा पनि बढी अक्सिजन फाल्ने गरेको बताए । उनले भने, ‘९० प्रतिशत कार्बनडआइअक्साइड लिएर त्यत्तिकै मात्रामा अक्सिजन फाल्ने बिरुवा हुन सोहजन ।’

अमला र अण्डालगायतका खाद्यवस्तुभन्दा सोहजनमा धेरै प्रोटिन रहेको उनको दाबी छ । यसबाहेक कलेजोलाई शुद्ध बनाउने, क्यान्सर रोकथाम गर्ने, स्मरणशक्ति बढाउने, पाचन प्रणाली मजबुत बनाउने, मधुमेह नियन्त्रण गर्ने, रोग प्रतिरोधक क्षमता बढाउने गुण सोहजनमा रहेको महतोले बताए ।

उनका अनुसार साबुन, तेल, क्रिमसहितका सौन्दर्य बढाउने उत्पादनसमेत यसबाट गर्न सकिन्छ ।

विश्वभर अहिले बार्षिक २६ मिलियन अमेरिकी डलरको सोहजनको व्यापार भइरहेको र दिनप्रतिदिन व्यापार बढ्दै गएको उनले बताए ।

तरकारीको रुपमा मात्रै प्रयोग

नेपालको तराई क्षेत्रमा फल्दै आएको सोहजनलाई अहिलेसम्म तरकारीको रुपमा मात्रै प्रयोग गरिँदै आएको छ । मुनगा, मोरिंगा, शितल चिनी, ओलिफेरा नामबाट समेत चिनिने यो फल तरकारीका लागि मात्र नभइ अन्य धेरै क्षेत्रमा उपयोग गर्न सकिने उनले बताए ।

विश्व बजारले सोहजनको फलबाहेक, पात, बिउ, जरासमेतको उपयोग गर्दै औषधि, सौन्दर्यका सामान बनाइरहेको बताउँदै महतोले भने, ‘जहाँ कुनै बाली लाग्दैन, त्यस्तो ठाउँमा पनि यसको बिरुवा उमि्रन्छ र फल दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment