+
+
Shares

प्रदेशसभा सार्ने च्याप्टर क्लोज ! विराटनगरमै भवन शिलान्यास

हरि अधिकारी हरि अधिकारी
२०७७ असोज १ गते १६:५८

१ असोज, विराटनगर । प्रदेश १ को प्रदेशसभाको नयाँ भवनको विराटनगरमा बिहीबार शिलान्यास भएको छ । जिल्ला समन्वय समितिको भवनमा सञ्चालन भइरहेको प्रदेश सभाले जिससकै खाली जग्गामा नयाँ भवन शिलान्यास गरेको हो ।

प्रदेशसभा भवन विराटनगरमा बनाउने कि इटहरीमा भन्ने विवाद थियो ।

प्रदेश १ को प्रदेशसभाबाट वृहत विराट क्षेत्रलाई राजधानी घोषणा गरिएको थियो । विराटनगर, विराटचोक, इटहरी, इनरुवासहितका क्षेत्रलाई वृहत विराट क्षेत्र भनिएको थियो ।

प्रदेश सभाको भवन यसअघि निर्माण गर्ने तयारी गरिएपनि ४० जना सांसदले विराटनगर बाहिर हुनुपर्ने बताएपछि निर्माण प्रक्रिया अघि बढेको थिएन । तर कार्यव्यवस्था परामर्श समितिको बैठकले विराटनगरमै बनाउने निर्णय गरेसँगै शिलान्यास गरिएको हो ।

प्रदेशसभाको भवन निर्माणका लागि २ करोड ५१ लाख ८१ हजार रुपैयाँमा ठेक्का लागेको छ । सो भवनको जग कंक्रिट माथिको संरचना भने फेब्रिकेटको हुनेछ ।

बिहीबार प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले भवनको शिलान्यास गर्दै प्रदेश सभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अन्त्य भएको बताए । प्रदेश सरकारले आफ्नो लगानीमा पहिलो पटक भौतिक संरचना निर्माण थालनी गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

५० विघा दिन्छु भन्नेले ५० पाइला पनि दिएनन्

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले विस्तारै आफ्नौ भौतिक संरचना निर्माण गर्दै लैजाने बताए । राजधानी विराटनगरबाट सार्न नहुने भन्दै सरोकारवालाले आवाज उठाए पनि कुनै सहयोग नगरेको उनले बताए ।

‘हामी विराटनगरमा छौं, राजधानी पनि तोकिएको छ । तर विराटनगरका सरोकारवालाको अपेक्षित सहयोग पाएनौं’ उनले भने ‘यो गम्भीर समीक्षाको विषय हो ।’

मन्त्री आङ्बोले विराटनगर महानगरपालिकाले सहयोग नगरेको आशय जनाएका हुन् । ‘सपथग्रहण पछि लगभग मन्त्रीहरु झण्डै १५ दिन होटलमा बस्यौं’ उनले भने ‘त्यती बेला अनभूति भयो । विराटनगरमा हाम्रो निम्ति आवासको व्यवस्था थिएन होला, तर सरोकारवालाहरुले हाम्रो ठाउँमा आएर बसिदिनुहोस भनेर आग्रह गरेनन् ।’

उनले कार्यालय र गाडी प्रयोगमा पनि प्रदेश सरकारलाई असहयोग भएको उल्लेख गरे । ‘कार्यालय र गाडीको अभाव भयो । त्यतिबेला लगभग सबैले ताला लगाएर राख्ने अवस्था बन्यो’ उनले भने ‘हामीले अपेक्षित सहयोग प्राप्त गर्न सकेनौं, यद्यपी विराटनगरप्रति हाम्रो कुनै पूर्वाग्रह रहेन । विराटनगर नै राजधानी हुनुपर्छ भनेर हामी लागेका थियौं राजधानी पनि भयो ।’

मन्त्री आङ्बोले ५० विघा दिन्छु भन्ने मान्छे निस्किए पनि सरकारलाई प्राप्त नभएको बताए । विराटनगरका मेयर भीम पराजुलीले राजधानीका लागि संरचना बनाउन ५० विघा जग्गा दिने भन्दै प्रदेश सभामुख प्रदीप भण्डारी र मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका थिए ।

तर भवन शिलान्यासका क्रममा मन्त्री आङ्बोले भने ‘धेरै चर्चा चल्यो, कहि ५० विघा जग्गा दिने पनि निस्किए, तर प्रदेश सरकारको नाममा ५० पाइला जग्गा पनि प्राप्त भएन ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?