Comments Add Comment

जनकपुरमा चल्ने रेलले सञ्चालन खर्च उठाउला ?

४ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्यो र शनिबार भारतकै जयनगर फर्कियो । नियमित सेवा दिने गरी महंगो मूल्यमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्नेचाहिँ अझै निश्चित छैन ।

नचलुञ्जेल रेललाई सुरक्षित राख्न इनरुवामा पार्किङ गरिने भएको छ । सशस्त्र प्रहरी बलले रेलको सुरक्षा गर्ने नेपाल रेल्वे कम्पनीले बताएको छ ।

जनकपुर-जनयनगर रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर शुक्रबार प्रदर्शन र परीक्षणका लागि नेपाल ल्याएको थियो । यो रेल केही महिनादेखि लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ ।

पाँचवटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार थिए । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै रेल किन्न ढिलाइ भयो । २०७५को वर्षामा तराई क्षेत्रमा आएको बढीले लिकमा क्षति पुगेको भन्दै योजना धकेलिएको थियो ।

सञ्चालन खर्च उठ्ला ?

विज्ञहरु यो रेलमार्ग र रेल गाडीलाई अहिले विश्वभर चलिरहेको आधुनिक प्रविधिसंगत नभएको बताउँछन् । पूर्वाधारविद सूर्यराज आचार्य जगरनगर-जनकपुर-कुर्था रेल चलाएरै कम्पनीको सञ्चालन खर्च पनि उठ्ने कुनै ग्यारेन्टी नभएको बताउँछन् ।

भारतमा अहिले ‘डिजेल इलेक्ट्रिक मल्टिपल युनिट’ प्रविधिमा चलिहरेका यस्ता रेलहरु अधिकांश घाटामा छन् । यात्रुबाट सञ्चालन खर्च उठाउन नसकेपछि ढुवानीलाई मँहगो बनाएर घाटा पूर्ति गरिँदैछ ।

जनकपुरसम्म आउने रेल कार्गो रेल पनि हैन । र, जनकपुरमा कार्गो रेलमार्फत समान ल्याउने-लैजाने औद्योगिक तथा प्रशासनिक पूर्वाधार पनि छैनन् ।

जनकपुरमा अब चल्ने रेल करिब ५० वर्ष पहिलाको प्रविधि हो । त्यसलाई सुधारेर आधुनिक बनाउने विकल्प हुँदा हुँदै पुरानै प्रविधि समात्दा त्यसले पर्याप्त लाभ दिन नसक्ने विज्ञहरुको मत छ ।

विज्ञ आचार्यले शुक्रबार टि्वटरमा लेखेका थिए, ‘ रेल आयो, राम्रो कुरा हो, तर यो रेलले नै प्रधानमन्त्रीको ‘रेल सपना’ तर्फको उल्लेख्य प्रगति भन्नु काठमाडौंबाट पोखरा जानुपर्ने यात्रु धुलिखेल पुगेर ‘यात्रामा अघि बढेँ’ भनेर सन्तोष लिनुजस्तै हो ।’

विज्ञहरु सरकारले रेल ल्याएर राम्रो गरेपनि सही प्रविधिको छनोट गर्न नसकेको बताउँछन् । नेपालमा विद्युत खेर जाने अवस्था आएका बेला राष्ट्रिय प्रसारणको विजुली प्रयोग गर्न नसकिने रेलमार्ग बनाउनु गल्ती भएको उनीहरुको ठहर छ ।

रेल विभागकै एक अधिकारी यसमा सहमत छन् । ‘हामीले माग्न पनि जानेनौं, भारतले जुन प्रविधि घाटामा चलाउँदैछ, त्यही स्वीकार्न हुँदैनथ्यो, हामी यही रेलमार्गबाटै स्टान्डर्ड गेजमा विद्युतबाटै चचलाउन सकिने प्रविधिमा जान यही रेलबाट प्रयास गर्नपथ्र्याे,’ ती अधिकारी भन्छन् ।

तर, भारत आफैं स्टान्डर्ड गेजमा नगएको र उसले पनि यस्तै प्रविधिमा रेल चलाइरहेकाले नयाँ प्रविधि माग्न अप्ठेरो भएको विभागका पूर्वअधिकारीहरु बताउँछन् ।

विभागका पूर्वमहानिर्देशक अनन्त आचार्य विगतको जस्तो सस्तो भाडादर राखेर यो रेलले सञ्चालन खर्च उठाउन नसक्ने बताउँछन् । विगतमा प्रतिकिलोमिटर एक रुपैयाँ भाडा लिने गरिएको भन्दै उनले अब त्यसलाई कम्तिमा ३ रुपैयाँ बनाए मात्रै कम्पनी नाफामा लैजान सकिने बताए ।

पूर्वाधारविद सूर्यराज आचार्य जनकपुर-जयनगर रेल पुनः सञ्चालनमा आउनुलाई सकारात्मक नै मान्छन् । तर, यसलाई प्रतिस्थापनको हिसावले मात्रै प्रयोगमा ल्याउन नहुने उनको तर्क छ ।

‘यो रेल विहारको पटनासँग जोडियो र त्यहाँबाट भारतीय पर्यटक लिएर बर्दिबासम्म यात्रु लिएर आउन सक्ने भयो भने यसले सिन्धुली क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन सक्छ,’ उनी भन्छन्,’तर, यसलाई विगतकै शैली र सोचबाट चलाइयो भने बर्वाद नै हुन्छ ।’

विहारका धनाढ्यलाई गर्मी मौसममा सहजै सिन्धिुलीसम्म ल्याउने र त्यस क्षेत्रमा रिसोर्ट खोलेर आनन्द दिलाउने गरी रेललाई पर्यटनसँग जोड्न सकियो भने मात्रै यो फलदायी हुने उनको मत छ । उनले जनकपुरको धार्मिक पर्यटनमा मात्रै निर्भर हुँदा रेल चलाएपछि कम्पनीलाई समस्या पर्न सक्ने उनको आकलन छन् ।

उनले यो रेलले अनुभव बढाउने भएपनि पार्टपूर्जा तथा मर्मत लगायतका प्राविधिक पक्षमा नेपालले भारतमै निर्भर हुनुपर्ने अवस्था रहेको बताए । त्यसले गर्दा अनेकन चुनौती रहेको आचार्यको भनाइ छ ।

विज्ञहरुले यो रेलको खरिद मूल्यमा समेत प्रश्न उठाएका छन्, भारतमा बनेको यस्ता प्रविधिका १० डिब्बाका रेललाई २०.८ करोड रुपैयाँ मात्रै परेको तथ्यहरु सार्वजनिक भएको भन्दै विज्ञ आचार्यले ५ डिब्बाको मात्रै रेललाई कसरी ४२ करोड पर्‍यो होला भनेर प्रश्न उठाएका छन् ।

‘यही प्रविधिको रेल विश्वस्तरीय कम्पनीबाट लिने हो भने पनि यति धेरै मूल्य पर्दैन,’ आचार्य भन्छन्,’जीटूजी गरिएको भनिएको छ, सायद भारतीय कम्पनीले बढी नाफा गरेर बोनस खानेगरी धेरै मूल्यको कोट गरेर डुबायो कि ! ‘

रेलमार्ग ब्रोडगेजमा

जनकपुर-जयनगर रेलमार्गले ८ दशक पुरानो बिरासत बोकेको छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा सन् १९३०को दशकमा खुलेको यो रेलमार्ग सन् २०१४ देखि मर्मतका लागि भनेर बन्द गरिएको थियो । यसअघि यो रेलमार्ग ‘न्यारो गेज’मा थियो ।

जानकारहरुका अनुसार सुरुमा यो रेलमार्ग नेपालबाट भारतमा काठ ढुवानी गर्न प्रयोग हुन्थ्यो । पछि यसमा यात्रुबाहक रेल पनि चलाउन थालिएको थियो ।

अहिले भारतीय लगानीमा रेलमार्गलाई ब्रोडगेजमा विस्तार गरिएको छ ।  ब्रोडगेज भारतमा प्रयोग हुने रेल्वे प्रविधि हो, अहिले धेरैजसो रेल चलाउने देशले ब्रोडगेज हटाएर स्टान्डर्ड गेजमा आफ्नो रेल विस्तार गरेका छन् ।

ब्रोडगेजमा रुपान्तरणको काम भारत सरकारले आफ्नै लगानीमा गरिदिएको हो । त्यसका लागि करिब १० अर्ब लाग्ने अनुमान भारतको थियो । तर, योजनाअनुसार बर्दिबाससम्म ७० किलोमिटरको रेलमार्ग बनाउनुपर्नेमा कुर्थासम्म करिब ३५ किलोमिटर मात्रै बनिसकेकाले कति खर्च भयो भन्ने एकीन छैन । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको छ ।

अहिले कुर्थाबाट बिजलपुरा रेलमार्ग निर्माणको काम भइरहेको छ । यो काम करिब अन्तिम चरणमा छ । यो रुटमा पनि भारतले ब्रोडगेज रेलमार्ग बनाइरहेको छ । बिजलपुरादेखि बर्दिबाससम्म पनि भारतले नै रेलमार्ग बनाइदिने भनेपनि हालसम्म जग्गाको मुआब्जा प्रक्रिया टुंगिसकेको छैन ।

यो रेलमार्गलाई ब्रोडगेजमा विस्तार गर्न सन् २०१०मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेलामा एमओयू भएको थियो । त्यतिबेला तत्कालीन माधव नेपाल नेतृत्वको सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले नेपालका तर्फबाट सो समझदारीमा हस्ताक्षर गरेका थिए ।

सो समझदारीअनुसार जयनगर-जनकपुर-बर्दिबाससहित जोगबनी-बिराटनगर रेलमार्ग निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । न्यू जलपायुगुडी-काँकडभिट्टा, नौतन्वा-भैरहवा, नेपालगञ्ज रोड (रुपेडिया)-नेपालगञ्ज रेलमार्ग निर्माणको लागि पनि समझदारी भएपनि काम अघि बढाएको छैन ।

डिजेलबाट चल्ने रेल

जनकपुर-जयनगर चल्ने नयाँ रेल भारतमा ३ सय किलोमिटरसम्मको रेलमार्गमा रुटमा चलिरहेको प्रविधिमा आधरित छ । यो ‘डिजेल इलेक्ट्रिक मल्टिपल युनिट’ प्रविधिमा आधारित रेल हो ।

यो रेल डिजेलबाट चल्छ । डिजेलले विद्युत उत्पादन गर्छ र बिजुलीबाटै रेल चल्छ ।

२०५६ सालपछि रेलमार्गमा डिजेलबाट चल्ने रेल चल्दै थियो । त्यसअघि कोइलाबाट चल्ने स्टिम इन्जिनयुक्त रेल थियो ।

यसको दुबैतर्फ इन्जिन जोडिएकाले रेल फर्काइरहनुपर्दैन । रेलको भित्र एसी जोडिएको छ । फराकिला र आरामदायी सिटहरु छन् । बीचमा उभिन ह्यांगरहरु छन् ।

सञ्चालक नेपाल रेल्वे कम्पनी

यो रेल चलाउने जिम्मेवारी सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई दिइएको छ । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् ।

यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । यसका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो ।

यसअघि पनि जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ ।

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ ।

कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।

केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment