Comments Add Comment

युरोपमा कसरी फैलियो कोरोनाको दोस्रो लहर ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो लहर नियन्त्रणमा आउँदै गरेको युरोपमा दोसो लहर फैलिने जोखिम देखिएको छ । जाडो मौसम आउँदै गरेको अवस्थामा युरोपमा कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको हो ।

कसरी बढ्यो त कोरोनाको दोस्रो लहरको जोखिम ? धेरैको चासोको विषय बनेको छ ।

युरोपेली संघ र बेलायतको दैनिक संक्रमणमा गत साता नयाँ रेकर्ड कायम भएको थियो । आगामी दिनमा अस्पतालमा बिरामीको चाप बढ्नसक्ने आशंका यहाँका नेताहरुको छ ।

केही स्थानमा भने कोरोनाको संक्रमण रोक्न सामाजिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । तर राष्ट्रव्यापी लकडाउन आवश्यक हुनसक्ने नेताहरुले बताएका छन् ।

युरोपमा कोरोना संक्रमणबाट भएको मृत्युको दर पछिल्लो ७२ दिन स्थिर छ । यद्यपि बुल्गेरिया, क्रोएसिया, माल्टा, रोमानिया र स्पेनमा भने मृत्युदर बढ्दो क्रममा छ ।

तर युरोपमा गर्मीयामको बिदा सकिने समय शुरु भएपछि संक्रमण बढेको देखिन्छ । बिदा सकिएसँगै कर्मचारीहरु सहरको केन्द्रमा फर्किए भने बालिबालिकाहरु विद्यालय जान थाले । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो समय संक्रमण बढ्नुको कारण लकडाउन खुकुलो हुनुका साथै मानिसहरुले सावधानीका नियम पालना नगर्नु भएको बताएको छ । साथै पछिल्लो समय युवाहरुमा कोरोना संक्रमण फैलिएको डब्ल्यूएचओले उल्लेख गरेको छ ।

युरोपको संक्रमण र मृत्युदर बढे पनि समग्र अवस्था भने अमेरिकाभन्दा तुलनात्मक रुपमा भने राम्रो छ ।

युरोपमा अहिलेसम्म समग्रमा ४४ लाख संक्रमित फेला परेका छन् भने दुई लाख १७ हजार जनाको मृत्यु भएको छ । समग्र युरोपको जनसंख्या ७५ करोड छ । ३३ करोडको जनसंख्या रहेको अमेरिकामा ६७ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने एक लाख ९९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

दोस्रो लहर

शुक्रबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अहिले बेलायतमा दोस्रो लहर फैलिरहेको र यसलाई रोक्न निकै कठिन रहेको बताएका थिए । मे यता पहिलोपटक दैनिक नयाँ संक्रमितको संख्या चार हजार नाघेसँगै बोरिसले यस्तो बताएका हुन् ।

केही दिनयता निरन्तर कोरोना संक्रमण बढिरहेको र यसलाई सरकारले गम्भीर रुपमा लिएको जोन्सनको भनाइ छ । ‘म दोस्रोपटक राष्ट्रव्यापी लकडाउन होस् भन्ने चाहन्न । त्यसैले महामारीबाट बच्ने एकमात्र उपाय दिशानिर्देश पालना गर्नु नै हो’, जोन्सनले भने ।

बेलायत युरोपमा कोरोनाबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको मुलुक हो । यहाँ अहिलेसम्म ४० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । बढ्दो संक्रमण नियन्त्रण गर्न सामाजिक भेलामा रोक लगाउने निर्णय सरकारले गरेको छ ।

तर पछिल्लो समय कोरोना संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीको पनि आलोचना भइरहेको छ । विशेषगरी बेलायतको टेस्ट एण्ड ट्रेस सिस्टमको मानिसहरुले आलोचना गरिरहेका छन् । प्रधानमन्त्री बोरिुस आफैंले पनि यो प्रणालीमा ठूलो समस्या रहेको स्वीकार गरिसकेका छन् ।

त्यस्तै स्पेनको मेड्रिडमा पनि कोरोना संक्रमण नियन्त्रणका लागि सामाजिक गतिविधिमा प्रतिबन्धको नयाँ नियम अघि सारिएको छ । सेप्टेम्बर ११ मा स्पेनमा एकैदिन १२ हजार १८३ नयाँ संक्रमित फेला परेका थिए । यो मुलुकमा ६ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

शुक्रबार फ्रान्समा एकैदिन १३ हजार २१५ नयाँ संक्रमित थपिएका थिए, जुन गत अप्रिलयताकै सबैभन्दा धेरै हो ।

साथै अस्पतालमा भर्ना हुने बिरामीको संख्यामा पनि पछिल्लो एक सातामा उल्लेख्य वृद्धि भएको थियो । फ्रान्सका केही सहरको आईसीयू सबै भरिने अवस्थामा पुगिसकेका छन् ।

शुक्रबार चेक गणतन्त्रमा एकैदिन तीन हजार १३० नयाँ संक्रमित थपिएका थिए । यससँगै मास्क अनिवार्य गरिएको छ ।

नेदरल्याण्ड्समा पनि एकैदिन एक हजार ९७७ नयाँ संक्रमित देखिएका थिए । त्यहाँका प्रधानमन्त्रीले एकैसातामा दैनिक संक्रमितको संख्या दोब्बर बनिरहेको बताएका थिए । नेदरल्याण्ड्सका ६ राज्यमा आइतबारदेखि रेष्टुरेन्ट, बार र क्याफेहरु बन्द रहनेछन् ।

इटालीमा पनि शुक्रबार मे महिना यताकै सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । इटालीमा एक हजार ९०७ नयाँ संक्रमित थपिएका हुन् ।

कसरी फैलियो त संक्रमण ?

युरोपका ५० देखि ७९ वर्ष उमेर समूहका मानिसमा पनि कोरोना संक्रमण फैलिएको थियो । तर अहिले भेटिइरहेका नयाँ संक्रमितमध्ये अधिकांश २५ देखि ४९ वर्ष उमेर समूहका छन् । युवाहरुले सरकारले जारी गरेको दिशानिर्देश पालना नगरेको कारण उनीहरुमा कोरोना संक्रमण फैलिएको जानकारहरु बताउँछन् ।

सरकारले कोरोनाबाट बच्न आवश्यक मापदण्ड पूरा गरी लकडाउन खोल्ने निर्णय गरेपनि युवाहरुले त्यसलाई बेवास्ता गरे । अहिले दिनानुदिन युरोपमा कोरोना संक्रमण बढ्दो क्रममा छ । यस्तोमा बिस्तारै जाडो मौसम पनि आउँदैछ । जसले कोरोना भाइरसको महामारीलाई थप चुनौतीपूर्ण बनाउन सक्ने जानकारहरुको भनाइ छ ।

युरोपमा कोरोनाका नयाँ संक्रमितको संख्या बढ्नुको कारण सामाजिक गतिविधि बढ्नु पनि हो । लकडाउन खुलेसँगै लामो समयदेखि बन्द रहेका व्यवसाय र सार्वजनिक स्थलमा मानिसको चहलपहल बढ्यो । यस्तोमा मानिसले मास्क लगाउने र भौतिक दूरी कायम राख्नेजस्ता दिशानिर्देश पनि पालना गरेनन् । यसले युरोपमा कोरोनाको संक्रमण बढाउन सहयोग पुग्यो ।

पछिल्लो समय अष्ट्रिया, टर्की, ग्रिस र क्रोएसियामा पनि कोरोना संक्रमण फैलिएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment