Comments Add Comment

अबुधाबीस्थित नेपाली दूतावासमा झन्डोत्तलन गर्दै मनाइयो संविधान दिवस

युएई । नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् ।

झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझासहित दूतावासका अन्य कर्मचारी, नेपाली समुदाय र सीमित पत्रकारहरुको उपस्थिति थियो ।

झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए ।

कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको बाध्यता दर्शाउँदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे ।

उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा नेपालको संविधान रहेको बताइन् ।

संविधानको सम्मान र पालना गर्दै यसलाई राष्ट्रिय दिवसको रूपमा पनि मनाउन थालिएको बताउँदै धितालले यही खुशीयालीमा राजदूतको आवासमा तीन दिनसम्म दीपावली गरिएको जानकारी दिइन् ।

संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै निःशुल्क उक्त सुविधा प्रदान गरेकाले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभुति गरेको उनले बताइन् ।

उनले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुवै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुशीयाली साटासाट गरेको जानकारी दिइन् ।

सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्शाएको सम्मानका लागि दूतावास परिवारलाई धन्यवाद प्रकट गरे ।

नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment