Comments Add Comment

पुल निर्माणको विषयमा विवाद हुँदा बारा र रौतहटका स्थानीयबीच झडप

५ असोज, वीरगञ्ज । विवादित पुल निर्माण कार्य सुरु गरिएपछि बारा र रौतहटको सीमा क्षेत्रमा झडप भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो । झडपमा दुबै तर्फका केही स्थानीय घाइते भएका छन् । झडपको क्रममा टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीय नुर आलम बताउँछन् । तर रौतहटतर्फका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राख्दै आएका छन् ।

समस्या समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए । हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सर समेत जलाइदिएका थिए । मिक्सरमा सामान्य क्षति पुगेको छ ।

दुई गाउँबीच झडप भएको जानकारी पाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘पुलको विषयमा विवाद भएर दुई गाउँका बासिन्दाबीच झडप भएछ, प्रहरी टोली गएर उताकालाई उतै यताकालाई यतै पठाएका छौं,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’

प्रहरी नायब उपरीक्षक मिश्रले समस्या समाधानका लागि असोज ९ गते दुवै गाउँका बासिन्दबीच छलफल गर्ने सहमति समेत भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment