Comments Add Comment

आङरिता शेर्पा, जो आरोहणलाई प्राविधिक बनाउन चाहदैनथे

५ असोज, काठमाडौं । ३८०० मिटर उचाईमा पर्ने सोलुखुम्बुको थामे गाउँमा जन्मिएका आङरिता शेर्पाले पर्वतारोहणलाई कहिले पनि व्यवसाय बनाएनन्, बरु यसलाई परम्परा र सम्मानका रुपमा लिए । त्यसकारण उनी हिमालयसँग कहिल्यै जोरी खोज्दैनथे । उनको बुझाई थियो– प्रकृतिभन्दा ठूलो केही छैन, पर्ख, हेर र अगाडि बढ ।

उनले हिमाललाई सम्मान र आदर गरे । हिमालले पनि उनलाई प्रख्याती दियो, विश्वप्रसिद्ध बनायो । उनी बिना अक्सिजन १० पटक सगरमाथाको शिखरमा उभिन पुगे ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्माजाङ्बु शेर्पा सम्झछन्, आङरिताले कहिले पनि हिमालको प्रतिकुल हुने दुस्साहस गरेनन्, त्यसैले उनलाई सफल बनायो । आङरिता ‘हिम चितुवा’को उपनामले विश्वभर प्रख्यात छन् ।

उनै आङरिता ७२ वर्षको उमेरमा सोमबार संसारबाट विदा भएका छन् ।

तर आफ्नो समयका अतुलनीय पर्वतारोही आङरिताले साढे दुई दशक अगाडि बनाएको विश्व कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्माजाङ्बु भन्छन्, ‘वर्तमान पुस्ता हतारमा छ । पर्वतारोहण पूर्ण व्यवसायिक बनेको छ । यसले हिमालयमा दूर्घटना पनि बढेको छ । तर आङरिता हिमालको मौसम हेरेर मात्र आरोहणमा जानुहुन्थ्यो ।’

खासमा आङरिता हिमाल आरोहणलाई प्राविधिक बनाउन रुचाउँदैनथे । उनी प्रकृति अनुकुल भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्थे । सन् १९४८ मा जन्मिएका उनले पहिलो सगरमाथा आरोहण १९८३ मा गरे । १९९६ मा १० औं आरोहण पनि बिना अक्सिजन नै गरे ।

आङरिताको अवसानसँगै पर्वतारोहण क्षेत्रमा एउटा चम्किलो तारा निभेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनको कीर्तिमान सदा स्मरणीय रहने उल्लेख गदै ट्वीट गरेका छन्– ‘हिम चितुवाप्रति हार्दिक श्रद्धाञ्जली ।’

पर्यटनमन्त्री योगेश भट्टराईले पनि ट्वीटमा लेखेका छन्– ‘बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने विश्वविख्यात आरोही हिम चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा भएको निधनप्रति दुख व्यक्त गर्दै उहाँमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

आङरिताका तीन छोरा र एक छोरी छन् । उनी छोरीसँग काठमाडौंमा बस्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment