Comments Add Comment

अग्ला सैनिकप्रति राजाको आशक्ति, अग्लो जिउ हुनेलाई बढी तलब

काठमाडौं । विश्व इतिहासमा कैयन् यस्ता राजा तथा शासकहरुको बारेमा पढ्न पाइन्छ, जो विभिन्न कारणहरुले गर्दा संसारभर चर्चित रहे ।
कोही शासक आफ्नो उदारताका लागि उदाहरणीय रहे भने कोही क्रूरताका लागि ।

तर दुनियामा एकजना यस्ता राजा पनि थिए जो त्योभन्दा अलग्गै कारणले चर्चित रहे । उनी वास्तवमा एकजना सनकी राजा थिए । जसले जिउको उचाइ हेरेर सैनिकको तलब निर्धारण गर्दथे ।

इतिहासमा युरोपको एक शक्तिशाली अधिराज्य थियो प्रुसिया । त्यहाँका एक राजा फ्रेडरिक विलियम प्रथमले सन् १७१३ देखि १७४० सम्म शासन गरे । निकै शान्त र दयावान राजा मानिन्थ्यो उनलाई । आफ्नो सेना विस्तार गर्ने उनको ठूलो शौख थियो । आफू राजा बनेपछि उनले प्रुसियाको सेनाको संख्या ३८ हजारबाट बढाएर ८३ हजार बनाएका थिए ।

राजा फ्रेडरिक विलियम प्रथम

राजा फ्रेडेरिकलाई अग्लो जिउडाल भएका सैनिकहरु निकै मन पर्दथ्यो । उनको राज्यमा अग्लो कदका सैनिकहरुको छुट्टै रेजिमेन्ट थियो जसको नाम ‘पट्सड्याम जाएन्ट’ थियो । उक्त डफ्फामा सबै सैनिक ६ फिटभन्दा अग्ला थिए । राजा फ्रेडेरिकको सेनामा सबैभन्दा अग्लो जिउडालका सैनिकको नाम जेम्स किर्कल्याण्ड थियो । उनको उचाइ सात फिट एक इन्च थियो ।

राजा विलियमको सबैभन्दा खास विशेषता के थियो भने उनले आफ्नो सेनामा अग्लो जिउडालका सैनिकहरु भर्ति गराउनमा प्राथमिकता दिन्थे तर उनी युद्ध गर्न भने चाहँदैनथे । उनी केवल अन्य राज्यहरुलाई तर्साउनका लागि मात्र अग्लो कदका सिपाहीहरु भर्ना गर्दथे ।

रोचक त के भने छिमेकी राज्यहरुले समेत फ्रेडेरिकसँगको सुमधुर सम्बन्धका कारण आफ्नो देशमा रहेका अग्लो कदका युवाहरुलाई उनको देशको सेनामा भर्ति हुनका लागि पठाइदिन्थे । आसपासका जमिन्दारहरुले समेत आफ्नोमा काम गर्ने सबैभन्दा अग्ला मजदूरहरु राजालाई भेट चढाउँदथे ।

अग्ला सिपाहीहरुप्रतिको राजाको त्यो शौख समय क्रमसँगै सनकमा बदलियो । उनी आफ्ना अग्ला सैनिकहरुलाई अनौठा काममा लगाउन थाले । आफू उदास भएको बेला २÷३ सय जना सैनिकलाई दरबार भित्र बोलाएर नाचगान गराउँदथे । आफू बिरामी भएको बेला अग्ला सैनिकहरुलाई दरबार भित्र आएर हतियारसहित मार्चपास गर्न अह्राउँदथे ।

सैनिकहरुको शरीरको उचाइ अझै बढाउन भन्दै राजाले काठको र्याक बनाएका थिए । त्यसमा सैनिकहरुलाई बाँधेर जिउ तन्काइन्थ्यो ताकि सैनिकहरुको जिउ तन्किएर अग्लो बनोस् । जबर्जस्ती सैनिकहरुको जिउलाई यसरी बाँधेर तान्दा कैयन् सैनिकहरुको मृत्युसमेत भएको इतिहासमा उल्लेख छ । यतिमात्र कहाँ हो र ? उनको सनक यति धेरै चढ्यो कि हुँदाहुँदा आफ्ना अग्ला सैनिकहरुलाई र राज्यका अग्ला महिलाहरुसँग जबरजस्ती यौन सम्पर्क गर्न लगाए ।

३१ मे १७४० मा ५१ वर्षको उमेरमा राजा फ्रेडरिकको मृत्यु भयो । त्यस समय उनले स्थापना गरेको अग्लो कदका सैनिक डफ्फामा सैनिकहरुको संख्या ३ हजार पुगिसकेको थियो । उक्त टुकडीमा काम गर्ने सैनिकहरुको तलब अन्य सैनिकहरुको भन्दा बढी थियो ।

उनको मृत्युपछि पनि कैयौँ वर्षसम्म उक्त सैन्य टुकडी सक्रिय नै रह्यो । सन् १८०६ मा फ्रेडरिक विलियमका छोरा फ्रेडरिक ग्रेटले अग्ला सैनिकहरुको उक्त रेजिमेन्टलाई भंग गरी आम सैन्यवलमा समायोजन गरे ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment