Comments Add Comment

काम नगर्ने ठेकदारलाई थाहा नगरपालिकाले थाल्यो कारबाहीको प्रक्रिया

८ असोज, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले ठेक्का सम्झौता गरेर लामो समयसम्म काम नगर्ने ठेकदारलाई कारबाही प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले दुई निर्माण कम्पनीले पाँच वटा योजना समयमै सम्पन्न नगरेपछि ८ असोजमा सूचना प्रकाशित गरी कारबाही थालेको हो ।

आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा विभिन्न योजनाहरुको ठेक्का पाई हालसम्म पनि योजना सम्पन्न नगरेका ठेकदारहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भई २०७५ असार मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने थाहा नगरपालिका वडा नम्बर ७ र ८ को वडा कार्यालय भवन निर्माण हालसम्म पनि सम्पन्न नगरेपछि टीएफटी कन्सट्रक्शन सिन्धुपाल्चोकका ठेकदार शम्भु बानियाँलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन नगरपालिकाले सूचित गरेको छ ।

पटक-पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएपछि नगरपालिकाले ८ असोजमा प्रकाशित गोरखापत्रमा सूचना प्रकाशित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भई २०७६ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन बसपार्क र थाहा स्मारक पार्क तथा वडा नम्बर २ मा संचालित पालुङ बँदेली सडक निर्माण कार्य हालसम्म पनि सम्पन्न नगरेकोले प्रोग्रेसिभ कन्सट्रक्सन कालिमाटीका आशिष कार्कीलाई पनि ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्ने व्यहोराको सूचना बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरीएको छ ।

थाहा नगरपालिकाले पटक पटक सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको हुँदा ७ दिनभित्र कार्यालयमा उपस्थित हुन र उपस्थित नभएमा आवश्यक प्रक्रिया अघि बढाइने भनी गोरखापत्र दैनिकमा सूचना प्रकाशन भएको हो । प्रोग्रेसिभ कन्सट्रक्सनका ठेकदार आशिष कार्की थाहा नगरपालिकाको पुरानो र चर्चित गौरी पार्वती निर्माण सेवाका ज्ञानध्वज कार्कीका सहोदर छोरा हुन् ।

ठेकदारहरुले ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगरेको भनी ठेकदारहरुलाई थाहा नगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाएको यो पहिलो घटना हो । गोरखापत्रमा ८ असोजमा प्रकाशित ७ दिने सम्पर्क राख्न आउने बारेको सूचना बमोजिम ठेकदारहरु सम्पर्क राख्न नआएमा सार्वजनिक खरिद नियमावली बमोजिम ठेक्क सम्झौता तोड्ने र कालोसूचीमा राख्नेसम्मको कारबाही हुने थाहा नगरपालिका योजना महाशाखा प्रमुख विवेक विडारीले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मै ठेक्का सम्झौता भई हालसम्म काम सम्पन्न नभएको वडा नम्बर ५ को सरस्वती बजार-बुढिचौर सडक र चित्लाङ-ताकातार-खर्क सडक भने ठेकदार सम्पर्कमा आई काम संचालनमा रहेकोले २०७७ असोज मसान्तसम्म सम्पन्न गर्ने गरी कार्य अघि बढाएकोले उक्त योजनाका ठेकदारलाई भने कारबाही प्रक्रियाअघि नबढाएको थाहा नगरपालिका आर्थिक प्रशासन शाखाले जनाएको छ । यद्यपि काम ढिला गरेवापत निर्माण व्यवशायीलाई हर्जना भने लाग्ने नगरपालिका आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ ।

गोरखापत्रमा सूचना प्रकाशन गरी थाहा नगरपालिकाले ठेकदारलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको सम्बन्धमा मकवानपुर निर्माण व्यवसायी संघ थाहानगर समितिका अध्यक्ष राजन ढकालले ठेक्का सम्पन्न नगरिदिँदा सबै निर्माण व्यवसायीले त्यसको बदनामी सहनु परेको बताए ।

नेपालमा कोभिड-१९ का कारण भएको लकडाउनले काम सम्पन्न गर्न केही ढिला भएता पनि कार्यालयमा ठेकदारले सम्पर्क गरी निश्चित समयमा काम सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरेमा र कार्य सुरु गरेमा कार्यालयले केही लचकता अपनाइदिन अध्यक्ष ढकालले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment