Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुमा कोरोना संक्रमण

८ असोज,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् ।

डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।

आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उनले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

आफूसँग पछिल्लो ४-५ दिनदेखि नजिक भएकाहरुमा लक्षण छन् भने अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर टेस्ट गराउन र लक्षण नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेका छन् ।

‘शुभेच्छुकहरुले मलाई धेरै फोन नगरिदिनुहोला, किन भने मलाई सुख्खा खोकीले आक्रान्त पार्दैछ,मेसेज जति गरे पनि हुन्छ । तर सकारात्मक होस् जसले मलाई मनोबल उच्च पार्न सहयोग गर्नेछ, र म छिट्टै यहाँहरुको सेवामा हाजिर हुन पाऊं,’ लामो स्टाटस पोष्ट गरेका खनालले फेसबुकमा लेखेका छन् ।

रुपन्देहीमा थपिए ८२ जना संक्रमित

यसैबीच रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला ५८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

८२ जनामध्ये बुटवल उपमहानगरमा मात्रै ४२ जना छन् । यस्तै तिलोत्तमा नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ३ जना तथा देवदह नगरपालिका र ओमसतिया गाँउपालिकामा २-२ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२ सय ८२ पुगेको छ । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment