Comments Add Comment

पाँच वर्षपछि खुल्यो परियार हत्याको रहस्य, एक पक्राउ, अर्काविरुद्ध रेड नोटिस

रविकुमार यादव

८ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले फैडोल सामुदायिक वनमा पाँच वर्ष पहिले भएको हत्याको कारण खुलेको छ ।

सुनसरीको इटहरी नगरपालिका–४ घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियारको अवैध सम्बन्धका कारण विभत्स हत्या भएको प्रहरीले जानकारी दिएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले घटनामा संलग्न रहेको अभियोगमा सिराहाका रविकुमार यादवलाई पक्राउ गरेको छ । महाशाखाका एसएसपी दिपक थापाका अनुसार परियारले एक व्यक्तिसँग विवाह गरेपछि यादव र परियारबीच मनमुटाव सुरु भएको थियो ।

तर, विवाह गर्ने व्यक्ति वैदेशिक रोजगारीमा गएपछि परियारको यादवसँग भेटघाट हुन थालेको र नियमितजसो अवैध सम्बन्ध हुने गरेको खुलेको छ । त्यसक्रममा सिराहाको एउटै गाउँमा घर भएका यादव र ती व्यक्तिबीच पनि विवाद भएको हुनसक्ने प्रहरीको आशंका छ ।

त्यहीबीच परियारको तेस्रो व्यक्तिसँग पनि सम्बन्ध रहेको देखिएपछि दुवै जनाले मिलेर उनलाई घाँटीमा खुकुरी प्रहार गरेर १५ वैशाख २०७२ मा हत्या गरिएको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

तत्कालीन अनुसन्धान अधिकृतहरूले तयार पारेको अनुसन्धान प्रतिवेदनमा पनि पछिल्लो पटक जीवित देखिँदा परियार यादव र आफ्नाासँग जंगलतिर गएको प्रत्यक्षदर्शीले बयान दिएका छन् । फर्किँदा भने युवती साथमा नभएको भनिएको छ ।

घटनालगत्तै युवतीको शव पहिचान हुननसकेकाले अनुसन्धानले गति लिन सकेको थिएन । शव सनाखत हुँदासम्म दुवै जना भागेर भारत पुगिसकेका थिए । भारतमा गएर यादव बैंलोरमा बसे पनि अर्का व्यक्ति भने त्यहीँबाट कतार गएका थिए ।

हाल पनि विदेशमै रहेकाले उनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मार्फत खोजी गरिदिन अपराध महाशाखाले नेश्नल सेन्ट्रल ब्युरो (एनसीबी), काठमाडौंलाई अनुरोध गरेको थियो । त्यसको आधारमा इन्टरपोलले ती व्यक्तिविरुद्ध रेड कर्नर नोटिस जारी गरिसकेको छ ।

‘अहिले यादवलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’, एसएसपी थापाले अनलाइनखबरसँग भने, ‘अर्का व्यक्तिको हकमा पनि इन्टरपोलसँग समन्वय भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment