Comments Add Comment

अर्घाखाँचीको ढुंगेशेरामा ६ घर भत्किए, २० घर उच्च जोखिममा

‘तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो’

११ असोज, बुटवल । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोले डाँडो भासिदा कम्तीमा ६ घर भत्किएका छन् । २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।

केही दिनदेखिको अविरल वर्षापछि गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुंगेशेरामा वस्ती भासिन शुरु भएको हो । घर भत्किए पनि मानवीय क्षति नभएको वडा अध्यक्ष कपिल आलेमगरले बताए । ‘पहिरोले वस्ती रहेको डाँडो नै भासिन थालेको छ, ६ घर काम नलाग्ने गरी भत्किएका छन्,’ आलेले भने, ‘मेयरसहित हामी घटनास्थल पुग्दैछौं । अहिलेसम्म मानवीय क्षति भएको जानकारी आएको छैन ।’ त्यहाँ पहिरो जाने क्रम नरोकिएको उनले बताए ।

तीन दिनअघि पहिरोले जमिन भासिदा डेढ दर्जन घरमा क्षति पुगेएको शितगंगाकै वडा नंं. १२ को कोठिया मैदान गाउँको ठीक पारिपट्टि ढुंगेशेरा गाउँ छ । कोठिया मैदान क्षेत्रमा जमिन भासिँदा जोख्ले गैरा, पहरेपानी र बतासे टोलका ४७ घर परिवार पूर्णरुपमा विस्थापित भैसकेका छन् । ४७ घरमध्ये १७ घर काम नलाग्ने गरी भासिएका हुन् भने बाँकी उच्च जोखिममा परेकाले विस्थापित भएका छन् । विस्तापित ४७ परिवारलाई हाल कोठिया मैदानको गौरा माध्यमिक विद्यालयमा अस्थायी व्यवस्थापन गरिएको छ ।

कोठिया मैदान र ढुंगेशेरा दुवै गाउँ चुरे क्षेत्रमा पर्छन् । दुवै गाउँ खेतीका लागि उर्बर क्षेत्र हुन् । तीन–चार वर्षअघिदेखि त्यहाँको जमिन धाँजा फाट्ने गरेको थियो । स्थानीयले धाँजाहरु पुर्दै खेती गर्दै आएका थिए । ‘जमिन धाँजो पर्न शुरु भएको बेला नै सुरक्षित ठाउँमा वस्ती स्थानान्तरण गर्नुपर्ने रहेछ भन्ने अहिलेको क्षतिले पाठ सिकायो,’ वडा नंं. १२ का वडा अध्यक्ष बाबुराम गैरेले भने ।

यो पनि पढ्नुहोस अर्घाखाँची शितगंगाको पहिरोले डेढ दर्जन परिवार विस्थापित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment