Comments Add Comment

पर्यटन बोर्ड पनि ‘रामायण पथ’मा कस्सियो

१३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

‘रामायण पथको अध्ययन’ नाम दिइएको यो कार्यक्रम प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न हुने बोर्डले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र अयोध्या ठोरीमा रहेको बताएपछि यो क्षेत्र चर्चामा रहेको छ ।

यसअघि पुरातत्व विभागले अयोध्या खोज्न ठोरी क्षेत्रमा उत्खनन् गर्ने बताएको थियो । बोर्डले भने रामायण पथको अवधारणा नै ल्याएको छ । उता, पर्यटन व्यवसायीहरुले नेपालको जनकपुर र भारतको अयोध्यासहित भगवान राम, सीता र रावणसँग जोडिएका गन्तव्यहरु जोड्ने ‘रामायण सर्किट’का लागि काम गरिरहेका छन् । रामायण सर्किटमा भारत सरकारको समेत चासो जोडिएको छ ।

बोर्डले सप्तकोशीमा ‘बीच टुरिजम’ स्थापित गर्न चालु आर्थिक वर्षको लागि २५ लाख रुपैयाँ बजेट छु्टयाएको छ । त्यस्तै, कैलाश मानसरोवर यात्राका लागि लिमी उपत्यकामा सिमकोट–केर्मी–लुन्जा पास रुट, मकवानपुरको थाहा नगपालिका र मनहरि क्षेत्रमा चेपाङ ट्रेलको खोजी गर्ने कार्यक्रम पनि बोर्डले समेटेको छ ।

बोर्डले यसै वर्ष गणेश हिमाल क्षेत्रमा ‘सलाङ–मैदी–ज्याम्रुङ’ नयाँ पदमार्ग र मकालु वेश क्याम्प पुग्ने वैकल्पिक यात्रा मार्गको पनि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बोर्डले पाल्पाको रानीमहललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न कालिगण्डकी गाउँपालिकालाई समेत जोडेर गुरुयोजना बनाउने भएको छ । उक्त प्रयोजनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment