Comments Add Comment

प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङ खोस्ने कामको सुरुआत गर्‍यो : नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले भन्यो-ईयूको कालोसूची लम्बिन सक्छ

१३ असोज, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा  पूर्णविराम लगाउने कामको सुरुआत यसैमार्फत गरेको निगमले आरोप लगाएको छ ।

‘निगमको ठूलो लगानी रहेको भूमिस्थ सेवाबाट आम्दानी गर्ने कार्यलाई पूर्णविराम लगाउने कार्यको सुरुआत गरेको छ । यसबाट निगमले आर्जन गर्ने राजस्व मध्येबाट क्यानले प्राप्त गर्ने १५ प्रतिशतको राजस्व समेत गुम्ने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।

संसारमा राष्ट्रिय ध्वजबाहकलाई सरकारले ठूलो संरक्षण गरिरहेको भन्दै नेपाल एयरलाइन्सले नेपालमा भने नियामक निकायबाटै आम्दानी खोस्ने काम भएको बताएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्यान्डिलिङ सेवा दिइरहेको छ । नेपाल वायुसेवा निगमले भूमिस्थ सेवा प्रदान गर्दा त्यसकै लागि आवश्यक स्थानको अभाव रहेको र नयाँ कम्पनीलाई अझ धेरै स्थान नपुग्ने भन्दै विमानस्थल कवाडी खाना जस्तो हुने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अहिले नै स्थान अभाव भइरहेको समयमा अर्को संस्थालाई भूमिस्थ सेवा दिँदा उपकरण तथा सामानको व्यवस्थापन गर्न मुस्किल पर्ने र यसले विमानस्थलमा सुरक्षाको प्रश्न उठ्ने चेतावनी नेपाल एयरलाइन्सको छ । जसले गर्दा यूरोपेली युनियनको कालोसूची समेत लम्बिने भन्दै कम्पनीले सचेत समेत गराएको छ ।

यसअघि प्राधिकरणबाट पाएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न पर्यटनमन्त्री योगेश भट्टराईले निर्देशन दिएका छन् । तर, उनले यो सुविधा खारेज भने गरिसकेका छैनन् ।

प्राधिकरणले भने ग्राउन्ड हृयान्डिलिङ निर्देशिकाको प्रावधानअनुसार नै हिमालयलाई यो सुविधा दिएको बताएको छ । निगमले भने उडान सुरक्षामा आँच पुग्ने गरी निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाटै ग्राउण्ड ह्यान्डिलिङ सेवा सञ्चालन हुने गरेको स्मरण समेत कम्पनीले गराएको छ ।

यो वर्षसमेत ग्राउन्ड ह्यान्डिलिङ सेवालाई स्तरीय बनाउन ठूलो लगानी गरिसकेको भन्दै निगमले यो सेवाका लागि मात्र अर्बौं रुपैयाँ लगानी भएको समेत बताएको छ । निगमले विगत चार दशकदेखि यो सेवा दिइरहेको छ ।

विमानस्थलमा यसअघि थाई एयर र एयर इन्डियाले यो सेवा पाइरहेका छन् । उनीहरुले आजभन्दा ३०-४० वर्ष पहिले नै सेल्फ ग्राउन्ड ह्यान्डिलिङ सेवा पाएको र त्यसबेला अहिलेजस्तो विमानस्थलमा स्थान अभाव नभएको समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment