Comments Add Comment

प्रदेश २ मा कोरोना संक्रमितको संख्या घट्दै, डिस्चार्ज हुनेहरु बढ्दै

१३ असोज, जनकपुरधाम । कोरोना भाइरसको हटस्पट बनेको प्रदेश २ मा मंगलबार जम्मा ४९ जना संक्रमित देखिएका छन् । मंगलबार मात्र होइन पछिल्लो एक सातायता नै प्रदेश २ मा कोरोना संक्रमितको संख्या निरन्तर घटेको छ ।

असोज ७ गते प्रदेशमा जम्मा ३७ जना संक्रमित देखिएका थिए । त्यस दिन महोत्तरी, रौतहट र बारा तथा पर्सामा एक जना पनि संक्रमित नभेटिएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

असोज ८ गते ४३ जना संक्रमित देखिँदा सर्लाहीमा एक जना पनि भेटिइनन् भने असोज ९ गते ९५ जना संक्रमित देखिए । असोज १० गते ५७ जना संक्रमित देखिँदा सर्लाही र महोत्तरीमा संक्रमित नभेटिएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

असोज ११ गते ९० जना, १२ गते ३६ र १३ गते ४९ जना संक्रमित देखिएका छन् । प्रदेश २ मा बढीमा एकै दिन ४ सय जनासम्मा कोरोना संक्रमण देखिएको थियो ।

निको हुनेको संख्या बढ्दै

संक्रमितको संख्या घट्न थाल्दा निको हुनेको संख्या भने बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९ जना कोरोना संक्रमित निको भएका छन् । यसमध्ये १ सय ७८ जना महिला छन् ।

मन्त्रालयका अनुसार रौतहटका ३ सय १०, सर्लाहीका २ सय ५८ र महोत्तरीका २ सय २६ जना निको भएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

उनका अनुसार पर्साका १ सय ९७ जना, धनुषाका १ सय ७५ जना, सप्तरीका ४३ जना कोरोना संक्रमित निको भएका छन् । निको हुनेहरु होम आइसोलेसनमा बसेकाहरु भएको झाले बताए ।

यसअघि सोमबार ९ सय ८७ जना कोरोना संक्रमित निको भएका थिए । प्रदेशभरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ९ सय ४५ पुगेको छ ।

सोमबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६४ जना रहेकामा मंगलबार घटेर ३ हजार ४ सय २ मा झरेको छ ।

सबैभन्दा बढी सक्रिय संक्रमित हाल सिराहामा ७ सय २८ जना छन् । ती अधिकांश सिराहा कारागारका कैदीबन्दी हुन् । उनीहरुलाई कारागारमै बनाइएको आइसोलेसनमा राखिएको छ । सर्लाही जिल्लामा ७ सय ७५ जना, धनुषामा ५ सय ७४ जना, महोत्तरीमा ४ सय ९८ जना, रौतहटमा ४ सय ६२ जना, सप्तरीमा २ सय १० जना, बारामा १ सय ८ जना र पर्सामा १ सय ३ जना सक्रिय संक्रमित छन् ।

अझै ढुक्क हुन सकिन्न

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएको हो वा होइन भन्नेबारे अहिले नै केही भन्न नसकिने बताए ।

परीक्षणको दायरा घटेका कारण संक्रमितको संख्या घटेको उनले बताए । ‘लक्षण देखिएका व्यक्तिको मात्रै परीक्षण भइरहेकाले पनि संक्रमितको संख्यामा कमी देखिएको छ’ उनले भने ।

होम आइसोलेसनमा बस्नेहरुलाई १४ दिनपछि स्वतः डिस्चार्जमा गणना गरेकाले पनि निको हुनेको संख्या बढेको देखिन्छ ।

संक्रमणको केश कम देखिए पनि निश्चिन्त हुने स्थिति नरहेको निमित्त निर्देकशक झा बताउँछन् । गत असारमा केश धेरै घटिसकेको स्मरण गर्दै उनले अनलाइनखबरसँग भने, ‘एक दिनमा प्रदेशभरि नै ७ जना संक्रमित देखिएको थियो । तर लकडाउन खोलेपछि हवात्तै संक्रमित बढ्यो ।’

आगामी दिनमा अझ जोखिमको स्थिति आउन सक्ने भन्दै उनले दशैं, तिहारमा काठमाडौं र भारतमा रहेकाहरु घर फर्किने हुँदा संक्रमण बढ्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment