Comments Add Comment

पहिलो चुनावी बहसमा ट्रम्प र बाइडनबीच आरोप प्रत्यारोप

१४ असोज, काठमाडौं । अमेरिकाको आगामी राष्ट्रपति पदका लागि चुनावी मैदानमा रहेका डोनाल्ड ट्रम्प र जो बाइडनबीच मंगलबार पहिलो चुनावी बहस (डिबेट) भएको छ । बहसको क्रममा दुवै प्रतिस्पर्धीले एकअर्कालाई स्वास्थ्य, न्याय, नश्लीय भेदभाव, अर्थतन्त्रलगायतका विषयमा आरोप प्रत्यारोप गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफ्नो ठाउँमा बाइडन राष्ट्रपति भएको भए अमेरिकामा अझै धेरै मानिसहरुको मृत्यु हुने दाबी गरे । जवाफमा बाइडनले ट्रम्पसँग महामारीको सामना गर्ने कुनै स्पष्ट योजना नरहेको आरोप लगाए ।

अमेरिकामा अहिलेसम्म कोरोनाका ७० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने दुई लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । ट्रम्पले भने आफूहरुले कोरोना नियन्त्रणको लागि निकै राम्रो काम गरेको भन्दै आफ्नो बचाउ गरेका थिए । ट्रम्पले भने, ‘हाम्रो सरकारले कोरोना नियन्त्रणको लागि मास्क, पीपीई, किट र औषधिको व्यवस्था गरेको छ । अबको केही सातामा नै कोरोना खोप बन्ने छ । मैले कम्पनीहरुसँग कुरा गरेको छु र अब छिटै नै खोप आउँछ भनेर भन्न सक्छु ।’

बाइडनले भने ट्रम्पले मास्क लगाउने विषयलाई गम्भीररुपमा नलिएको भन्दै आलोचना गरेका थिए । तर, यस विषयमा ट्रम्पले बाइडन दुई सय मिटर टाढा बस्दा पनि मास्क लगाउँछन् भन्दै व्यंग्य गरेका थिए । महामारीको क्रममा ठूलो भिडभाडसहितको चुनावी र्‍याली किन गरेको भनेर सोधिएको प्रश्नमा ट्रम्पले बाइडनले उक्त संख्यामा मानिसहरु जुटाउन सकेको भए उनले पनि आफूले गरेको जस्तै भिड जुटाउने बताए ।

बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट राष्ट्रपति भएको बताएका थिए भने बाइडनले ट्रम्प इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको बताएका थिए

बाइडनले ट्रम्पले दिएको अभिव्यक्तिलाई निशाना बनाउँदै ब्लिचको इन्जेक्सन लिए कोरोनाबाट बच्न सकिने भएकाले उक्त इन्जेक्सन लिन सुझाव दिएका थिए । ट्रम्पले यो कुरामा आफ्नो विज्ञता नभएकाले हुन पनि सक्ने भनेर बोलेको बताएका थिए । बाइडनले सबैलाई ट्रम्पले झुठा व्यक्ति भएको थाहा भएको बताएका थिए ।

मैले लाखौं डलर कर तिरेको छु : ट्रम्प

अर्थतन्त्रको विधामा क्रिस वालेसले अर्थतन्त्रमा कसरी सुधार ल्याउन सक्नुहुन्छ ? भनेर दुवै प्रत्याशीलाई सोधेका थिए । ट्रम्पले अमेरिकाको अर्थतन्त्रमा निरन्तर सुधार आइरहेको र इतिहासमा आफूले सबैभन्दा राम्रो आर्थिक सुधार हासिल गरेको दाबी गरेका थिए ।

यसै क्रममा न्युयोर्क टाइम्समा प्रकाशित सन् २०१६–१७ मा केवल ७५० डलर कर बुझाएको रिपोर्ट साँचो हो ? सोधिएको प्रश्नमा ट्रम्पले यसलाई गलत समाचार ‘फेक न्युज’ रहेको बताएका थिए । उनले आफूले एक वर्ष तीन करोड ८० लाख र अर्को वर्ष दुई करोड ७० लाख डलर कर तिरेको दाबी गरे ।

बाइडनले भने चुनावी बहस सुरु हुनुभन्दा केही घण्टा अगाडि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए । उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको विवरणमा उल्लेख छ ।

भेदभाव र काला जातिको प्रदर्शन

अमेरिकामा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी अधिकारीबाट हत्या भएको र त्यही घटनापछि हिंसा भड्किएकोबारे पनि ट्रम्पलाई प्रश्न सोधिएको थियो । जवाफमा उनले आफ्नो पालामा यस किसिमको हिंसा कम भएको तर अघिल्लो सरकारको पालामा भने यस किसिमको हिंसा तथा भेदभाव बढी हुने गरेको दाबी गरे ।

बाइडनले भने पछिल्ला वर्षमा अमेरिकाको कानुनी व्यवस्था नै बिग्रिएको बताए । यसको जवाफमा ट्रम्पले आफू कानुनी व्यवस्थामा नभई न्याय व्यवस्थामा विश्वास गर्ने बताए । साथै मानिसहरुले पनि न्याय व्यवस्थामा विश्वास गर्ने ट्रम्पको भनाइ छ । अमरिकामा भएको प्रदर्शन हिंस्रक बनेको विषयमा बाइडनले विरोध प्रदर्शनमा हानिकारक केही नभए पनि हिंसा स्वीकार्य नरहेको बताएका थिए ।

अमेरिकी जनताले तपाईंलाई किन भोट दिने ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘हाम्रो सरकार सबैभन्दा राम्रो प्रशासनिक सरकारको हो । कोरोना आउनुभन्दा पहिला हामी विकासको बाटोमा थियौं तर महामारीले यसमा धक्का लागेको छ ।’ उनले आफ्नो पालामा आफूले धेरै न्यायाधीश नियुक्त गरेको पनि बताए ।

बाइडनले ट्रम्पको शासनमा अमरिकामा असुरक्षा बढेको र अमेरिका आर्थिक हिसाबमा झन् कमजोर बनेको बताएका थिए । उनले भनेका छन्, ‘ट्रम्पको शासनमा धनी झन् धेरै धनी बन्दै जानेछन् भने गरीब अझै गरीब हुँदै जानेछन् ।’

जलवायु परिवर्तनको विषयमा सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई केबल सफा पानी र हावा चाहिने र यसका लागि निकै राम्रो काम पनि आफूले गरेको उल्लेख गरे । यसको लागि आफूले व्यापारमा पनि ठूलो क्षति नपुर्‍याएको बताए । प्रत्येक वर्ष अमेरिकी जंगलमा आगो लाग्नबाट रोक्न भने राम्रो वन व्यवस्थापनको जरुरी रहेको बताए ।

बहसको क्रममा ट्रम्पले आफूलाई अमेरिकी इतिहासको सबैभन्दा उत्कृष्ट राष्ट्रपति भएको बताएका थिए भने बाइडनले ट्रम्प इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भएको बताएका थिए ।

यो पनि पढ्नुहोस अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प अगाडि कि बाइडन ?

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment