Comments Add Comment

अक्टोबर १३ मा एप्पलको आइफोन-१२, चौबिसै घण्टा चल्दैछ कारखानामा काम

काठमाडौं । एप्पलले निकट भविष्यमा ल्याउने अपेक्षा गरिएको आइफोन १२ को उत्पादन तीव्र गतिमा भैरहेको छ ।

एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा मजदुरहरु २४ सै घण्टा खटिइरहेका छन्, आइफोन १२ बनाउनका लागि ।

समाचारअनुसार आइफोनको कारखानामा मजदुरहरुलाई विदा पनि दिइएको छैन र अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । उच्चतम क्षमतामा आइफोन १२ उत्पादनका लागि मजदुरहरु दिनरात काममा खटिरहेका छन् । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ ।

साउथ चाइना मर्निङ पोष्टले फक्सकनमा कार्यरत एक मजदुर वांग गोफेंगलाई उद्धृत गर्दै जनाए अनुसार गृष्मयामदेखि कम्पनीमा कामदारहरुलाई अतिरिक्त समयमा काम लगाउने क्रम बढिरहेको छ र धेरैजसो कामदारलाई महिनामा जम्मा ४ दिनमात्र विदा दिइएको छ ।

कामको उच्च चाप र तनावका बीच पनि आइफोन १२ निर्माता कारखानामा कार्यरत कामदारहरुले त्यसलाई अधिकतम रकम आर्जन गर्ने मौकाको रुपमा लिइरहेका छन् । कम्पनीले हालको समयमा मेहनतपूर्वक काम गर्ने कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन उपलब्ध गराइरहेको छ । मानिसहरु राष्ट्रिय विदाहरुमा पनि झन् काम गर्न हौसिने गरेका छन् । किनकी चिनियाँ श्रम कानून अनुसार मध्य हेमन्त पर्वको विदाको पहिलो तीन दिन काम गर्नेलाई तलबको तेब्बर भुक्तानी गर्नुपर्ने हुन्छ ।

आइफोन उत्पादक कारखाना फक्सकनले सेप्टेम्बर १८ पछि काम थालेर कम्तिमा ९० दिनसम्म जागिरमा रही कम्तिमा ५५ दिनसम्म काममा आएका कामदारलाई बोनसको रुपमा १० हजार युआन दिने बताइसकेको छ । त्यस्तै सेप्टेम्बर २६ पछि भर्ना भएका कामदारले चाहिँ बोनसको रुपमा ८ हजार ५ सय युआन पाउनेछन् ।

महामारीका कारण फक्सकन कम्पनीमा श्रमिक अभावका कारण काममा बाधा नपरोस् भन्नका लागि सरकारले पनि सघाइरहेको छ । सरकारले महामारीका कारण घरमा बसिरहेका २ लाखभन्दा धेरै कामदारलाई छिटोभन्दा छिटो कार्यक्षेत्रमा पठाउनका लागि विशेष सहुलियत प्रदान गरेको थियो । गत जून महिनामा फक्सकन कम्पनीको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५०.६ प्रतिशतले बढेको थियो ।

सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरको एक रिपोर्ट अनुसार आइफोन १२ को प्रिअर्डर चाहिँ १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment