Comments Add Comment

नेपालमा मलको माहात्म्य

नेपालमा बर्षेनी, विशेषत धान र गहुँबाली लगाउने मौसममा रासायनिक मलको हाहाकार हुने गरेको छ । यो वर्ष धानमा बाला पसाउनु अघि किसानले मल हाल्ने समयमा अभावको उत्कर्ष देखियो । कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गरिएको अवस्थामा पनि लामो लाइनमा उभिन र मलका लागि लुछाचुँडी गर्न किसान बाध्य भए ।

कोरोनाको कारणले अन्तर्राष्ट्रिय नाकामा गरिएको सिल , मल आयात गर्नका लागि छनोट गरिएको संस्थाले गरेको लापरबाही र नियमन गर्ने निकायबाट देखिएको लाचारिपन आदि विभिन्न पक्षहरु यस वर्ष मलको अभावको कारणको रुपमा व्याख्या गरिएको छ ।

यस समस्या समाधानका निमित्त देशभित्रै रसायनिक मल उत्पादनको कारखाना खोल्ने लगायतका विभिन्न कोणबाट बहस तथा छलफल भए । तर, प्राङ्गारिक मलले यो बहसमा पर्याप्त ठाँउ पाउन सकेन । सामान्य विधि प्रयोग गरी, स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्थानीय रुपमा नै उत्पादन गर्न सकिने प्राङ्गारिक मलले यो समस्याको दीर्घकालीन समाधान दिन सक्छ ।

१९औं शताब्दीमा हड्डीलाई सल्फ्युरिक एसिडसँग समिश्रण गर्दै बनाइएको सुपर पोस्पेटसँगै रासायनिक मलको विकास र प्रयोग सुरु भयो । सन् १९५० को दशक पछि बढ्दो जनसंख्याको बढ्दो माग परिपूर्तिका निमित्त कृषिमा आएको हरित क्रान्तिसँगै रासायनिक मलको प्रयोग ह्वात्तै बढ्यो ।

विकासउन्मुख राष्ट्रमा केही वर्षपछि भित्रिएको यस क्रान्तिको कारणले सन् १९७० देखि १९९५ सम्ममा उत्पादनमा ७० प्रतिशत सम्म वृद्धि भएको विभिन्न अध्ध्यनले देखाएको छ । उत्पादन बढेसँगै आम किसान माझ रासायनिक मल प्रयोग प्रतिको लगाव र विश्वास पनि बढ्यो ।

नेपालको हकमा मलका लागि परनिर्भरता, समयमा मल उपलब्ध नहुनु र प्राङ्गारिक मल उत्पादन गर्न सक्ने देशको क्षमता र यसले देशमा सिर्जना गर्न सक्ने रोजगारीका कारण पनि रासायनिक मलको विकल्प प्राङ्गारिक मललाई प्रवर्द्धन गर्नु उपयुक्त देखिन्छ ।

विश्वस्तरमा आएको यो परिवर्तनमा नेपाल अछुतो रहन सक्ने अवस्था थिएन । प्रयोगमा सरलता, प्रयोग गरेपछि खेतीबालीमा छिटो देखिने परिवर्तन र यसले ल्याएको उत्पादकत्वमा वृद्धिले गर्दा नेपालमा पछिल्लो वर्ष रसायनिक मल प्रतिको लगाव बढ्दै गएको पाइन्छ ।

बर्षौंदेखि खेतीबारीमा प्रयोग हुने गोबरे मल भन्दा रासायनिक मल प्रतिको आस्था समयसँगै बढ्दै गयो । बोक्न र प्रयोग गर्न धेरै मानिसको आवस्यकता पर्ने, गाईगोरुको सट्टा ट्याकटरको बढ्दो प्रयोगले गर्दा गाउँघरमा गाईवस्तुको पालनमा कमी र राम्रोसँग नपाकेको मल प्रयोग गर्दा यसले बालीमा देखा पार्ने विभिन्न समस्याका कारण पनि नेपाली कृषिमा घरायसी रुपमा बनाइने जैविक मलको प्रयोगमा कमी आयो ।

बढ्दो जनसंख्या र सहरीकरणले गर्दा साघुरिँदै गएको कृषियोग्य जमिनमा धेरै उत्पादन गर्नु पर्ने आवश्कताले पनि यसको प्रयोगमा बढोत्तरी भयो । अनि कृषि आधुनिकीकरणका नाममा विभिन्न निकायबाट भएको स्थानीय बिउहरुलाई विस्थापन गर्ने गरी गरिएको हाइब्रिड बिउविजनको प्रवर्द्धनले रसायनिक मलको प्रयोग बढाउन सहयोगी भूमिका खेलेको छ ।

बढ्दो रासायनिक मलको प्रयोगले माटोको उर्बरशक्ति लगायत अन्य प्राकृतिक शक्तिमा ह्रास आउने, प्रदूषणसँगै उत्पादनदेखि प्रयोग हुदाँसम्म जलवायु परिवर्तनमा सहयोग पुग्ने भनि विभिन्न अध्ययनले पुष्टि गरेपछि विश्वभर नै यस मलको प्रयोगमा कमी ल्याउन विभिन्न प्रयासहरु भए । सकारात्मक प्रतिफल ल्याएका प्रयासहरुलाई उदाहरणका रुपमा लिँदै उचित र दूरदर्शी योजनाका साथ प्राङ्गारिक मललाई प्रवदन नगर्ने हो भने नेपालमा हाल देखिएको अवस्थामा कुनै सुधार आउन सक्ने अवस्था देखिँदैन ।

सर्वप्रथम त यसरी बन्ने योजना र कार्यदिशाहरुमा किसानहरुको आर्थिक संगै अन्य आयामहरुलाई मध्यनजर गरेर बनाइउनु पर्दछ । जति सुकै मात्रामा प्राङ्गारिक मल उत्पादन भए पनि कृषकहरुले प्रयोगमा नल्याएसम्म यसको कुनै अर्थ हुँदैन । यस कुराको ज्वलन्त उदाहरण पोखरको गण्डकी उर्जा नामक एक उद्योगमा यस्तो मलको हाहाकारीमा २ सय टन भन्दा बढी मल स्टक हुनुले पनि पुष्टि गर्छ ।

यस उद्योगले मासिक २ सय टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता भए पनि हाल बजारमा माग कम भएकाले मासिक ५० टन मात्र मल उत्पादन गर्दै आएको छ । मुख्यतः उत्पादकत्वमा कमी, प्रयोग गर्दा लाग्ने खर्च र समय अनि प्रयोग गरेपछिको तुलनात्मक फाइदाले किसानहरुलाई रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलले आकर्षित गर्न सक्दछ ।

सुरुमै देशभरि नै प्राङ्गारिक मल प्रयोग गर्न लगाउनुको साटो केही निश्चित स्थानमा रासायनिक मलसँग केही अनुपातमा मिसाएर प्रयोग गर्न प्रेरित गर्दै लाने र समयसंगै रासायनिक मलको अनुपात घटाउदै लग्न प्रेरित गर्न सकिन्छ । यदि उपादक्त्वमा कमि आएमा त्यसको भरपाई गर्ने प्रणालीको सुरुवात गर्न सके प्राङ्गारिक मलको प्रयोगका लागि किसान आकर्षित हुँदै जानेछन् । पछिल्लो समय स्वास्थ्य प्रति जन संवेदनशिलता बढ्दै गएको सन्दर्भमा प्राङ्गारिक मल मात्र प्रयोग गरिएको उत्पादनलाई अर्गानिक उत्पादनको रुपमा प्रमाणीकरण र बजारिकरण गर्ने कार्यक्रम ल्याउन सकेको खण्डमा त्यसले किसानलाई अर्गानिक रुपमा उत्पादन गर्ने उत्प्रेरणा जाग्न सक्दछ ।

त्यस्तै गरेर देशभर किसानहरुको समूह वा सहकारी, गठन वा पुनर्गठन गरेर सो सहकारी मार्फत प्राङ्गारिक मल छुटमा उपलब्ध गराउन सकिन्छ । छुटसँगै सोही समूहलाई सशक्तीकरण गर्ने कार्यक्रम पनि गर्नु पर्दछ । प्राङ्गारिक मलको प्रयोग गरिने तरिकाका साथै घरमै पनि कसरी उत्कृष्ट मल बनाउन सकिन्छ भन्ने तालिम पनि प्रदान गरिनुपर्छ ।

यसरी घरमै मल उत्पादन गर्ने किसानहरुलाई आवश्यक पर्ने सामग्रीहरुमा सहयोग गर्न सके गाउँघर स्तरमा नै केही मात्रामा मलको आपूर्ति हुन सक्छ । यस्तैखाले प्रयासले गर्दा चीन लगायत अन्य मुलुकमा रासायनिक मलको प्रयोगमा कमि आएको विभिन्न अध्ययनले देखाएको छ ।

तर यी सबै गर्दा भुल्न नहुने कुरा भनेको प्राङ्गारिक मल आफैमा पूर्ण मल भने होइन । निसन्देह, रासायनिक मलहरूमा ठूलो मात्रामा मिल्दा पोषकहरू बिरुवाहरुका लागि वृद्धि चरणमा सजिलै उपलब्ध हुन्छन् । रासायनिक मलमा उपलब्ध हुने यी पौष्टिक तत्वहरुको उच्च साद्रता र पानीमा सजिलै विघटन भई पोषकहरू छोड्ने भएकाले बिरुवाले सजिलै ग्रहण गर्न सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

तर, प्राङ्गारिकमा यस्तो विशेषता हुँदै नहुने भन्ने होइन । विभिन्न अध्ययनले प्राङ्गारिक मलमा अन्य वस्तुको समिश्रण सँगै सही प्रयोगले रासायनिक मलभन्दा बढी उत्पादन भएको पनि देखाएको छ ।

अर्को भनेको चाहिँ नगरपालिकास्तरीय फोहरमा जैविक फोहर धेरै छ र यसबाट प्राङ्गारिक मल धेरै मात्रामा उत्पादन गर्न सकिने भनेर प्रचार गरिए पनि वास्तविक अवस्था त्यस्तो भने छैन । प्रतिव्यक्ति ४०० ग्राम भन्दा पनि थोरै फोहर उत्पादन हुने नेपालमा जैविक फोहरको प्रतिशत देख्दा ६० देखिए पनि तौलको हिसाबले धेरै नै थोरै हुन आउँछ ।

संकलन देखि व्यावसायिक रुपमा यसबाट मल उत्पादनमा आफ्नै कठिनाइ छन् । नेप्सेम्याक, बायोकम्प लगायत अन्य सकृय रुपमा फोहर संकलन गर्दै आएका केही संस्थाहरुले नमुनाका रुपमा मल उत्पादन गर्दै आएका पनि छन् । फोहरसँगै गाईवस्तुको मलमूत्र, कुखुराको सुली, वनमा झरेका घासपात र अन्य जैविक वस्तुहरुको प्रयोगले धेरै मात्रामा मल उत्पादन गर्न सकिने क्षमता भएको मुलुकको रुपमा नेपाललाई हेर्न सकिन्छ ।

पछिल्लो समय रासायनिक मलले मानवीय स्वास्थ्य, माटोको उर्वरशक्तिमा ह्रासका साथै वातावरणमा पारेको नकरात्मक प्रभावका कारण विश्व समुदायमा प्राङ्गारिक मलको प्रयोगलाई प्राथमिकता दिने खालका क्रियाकलाप भइरहेको अवस्था छ ।

नेपालको हकमा मलका लागि परनिर्भरता, समयमा मल उपलब्ध नहुनु र प्राङ्गारिक मल उत्पादन गर्न सक्ने देशको क्षमता र यसले देशमा सिर्जना गर्न सक्ने रोजगारीका कारण पनि रासायनिक मलको विकल्प प्राङ्गारिक मललाई प्रवर्द्धन गर्नु उपयुक्त देखिन्छ । तर, त्यसका लागि अहिलेदेखि नै उचित, दूरदर्शी, पहलकदमी योजनाका साथ अगाडि बढ्नुपर्ने हुन्छ ।

(न्यौपाने त्रिचन्द्र बहुमुखी क्याम्पस, वातावरण विभागका अध्यापक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment