Comments Add Comment

निजी ल्याबको पीसीआर परीक्षण शुल्क विवाद मिलाउने जिम्मा अफिनलाई

१८ असोज, काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् ।

अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने निजी प्रयोगशालाले पनि पीसीआर परीक्षणको शुल्क २ हजार मात्र लिने भएका छन् । पीसीआर परीक्षण प्रयोगशाला पनि सञ्चालन गरिरहेको ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण गर्ने अफिनको आग्रहपछि शुल्क विवाद टुंगो लगाउने जिम्मा अफिनलाई नै दिएको बताए । ‘अफिनको छलफलले पनि नयाँ शुल्क निर्धारण नगरे त्यसपछि के गर्ने भनेर सोच्छौं’ उनले भने ।

शुल्क विवाद टुंग्याउन स्वास्थ्य मन्त्रालयसँग छलफल गर्न समय लिइसकेको अफिनका उपाध्यक्ष कुमार थापाले बताए । उनले भने, ‘हामी शुल्क विवाद टुंग्याउन छलफलको लागि समय मागेका छौं, सधै घाटा खाएर निजीले परीक्षण गर्न सक्दैनन् ।’

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ  भन्दा लिन नपाउने निर्णय गरेको छ । तर मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनका क्रममा निजी प्रयोगशालाहरुले ३ हजार ८९९ देखि ४ हजार ४०० रूपैयाँसम्म शुल्क लिने गरेको पाइएको छ ।

त्यही अनुगमनको रिपोर्टअनुसार मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले बुधबार ८ वटा निजी प्रयोगशाला २४ घण्टाभित्र २ हजार रुपैयाँ शुल्क कायम गर्न निर्देशन दिएको छ । नभए पीसीआर परीक्षणका लागि दिएको स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालालाई र कालोबजारीमा कारबाही गरी प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

सोही दिन मन्त्रालयको चेतावनीपछि शुल्कमा पुनर्विचार गर्न निजी ल्याबले शनिबारसम्मको समय दिएका थिए । उनीहरुले ३ हजार ८९९ रुपैयाँसम्ममा पीसीआर टेष्ट गर्न सकिने भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment