Comments Add Comment

दसैंमा विदेशबाट नेपाल आउन कति सहज ?

उद्धार उडानमार्फत् स्वदेश फर्किएका नेपाली । फाइल तस्वीर

१९ असोज, काठमाडौं । प्रमुख श्रम गन्तब्य मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहन्छन् । तर यो वर्ष कोरोनाको महामारीले उत्पन्न असहज अवस्थाका कारण आधिकांश श्रमिक भने दसैंमा घर विदामा आउने योजनामा छैनन् ।

यद्यपि अहिले पनि विगतको लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन आतुर छन् । उनीहरुमध्ये धेरैको योजना दसैं मान्न घर आइपुग्न पाए हुन्थ्यो भन्ने हुनु स्वाभाविक हो ।

सरकारले मलेसियासहित खाडीका सबै गन्तव्यमा नियमित उडान खोलिसकेको छ । मलेसिया र खाडीस्थित मुलुकका दूतावासहरुको भनाइलाई मान्ने हो भने दैनिक कोटा हटाएर नियमित उडान खोलेपछि अलपत्र परेका नेपालीको अवस्था सामान्य उन्मुख भएको छ ।

सबै अहिले श्रम गन्तव्य मुलुकका नेपाली दूतावासको साझा भनाइ छ, ‘दसैंअघि फर्किन चाहने अधिकांशले मौका पाउँछन् ।’ नियमित उडान खुलेपछि घर फर्किन आतुर

रहेकाहरुले टिकट काट्ने क्रम तीव्र बनाएका छन् ।

अब समस्यामा परेकाहरुलाई प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने अवस्था हटेको छ

सरकारले भदौ १६ गतेबाट साउदी, कतार र कुवेतबाहेकका मुलुकमा शर्तसहित नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलेको थियो । त्यतिबेलैदेखि ७२ घण्टाको पीसीआर परीक्षण गरेर आएमा सीधै घर जान पाइने नियम ल्याइयो । पीसीआर नगरेका यात्रु बोकेको विमानमा आए होटलमा ७ दिन क्वारिन्टन बसेर घरमा १४ दिन होम क्वारिन्टन बस्नुपर्ने नियम बनाइयो ।

यो व्यवस्था भएसँगै गत चैत ११ मा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएदेखि विदेशमा अलपत्र हजारौं नेपालीले सजिलोसँग नेपाल फर्किन पाउने अपेक्षा गरिएको थियो । तर, दैनिक चार्टर्ड र नियमितका गरी जम्मा ५ सय जना मात्रै ल्याउन पाइने कोटा तोकिँदा समस्या भयो । त्यस्तो निर्णयको चर्को आलोचना भएपछि कोटा बढाएर ८ सय बनाइयो ।

तर, यो शैलीको नियमित अन्तर्राष्ट्रिय उडानले झन् समस्या बढायो । जताततै उडानहरु भद्रगोल भए । त्यतिबेला सीमित नियमित उडान संख्याका कारण प्रतिस्पर्धा खुम्चिएर हवाई भाडा चार गुणासम्म महँगियो । चरम समस्यामा परेकालाई टिकट पाउन मुस्किल भयो ।

यसैकारण सरकारले भदौ २५ मात्रै दैनिक ८ सय मात्रै आउन पाउने कोटाको नियम हटायो र उडान थप्ने निर्णय लियो । त्यसपछि दुबई, मलेसिया जस्ता मुलुकबाट दैनिक रुपमा उडान संख्या बढ्यो ।

पीसीआर परीक्षण सहज नभएको कारण देखाएर नियमित उडान नखोलिएका साउदी, कतार र कुवेतजस्ता देशमा पनि गत असोज १४ गतेबाट नियमित उडान सुरु भएको छ ।

विदेशस्थित नेपाली दूतावासका अधिकारीहरु ६ महिनापछि बल्ल राहतको सास फेरेको बताउँछन् । फर्किन चाहने र बाध्य श्रमिकको सूची बनाउनुपर्ने, त्यसमध्ये समस्याका आधारमा प्राथमिकीकरण गर्नुपर्ने, चार्टर्ड उडानका लागि त्यहाँका सरकारी निकायमा अनुमति माग्नुपर्ने, टिकेटिङ सरल बनाउन विमान कम्पनीका एजेन्टसँग समन्वय गर्नुपर्ने, श्रमिकलाई सूचनाहरु दिनुपर्ने लगायतका जिम्मेवारी दूतावासहरुबाट अब हटेको छ । अब नियमित उडानमा जोसुकैले पनि टिकट काटेर फर्किन सक्नेछन् । समस्यामा परेकाहरुलाई प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने अवस्था हटेको छ ।

योसँगै अब दसैंअघि नै विदेशमा अलपत्र धेरैजसो नेपाली स्वदेश आइपुग्न सक्ने अवस्था बनेको दूतावासका अधिकारीहरुको दावी छ । यस्ता नेपालीको संख्या करिब ५० हजारभन्दा बढी रहेको अनुमान छ ।

अहिले नियमित भए पनि नेपालबाट फर्किने श्रमिकहरु नभएकाले स्वदेश आउने हवाई भाडा विगतकोभन्दा महँगो तिर्नुपर्ने अवस्था पनि छ । विदेशका चालु हालतका कम्पनीले सकेसम्म श्रमिकलाई भिसा थपेर बस्न बल गरेका छन् ।

नेपालमा महामारी बढ्दो अवस्थामा देखिएकाले विदेशमा भिसा नसकिएका र अन्य समस्यामा नपरेकाहरु यो वर्ष दसैं लक्षित गरेर घर आउने अवस्था भने देखिएको छैन ।

यात्रा सहज नहुने र विदेशबाट फर्किएका हरुलाई समाजमा सहज रुपमा नलिइने अवस्थाका कारण पनि बाध्यात्मकबाहेकको अवस्थामा श्रमिकहरु कमै नेपाल आउने दूतावासका अधिकारीहरु बताउँछन् ।

यूएईबाट आधा फर्किए

कोभिड–१९का कारण सबैभन्दा धेरै श्रमिक प्रभावित भएको मुलुक यूएई हो । यूएईमा करिब ५० हजार नेपाली स्वदेश फर्किन चाहनेको सूचीमा थिए ।

त्यसमध्ये १५ हजार नेपाली चार्टर्ड उडानबाट फर्किए । शनिबारसम्म त्यहाँबाट २६ हजार ४ सयभन्दा बढी नेपाली फर्किएका छन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई र एयर अरेबियाले त्यहाँबाट नियमित उडान भरिरहेको छ ।

यूएईस्थित दूतावासकी राजदूत रिता धिताल नियमित उडान सुरु भएपछि श्रमिकलाई टिकट पाउन सहज अवस्था बनेको बताउँछिन् । ‘नियमित उडान सुरु भएपछि यहाँबाट फर्किनुपर्ने श्रमिकले सहज रुपमा टिकट पाउने अवस्था बनेकाले दूतावासलाई परेको दबाव कम भएको छ,’ उनी भन्छिन् ।

तर, नियमित उडानको टिकट अझै पनि विगतको तुलनामा महँगो भने छ । यद्यपि अलपत्र परेरै बस्नुपर्ने अवस्था भने अन्त्य भएकाले श्रमिकहरु त्यसमा पनि खुसी नै छन् ।

मलेसियाबाट हप्तामा २३ उडान

मलेसियाबाट अहिले हप्तामा २३ वटा नियमित उडान भइरहेको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसियामा चरम समस्या भोगेर बसेका श्रमिकहरु अहिले नियमित उडानबाट फर्किरहेका छन् ।

अहिले मलेसियाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, मालिन्दो एयरलाइन्स र मलेसियन एयरले नियमित उडान भरिरहेका छन् ।

राजदूत पाण्डे सुरुबाटै चार्टर्ड उडान गर्न नहुने पक्षमा थिए । नियमित उडान गर्दा भाडा पनि सस्तो हुने र धेरै श्रमिकलाई लैजान सकिने उनको तर्क थियो । कम्पनीले टिकट दिइसकेकाहरु पनि चार्टर्डका कारण अलपत्र परेको भन्दै उनले सरकारलाई नियमित उडान खोल्न पटक–पटक पत्राचार गरेका थिए ।

राजदूत पाण्डेले दैनिक ८ सयको कोटा तोकेर नियमित उडान खोलेपछि सरकारलाई प्रतिस्पर्धा खुम्चिने गरी कोटा तोक्दा त्यसको लाभ एयरलाइन्सले मात्रै पाउने र श्रमिकलाई उल्टो घाटा पर्ने भन्दै पत्र लेखेरै ध्यानाकर्षण गरएका थिए ।

कतार सरकारले कोही विदेशी श्रमिक कामविहीन भए अर्को कम्पनीमा जान दिने नीति ल्याएकाले त्यसबाट नेपालीले पनि लाभ उठाउन सक्ने दूतावासले जनाएको छ

‘दसैंअघि कोही श्रमिक घर फर्किन चाहन्छ भने यहाँबाट जान कुनै समस्या छैन,’ उनी भन्छन्, ‘नियमित उडान नखुल्दासम्म नाम टिपाउनुभएका करिब ९ हजार व्यक्ति फर्किन बाँकी हुनुहुन्थ्यो, अहिलेसम्म उहाँहरुमध्ये धेरै त गइसक्नुभयो होला ।’

मलेसियाबाट शनिबारसम्म १३ हजार ३ सयभन्दा बढी नेपाली फर्किएका छन् ।

मलेसियामा कोरोना संक्रमण नियन्त्रणमा आउने चरणमा रहेकाले कतिपयले पहिले नेपाल फर्किन चाहेपनि अब यतै बस्ने निर्णय गरिसकेको उनको भनाइ छ ।

‘पहिलो जान्छु भनेर नाम दर्ता गर्नुभएका कतिपय श्रमिक अब केही समय यतै बस्ने तय भइसक्यो,’ उनी भन्छन्, ‘कोही भिसा थपेर बस्न चाहेमा कम्पनीले पनि सहजीकरण गरेका छन् ।’

कतारको नीतिले सहज

कतारबाट पनि करिब १० हजार नेपाली चार्टर्ड उडानबाट फर्किए । अब त्यहाँ पनि नियमित उडान सुरु भएको छ । आइतबारसम्म त्यहाँबाट १३ हजार २ सय श्रमिक नेपाल आएका छन् ।

कतार एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान थालेका छन् । योसँगै अब कतारबाट फर्किन पहिलेभन्दा सहज भएको राजदूत डा. नारदनाथ भारद्वाज बताउँछन् ।

‘हामीले निकै कष्टका साथ प्राथमिकताको सूची बनाउनुपर्थ्यो अब नियमित उडानबाट फर्किन आफूलाई पायक पर्ने उडान श्रमिकले नै रोज्न पाउँछन्,’ उनी भन्छन्, ‘दसैंअघिसम्म समस्यामा परेका धेरैजसो श्रमिक घर पुग्न पाउँछन् ।’

उनका अनुसार सुरुमा नियमित उडान खुल्दा टिकट दर महँगो देखिएको थियो । १४३० दिराममा भइरहेको चार्टर्ड उडान भन्दा १९ सय दिरामसम्म नियमित उडानको भाडा देखिएपछि श्रमिक आत्तिएका थिए ।

तर, दूतावासले एयलाइन्ससँग पहल गरेर १६५० सम्म भाडादर झारेको छ । यात्रु चाप घट्दै गएपछि टिकट दर अझै सस्तिने राजदूत भारद्वाजले बताए ।

यदि कोही श्रमिक टिकट काट्न नसकेर अलपत्र पर्ने अवस्था आएर नेपाली दूतावास, गैह्रआवासीय नेपाली संघ र त्यहाँका विभिन्न सामाजिक संघसंस्थाले बनाएको कोषको रकम उपयोग गरेर निःशुल्क फर्काइने उनको भनाइ छ ।

‘२७ लाखको कोष बनाएका छौं, कोही समस्यामा पर्नुभयो भने हामी उहाँलाई सघाउँछौं,’ उनले भने, ‘सरकारले ल्याएको निःशुल्क उद्धारको निर्देशिकाको मापदण्डमा पर्नेलाई त्यसबाटै सेवा दिन्छौं ।’ अब दसैं–तिहारमा घर फर्किन चाहनेले रोकिए बस्नु नपर्ने राजदूत भारद्वाजले बताए ।

कतार सरकारले कोही विदेशी श्रमिक कामविहीन भए अर्को कम्पनीमा जान दिने नीति ल्याएकाले त्यसबाट नेपालीले पनि लाभ उठाउन सक्ने दूतावासले जनाएको छ ।

यसले गर्दा कतारमा कामविहीन भएका नेपालीहरु पनि अन्य कम्पनीमा जोडिन थालेको र यही बेला नियमित उडान खुलेकाले अवस्था सामान्य हुन थाल्ने राजदूत भारद्वाजको अनुमान छ ।

साउदीको समस्या समाधानउन्मुख

साउदी अरेबियाबाट १२ हजार नेपाली चार्टर्डबाट फर्किएका थिए । त्यहाँ पनि नियमित उडान सुरु भएपछि घर फर्किन नपाइने त्रासमा बसेका नेपालीले राहतको सास फेरेका छन् । त्यहाँबाट अहिलेसम्म १४ हजार ४ सयभन्दा बढी नेपाली फर्किसके ।

साउदीबाट नेपाल फर्किन चाहनेको सूचीमा अझै १४ हजार नेपाली छन् । त्यसमध्ये केही श्रमिक त्यहाँ अवस्था सामान्य हुँदै गएकाले अब तत्कालै नफर्किने मानसिकतामा पुगेका छन् ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुत अब श्रमिकहरु आफैंले उपयुक्त दिनमा टिकट काटेर फर्किन सक्ने भएकाले अवस्था समान्यीकरणतर्फ अघि बढेको बताउँछन् ।

‘टिकट काटेर जान नसक्नेलाई सघाउँछौं,’ उनले भने, ‘एयरलाइन्सले चाप अनुसार उडान थप्ने भएकाले फर्किनुपर्ने बाध्यतामा रहनुभएकालाई अब विगतकोजस्तो अप्ठेरो अवस्था रहन्न ।’

त्यहाँबाट हिमालय एयरलाइन्सले मात्रै नेपालमा नियमित उडान भर्छ । त्यसैले हिमालय एयरलाइन्सलाई उडान संख्या बढाइदिन दूतावासले पहल गरिरहेको छ ।

कुवेतमा सजिलो अवस्था

कुवेतबाट चार्टर्ड उडानमार्फत करिब ६ हजार नेपाली फर्किएका थिए । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी जजिरा एयरलाइन्सले कुवेतबाट नियमित उडान थालेपछि अवस्था समान्यतर्फ उन्मुख भएको बताउँछन् ।

महामारी अघिसम्म कुवेतबाट सीधै नेपालमा उडान हुँदैनथ्यो । तर, कुवेतमा अलपत्र करिब ३ हजार नेपालीलाई त्यहाँको सरकारको खर्चमा चार्टर्ड गरेर नेपाल ल्याएपछि उसले हप्तामा ४ वटा नियमित उडान गर्ने गरी अनुमति पाएको छ ।

राजदूत भण्डारीका अनुसार नियमित उडान नखुल्दासम्म कुवेतमा नेपाल फर्किन नाम टिपाएकाहरुमध्ये करिब २ हजार जना मात्रै फर्किन बाँकी थियो । कुवेतबाट फर्किनका लागि करिब १० हजारले दूतावासमा नाम टिपाएकोमा ६ हजारभन्दा बढी श्रमिकलाई चार्टर्ड विमानबाट नेपाल ल्याइएको थियो । त्यहाँबाट आइतबारसम्म ८ हजार ८ सयभन्दा बढी नेपाली फर्किसकेका छन् ।

‘अब यहाँ श्रमिक अलपत्र पर्ने खालको खासै समस्या छैन,’ उनी भन्छन्, ‘आफूलाई पायक पर्ने दिनमा आफ्नो गच्छेअनुसारको भाडादर हेरेर नियमित उडानबाट श्रमिक फर्किन सक्छन् ।’

नेपाली दूतावासहरुले कम्पनीहरुले आफैंले विमानमा श्रमिक ल्याइदिन चाहे चार्टर्ड उडानको अनुमति दिन सरकारलाई सिफारिस गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment