
म्यूजिक भिडियोको दुनियाँमा नायक पल शाहको एकछत्र राज छ । लकडाउन खुकुलो भएपछि पलले दर्जनौ भिडियोमा काम गरे । बजारमा पलका केही भिडियो आएको र गएको पनि थाहा हुन छोडेको छ । लकडाउन खुकुलो भएपछि पलले खेलेका केही भिडियो चलेपनि यसपछि भने निरन्तर उनी अभिनित भिडियो असफल भैरहेका छन् । पलको भिडियो धेरै आउँदा दर्शक नै कन्फ्यूज हुने अवस्था छ ।
पहिलो चरणको लकडाउन खुकुलो भएसँगै पलले मोडल रियाशा दाहालसँग ‘ए है माया’ बोलको गीतमा काम गरे । यो भिडियो र गीत दुबै चल्यो । हालसम्म यो भिडियोलाई १ करोड ८० लाख भन्दा बढी पटक हेरिएको छ । यो गीतले भिडियोका निर्मातालाई राहत दियो ।
यसपछि, रियाशा र पलको जोडीलाई लिएर भिडियो बनाउन केही मेकर कस्सिए । पल र रियाशाले ‘लाइदिम कि मोहनी’ बोलको गीतमा काम गरे । सार्वजनिक भएको करिब डेढ महिनामा भिडियोलाई १९ लाख बढी पटक हेरिएको छ । यो गीतले औषत चर्चा पायो । पल र रियाशाको जोडी यो गीतबाट जमेन ।
पल र रियाशाले अर्को भिडियो ‘जाले रुमाल’मा काम गरे । सार्वजनिक भएको एक सातामा यो गीतलाई १२ लाख पटक हेरिएको छ । गीतले बजारमा औषत चर्चा पाएको छ । यो गीतबाट पनि पल र रियाशाको जोडी खासै जमेन ।
पल र रियाशाको जोडीलाई नै लिएर गायक हेमन्त शर्माले ‘तिमी बाहेक’ बोलको गीत बनाए । नितिन चन्दले यो भिडियोको निर्देशन गरेका हुन् ।
सार्वजनिक भएको ३ दिनमा यो गीतलाई २ लाख बढी पटक हेरिएको छ । पल र रियाशाले लकडाउन खुलेपछि ४ वटा भिडियोमा काम गरेका छन् । जसमा, ‘ए है माया’मा जस्तो यी दुइको जोडी अरु गीतमा जम्न सकेन ।
पलले धेरै भिडियो खेल्नु, बजारमा दैनिक आधा दर्जन गीत सार्वजनिक हुनुको असर पल अभिनित भिडियोलाई परेको देखिन्छ ।
प्रतिक्रिया 4