Comments Add Comment

गाडी नबिक्दा मुख्य सिजनमै सुस्तायो ‘हायर-पर्चेज’ कर्जा

२० असोज, काठमाडौं । विगत वर्षहरुमा दशैं नजिकिँदै गर्दा अटो व्यवसाय निकै मौलाउने गथ्र्यो । व्यवसायीहरुले दशैंका लागि भन्दै आकर्षक आकर्षक अफरहरु ल्याउँथे र उपभोक्ता पनि यही अवसर पर्खेर बसेका हुन्थे ।

सवारीसाधनको महामेला नाडा अटो शो पनि दशैं अगाडि नै हुन्थ्यो । वर्षभरी हुने व्यापारकै हाराहारीमा ५ दिन लाग्ने मेलामा व्यापार हुँदा व्यवसायीहरु दंग पर्थे । तर यसपाली भने कोभिडका कारण परिस्थिति बेग्लै छ । अटो व्यवसायीहरु निराश छन् । अटो व्यवसायमा सुस्तता छाएपछि त्यसको असर बैंकहरुसम्म पुगेको छ ।

यतिबेला बैंकमा लगानीयोग्य रकम थुपि्रएको छ । प्रक्रिया पुर्‍याएर जाने हो भने बैंकले सहजै कर्जा दिन तयार हुन्छन् । तर न गाडीको किनबेचै नगण्य भएपछि कर्जाका लागि बैंकमा पुग्ने ग्राहकको संख्या पनि पातलो छ । ६ महिनासम्मको लकडाउनले धेरै नेपालीहरुको आर्थिक अवस्था डामाडोल भएकाले नयाँ गाडी किन्नेहरुको संख्या ह्वात्तै घटेको हो ।

लकडाउनपछि खुलेको बजारमा दुईचक्के सवारी साधनको व्यापार ठीकै भए पनि चारचक्केको व्यापार अत्यन्तै न्युन रहेको व्यवसायी बताउँछन् । जसका कारण बैंकहरुले यसपटक हायर पर्चेजमा पर्याप्त कर्जा लगानी गर्न पाएका छैनन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बन्दाबन्दीको बेला मात्रै नभई बन्दाबन्दी खुलेपछि पनि हायर पर्चेज कर्जामा लगानी बढ्न नसकेको बताउँछन् । अर्थतन्त्र सिथिल अवस्थामा रहेको र आर्थिक गतिविधिहरु पनि ठप्प भएका कारण कर्जा लगानी सुस्ताउनु स्वभाविक भएको उनको भनाइ छ ।

‘कोरोनाका कारण सबैभन्दा बढी प्रभावितमा पर्यटनपछि यातायात पनि भएकाले हायर पर्चेजमा लगानी बढ्न अझै केही समय लाग्न सक्छ,’ उनले भने ।

नाडा अटो मोबाइल्स एसोसिएसनका सदस्य निराकर श्रेष्ठ यसपाली व्यवसायमा निकै ठूलो नोक्सानी पुगेको बताउँछन् । दुईचक्के सवारीसाधनहरुको व्यापार भए पनि चारचक्केको नगण्य रहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार विगतमा यो सिजनमा वर्षभरी हुने कारोबारको ३० देखि ३५ प्रतिशतसम्म हुने गर्थ्यो ।

‘डेढ लाखदेखि नै किन्न सकिने भएकाले दुईचक्के सवारीसाधनहरु अलिअलि गइरहेको हुनसक्छ,’ उनले भने, ‘तर चारचक्केको त व्यापार नै छैन भन्दा पनि हुन्छ ।’

गत वर्ष पनि घटेको थियो

गत आर्थिक वर्षमा करिब ४ प्रतिशतले हायर पर्चेज कर्जा घटेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्ष अर्थात २०७६/७७ मा ३ दशमलव ८१ अंकले हायर पर्चेज कर्जा घटेको छ ।

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३२ खर्ब, ४५ अर्ब २३ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका छन् । जबकि असार मसान्तसम्म कुल कर्जा ३२ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो । एक महिनाको अवधिमा २१ अर्ब रुपैयाँभन्दा धेरै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी घटेको छ ।

एक वर्षको अवधिमा कुल कर्जा २१ अर्ब रुपैयाँले घट्दा हायर पर्चेज कर्जा १२ अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकका अनुसार २०७६ साउनमा १ खर्ब ८३ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लगानी थियो । यो घटेर २०७७ साउनमा १ खर्ब ७१ अर्ब ६६ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

एक महिनाकै तथ्यांक हेर्ने हो भने पनि साढे ३ अर्ब रुपैयाँले हायर पर्चेज कर्जा घटेको छ । असार मसान्तमा १ खर्ब ७४ अर्ब ५ करोड रुपैयाँ लगानीमा रहेको यस्तो कर्जा साउनमा घटेर १ खर्ब ७१ अर्ब ६६ करोड रुपैयाँमा झरेको हो ।

पछिल्लो ४ वर्षको तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षमा मात्रै हायर पर्चेज कर्जा घटेको छ । त्यस अघिका आर्थिक वर्षहरुमा हायर पर्चेज कर्जाहरु बढेको थियो । २०७४ असार मसान्तमा १ खर्ब ५० अर्ब ४० करोड रुपैयाँ रहेको हायर पर्चेज कर्जा २०७५ असारमा १ खर्ब ७१ अर्ब ५ करोड रुपैयाँ पुग्यो । अर्को वर्ष २०७६ असारमा पनि बढेर १ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा हायर पर्चेज कर्जा लगानी कम हुनुको कारण पनि कोभिड नै भएको राष्ट्र बैंकका प्रवक्ता भट्ट बताउँछन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमै कोरोना महामारी शुरु भएका कारण त्यसको असर कर्जा लगानीमा देखिएको छ ।

पुराना कर्जाहरुको अवधी पुगेर ऋणीहरुले तिरिसकेको तर नयाँ लगानी नभएका कारण कर्जा कम देखिएको भट्टले बताए । अहिले लकडाउन खुले पनि सर्वसाधारणमा अझै आत्मविश्वास नभएकाले तत्कालै धेरै बढिहाल्ने सम्भावना पनि नरहेको उनको भनाइ छ ।

दशैंपछि के होला ? 

कोरोना महामारीपछि उद्योग-व्यवसाय विस्तार हुने सबैको अपेक्षा छ । तर महामारीको अन्त्य अनिश्चित भएकाले तत्कालै हायर पर्चेज कर्जा लगानी धेरै बढ्ने सम्भावना छैन । यद्यपि, बन्दाबन्दीका तुलनामा भने पक्कै बढ्ने छ ।

भदौ र असोजको तथ्यांक आउन बाँकी छ, जुन सवारी साधन विक्रीका लागि प्रमुख सिजन मानिन्छ । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले पनि यसपालीको सिजनालाई कोभिडले बर्वाद पारेको बताउँछन् । हायर पर्चेज कर्जा विगतको भन्दा धेरै कम गइरहेको अध्यक्ष दाहालले बताए ।

‘जाँदै नगएको होइन, गएको छ, इम्पोर्टको लागि एलसीहरु खोलिएको छ,’ उनले भने, ‘तर विगतको जस्तो अवस्था भने छैन, मूख्य सिजन दशैं-तिहार भए पनि खासै माग बढेको छैन ।’

कोभिडका कारण धेरैको आम्दानी घटेका कारण पनि त्यसको असर यता परेको उनले बताए  । दशैंलगत्तै पनि कर्जा निकै ठूलो परिमाणमा विस्तार भइहाल्ने अवस्था नरहेको उनको आँकलन छ।

नाडाका सदस्य निराकर अहिले नै भविष्यको अनुमान गर्न नसकिने बताउँछन् । कोरोनाको जोखिम झन् बढ्दै गएको र अवस्थामा दशैंपछिको अवस्था कस्तो हुन्छ भनेर अहिले भन्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment