Comments Add Comment

दशैंअघि बनिसक्लान् वर्षातमा बिग्रिएका सडक ?

२१ असोज, काठमाडौं । दशैं आउन दुई साता मात्रै बाँकी छ, अहिले देशभरका धेरै राजमार्ग र सडकहरुको अवस्था वर्षातका कारण चुस्त छैन । यसले गर्दा ‘दशैं यात्रा’ सजिलो र सुरक्षित नहुने हो कि भन्ने डर रहेको बताउँछन् यातायात व्यवसायीहरु ।

कतिपय स्थानमा सडकमा पहिरो खसेका छन् भने भने कतिपय मर्मत नगरी सवारी चलाउन समस्या छ । कतिपय सडकको पुल नै बगाएर समस्या भएको छ भने कतिपय सडक सञ्चालनमा रहेपनि खाल्डाखुल्डीले गर्दा समस्या छ ।

सडक विभागको भनाइ पत्याउने हो भने राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम सुरु छ, दशैंका लागि घर फर्किने यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम गरिसक्ने दावी सडक विभाग छ ।

महामारीका कारण यो वर्षको दशैंमा काठमाडौंबाट मात्रै करिब ५ लाख यात्रु बाहिरिने अनुमान छ । यस्तै विभिन्न शहरमा बसेकाहरु गाउँघर फर्किने भएकाले यो दशैंमा ठूलो संख्यामा यात्रुको आवागमन हुन्छ । दशैंमा टीका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तब्यबाट अर्को गन्तब्यमा पुग्छन् ।

सामान्यभन्दा धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने बेला आइसक्दा पनि राजमार्गको खाल्डा पुर्न चासो नदिइएको गुनासो स्थानीयहरुले गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैंअघि नै सडकहरुको चुस्त बनाउनुपर्ने बताउँछन् । ‘यात्रुको सुरक्षाको प्रश्न त छँदैछ, सडकको दुरावस्थाले सवारी सञ्चालन गर्नै असहज हुने हुनसक्छ,’ उनले भने, ‘जसरी हुन्छ दशैंको आवागमन बाक्लिनुअघि नै सडकको अवस्था सुधार्नुपर्छ ।’

‘दशा बन्न सक्छ यात्रा’

हुन त सडक विभागले दशैंअघि नै मुख्य तथा सहायक राजमार्गका सडकका खाल्डाखुल्डी पुरेर यात्र सहज बनाउने दावी गरेको छ । तर, समय निकै कम भएकाले दशैंअघि नै खाल्डा पुर्ने काम सम्पन्न हुनेमा शंका छ ।

हुन त सरकारले यस वर्षबाट नागरिकलाई खाल्डाबाट जोगाउन भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त कर असुलिरहेको छ । तर, समयमै खाल्डा पुर्न र यातायात आवागमन सहज बनाउन भने चुकेको छ ।

उपभोक्ता अधिकारवादी रामकुमार थापा अहिले सडकहरुको अवस्था दशा निम्त्याउने खालको भएको टिप्पणी गर्छन् ।

‘दशैंमा सवारी साधनमा यात्रुको चाप हुन्छ, जति पनि यात्रु बोकेर दौडिएका बस कहाँ, कुन खाल्डोमा जाकिने हुन पत्तो छैन,’ उनले भने, ‘बेलैमा सडक मर्मत गरे विगतमा जस्तो दशैंमा दुर्घटना बढ्ने थिएन ।’

हाल पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डहरुमा खाल्डा र भ्वाङ छन् ।

वर्षाका कारण भत्किएका सडक दशैंअघि मर्मत गरिसक्न यातायात व्यवसायीले माग गरिरहेका छन् ।

खाल्डा पुर्ने चटारो

सडक विभागका महानिर्देशक केशवकुमार शर्मा सबै सडक डिभिजन कार्यालयलाई दशैंअघि आफ्नो कार्यक्षेत्रभित्रका सडकको खाल्डा पुर्न निर्देशन दिइएको बताउँछन् । त्यसअनुासर काम पनि सुरु भएको उनको भनाइ छ ।

उनले दशैंमा सवारी साधनको चाप बढ्ने भएकाले आवागमनलाई सुचारु राख्न र सवारी तथा यात्रुको सुरक्षाका लागि पनि दशैंअघि सबै सडकका खाल्डा पुरिने बताए ।

तर, वर्षा जारी रहेकाले काम सुरु तीव्र पार्न नसकिएको सडक डिभिजनका अधिकारीहरुको भनाइ छ । पानी परिरहँदा पुरिएका खाल्डा निष्प्रभावी भएकाले मौसममा सुधार आएपछि काम सुरु गर्ने उनीहरुको भनाइ छ । विभागका महानिर्देशक शर्मा भने अब ढिलाइ नगरी खाल्डा पुर्न तीव्र पारिने दावी गर्छन् ।

स्थानीय प्रहरीले पनि सडकको खाल्डा छिटो पुरिदिन आग्रह गर्दै आएको छ । राजमार्गमा मात्रै नभएर अहिले राजधानीभित्रैका सडकमा पनि ठूला-ठूला खाल्डाहरु परेका छन् । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा अप्ठ्यारो हुने गरेको छ ।

सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा बढी पीडित छन् । राजमार्ग र शहरी सडकमा सवारी चाप उच्च भएकाले सानो खाल्डो दिनानुदिन ठूलो बन्ने गरेको छ । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र वर्षा हुनासाथ पानी जम्ने समस्या छ ।

सडकको खाल्डाका कारण स्थानीय बासिन्दा साथै ब्यापारीहरु पनि प्रभावित हुने गरेका छन् । चाबहिल, पुतली सडक लगायतका सडकमा तत्कालै कालोपत्रे गर्ने योजना बनाएपनि काम सुरु भएको छैन । महानिर्देशक शर्मा दशैं अघि नै पुतलीसडकमा कालोपत्रे गरिसक्ने बताउँछन् ।

नाकाका सडक दयनीय

अहिले काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, बालाजु, सितापाइलालगायतका नाका जोड्ने सडकहरुको अवस्था दयनीय छ । उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार गर्न विभागले पर्याप्त ध्यान दिएको छैन ।

प्रायः अहिले काठमाडौंका सबै नाकाको सडक विस्तारको लागि ठेक्का लागेको छ । कतिपय सडक त काम हुनै नसकेर रुग्ण बनेका छन् । त्यसमाथि वर्षाका कारण ती सडकमा खाल्डा थपिएका छन् । सडक विस्तारको काम बेलैमा नसकिँदा यो सडक वर्षौंदेखि बेहाल अवस्थामा छ ।

रसुवा र नुवाकोट जाने नाकाहरुको अवस्था पनि उस्तै छ । टोखा र ककनी जाने सडकमा पनि विस्तारको ठेक्का लागेको छ । तर, काम कछुवाको गतिमा हुँदा यी सडकमा खाल्डैखाल्डा छन् ।

लामो समयदेखि विस्तारको काम चलिरहेको चाबहिल-साँखु सडकको प्रगति पनि ज्यादै कमजोर छ । यो राजधानीकै सबैभन्दा धेरै लापरवाही भएको सडकखण्ड हो । स्थानीयहरु पटक-पटक आन्दोलनमा उत्रिँदा पनि सडक विभाग र ठेकेदार कम्पनीले यो खण्डको विस्तारमा तीव्रता दिन सकेको छैन ।

काठमाडौंका करिडोर सडकको हालत पनि उस्तै छ । सडक मर्मत गर्न एउटा मात्रै निकाय जिम्मेवार छैनन्, सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरु विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।

तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरुले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सवारी चलाउनै मुस्किल हुने अवस्था आएको छ ।

दशैंमा केही सडक नखुल्ने

दशैंमा खाल्डा पुर्ने काम भएपनि केही राजमार्गहरु भने नखुल्ने निश्चितजस्तै भएको छ । साँफेबगर-मार्तडी सडक खण्डमा रहेको बुढीगंगा नदीमा बेलिबि्रज हाल्ने काम दशैंअघि नसकिने भएको छ ।

खोलाको बीचमा पनि पिल्लर उठाउनुपर्ने भएपछि दशैंअघि नै यो बाटो खुलाउन नसकिने अवस्था आएको विभागका महानिर्देशक शर्माले बताए ।

मनाङ जोड्ने बाटो भने दशैंअघि नै खुल्ने भएको छ । घोप्टेखोलामा पुल जडानको काम भइरहेकाले बिहीबारसम्म काम सकेर सडकमार्ग सञ्चालनमा ल्याउने योजना रहेको शर्माले बताए ।

अरु राजमार्गहरु भने दशैंअघिसम्म खुलाइसक्ने विभागको भनाइ छ । कतिपय ग्रामीण सडक खुलाउन भने समस्यमा छ । जिल्ला सदरमुकामबाट गाउँ जाने धेरै सडकमा पहिरो खसेका छन् । यस्ता सडकहरु खुलाउन स्थानीय तह तर प्रदेश सरकारहरु लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment