Comments Add Comment

कोरोना कहरबीच वैदेशिक लगानी प्रतिबद्धतामा उत्साह

२१ अर्ब लगानी प्रस्ताव लिएर चिनियाँहरु नेपाल भित्रिए

२२ असोज, काठमाडौं । कोभिड १९ कारण अर्थतन्त्र केही शिथिल भए पनि यस अवधिमा वैदेशिक लगानी प्रतिबद्धता भने बढ्दो क्रममा देखिएको छ ।

कोभिडका कारण लकडाउन सुरु भएदेखि ७ वटा मुलुकबाट १ सय ३२ परियोजनामा २६ अर्ब नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत ११ चैतदेखि १३ असोजसम्म ती लगानी प्रतिबद्धता आएको विभागका निर्देशक एवं सूचना अधिकारी बिनोद खड्काले बताए ।

यस अवधिमा ११९ वटा उद्योगमा २१ अर्ब लगानी प्रस्ताव लिएर चिनियाँहरु नेपाल भित्रिएका छन् । यस्तै भारतबाट ६ वटा उद्योग, बेलायत र नेदरल्याण्ड्सबाट दुई–दुई वटा, मेक्सिको, मलेसिया र ब्रिटिश भर्जिन आईल्याण्डबाट एक–एक वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

वैदेशिक लगानीका कुल परियोजनामध्ये १३० वटा साना, एक मध्यम र एक ठूलो उद्योग रहेका छन् । प्रतिबद्धताअनुसार सबै परियोजनाका लागि लगानी आए चार हजार दुई सय १७ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

आर्थिक वर्षको महत्वपूर्ण र अनुकूल समयमा कोभिड संकट सुरु भए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७६/०७७ मा ४९.१ प्रतिशतले वैदेशिक लगानी प्रतिबद्धता थपिएको उद्योग विभागले जनाएको छ । आर्थिक वर्ष ०७५/७६ मा २५ अर्ब ४८ करोड कुल वैदेशिक लगानी भित्रिएकोमा ०७६/७७ मा लगानी बृद्धि भएर ३८ अर्ब ८७ करोड बराबर पुगेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ८३ वटा परियोजनाका लागि १७ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यीमध्ये एउटा ठूलो, एक मध्यम र ८१ वटा साना उद्योगमा लगानी प्रस्ताव आएको हो ।

जलविद्युतमा ठूला र होटल तथा रेष्टुरेण्टमा साना लगानी प्रतिबद्धता आएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बताए । ‘कोभिडका कारणले अवस्था जटिल भएपनि नेपालमा लगानी गर्न लगानीकर्ता उत्सुक देखिएका छन्,’ महानिर्देशक भुसालले भने । यस अवधिमा चीनबाट लगानी भित्रिने संख्या बढेको र भारतबाट थोरै भए पनि गुणस्तरीय प्रतिबद्धता आएको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment