Comments Add Comment

कुलमान र बिजुली

अहिले देशमा कुलमान र बिजुली पर्यायजस्तै भएका छन् । सायद नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुभन्दा अगाडिसम्म, सम्बन्धित विभागका कर्मचारीबाहेक सामान्य नागरिकमध्ये निकै कमैले मात्र कुलमान घिसिङ भन्ने मान्छेलाई चिनेका थिए ।

अहिले हाम्रो देशमा बिजुलीबत्ति बाल्ने लगभग सबै नागरिकहरुमाझ कुलमान घिसिङ परिचित छन् । स्वदेशमै भएको समयमा एक हप्ताको लोडसेडिङकै तालिका हेर्नको लागि मात्र भनेर कलेजबाट फर्किँदाखेरी एउटा स्थानीय पत्रिका किनेर लाने गरेको सम्झना ताजा छ । त्यतिखेर विदेशतिर भएका दिदीबहिनी, दाजुभाइ तथा साथीहरूसँग अनलाइन कुराकानी गर्नको लागि देशको लोडसेडिङको जानकारी गराइन्थ्यो र विदेशतिर लाइनै नजाने कुरा सुन्दा अनौठो लाग्दथ्यो ।

तर, चार वर्षको अन्तरालमा नेपालमै लोडसेडिङको झन्डै अन्त्य भयो । दैनिक गुजारा चलाउने आम्दानीका स्रोतहरू जस्तै: गाई, भैंसी वा बाख्रा समेत बेचेर किनेका इन्भर्टरहरू बेकार भएको खबर सुन्दा पनि कम्ति अनौठो लागेन । देशमा उज्यालो वा अँध्यारो भएको विदेशमा जहाँ भए पनि तुरुन्तै थाहा हुँदोरहेछ ।

देशमा गृहयुद्ध चलिरहेको बेलादेखि सुन्दै आएको र मेरो दिमागमा खेलिरहेको ‘कायापलट’ शब्दको अर्थको अनुभूति गराएका छन् कुलमानले । देशको हरेक क्षेत्रमा भइरहेको अस्तव्यस्त अवस्थाबाट अभ्यस्त भएका आम नागरिकदेखि लिएर सायद कुलमान आफैंले पनि यो नतिजाको आशा गरेका थिएनन् होला ।

अहिले कुलमान स्वदेशमा मात्र नभएर विश्वभरि छारिएर रहेका आम नेपालीहरूको कुराकानीको विषय बनेका छन् । विद्युत उत्पादन र ब्यवस्थापनले नोक्सानी व्यहोर्नुपरेका र उनकै जिम्मेवारी सम्हाल्न नपाएर रुष्ट भएकाबाहेक उनको प्रशंसा नगर्ने सामान्य नेपाली नागरिक भेट्न गार्है पर्ला ।

पक्कै पनि यो चार वर्षमा कुलमान एक्लैले यो सफलता प्राप्त गरेका होइनन् । एकल प्रयासमा यो सम्भव थिएन र एउटा ठूलो टिमलाई हाँक्न कुलमान सफल भए । त्यसैले, बालुवाटार र सिंहदरवार भित्रबाट हामीले गर्दा लोडसेडिङ अन्त भयो भनेर लाज नमानी चिच्याउनेबाहेक विद्युत प्राधिकरणका सम्पूर्ण कर्माचरीलाई यसको श्रेय जान्छ ।

देशमा भइरहेको प्राकृतिक विपत्तिहरु, मौसम परिवर्तन सँगसँगै कुलमानको बहिर्गमन अनौठो संयोग बनेको छ । विभिन्न प्राकृतिक एवं प्राविधिक कारणले होला केही दिनदेखि विद्युत सेवा निरन्तरजस्तै अवरोध भइरहेको समाचार आइरहेको छ । यसलाई धेरै मानिसले कुलमान सँगसँगै, सुधारिएको विद्युत सेवाको पनि अन्त्य भएको महसुस गरेका छन् ।

सामान्य प्राविधिक गडबडीले विद्युत प्रशारणमा आएको अवरोधलाई नै आधार मानेर कुलमानको अनुपस्थितिको नतिजा भनेर सामान्यीकरण गरिहाल्नु सान्दर्भीक नहोला । तर कुलमानको कार्यकाल सकिनेबित्तिकै इन्भर्टरलगायत विद्युतको विकल्पका सामाग्रीको धेरै किनबेच भएको समाचारले निकै गम्भीर प्रश्न उब्जाएको छ ।

कुलमानको कार्यकाल समाप्त भएपश्चात नयाँ ‘कार्यकारी निर्देशक’ चयन हुन सकेको छैन । जनमानसबाट कुलमानको निरन्तरताको लागि नारा-जुलुससमेत भइराखेका छन् । सायद सरकार पनि यो विषयमा गम्भीर भएको हुनुपर्छ । किनकि दुई चारजना ठूला भनाउँदाहरुको मनोकांक्षालाई जनताले सहजै स्वीकार गर्दैनन् भनेर जनताले पाठ पढाइसकेका छन् ।

हाम्रा निर्लज्ज नेताहरुले बोलीमा र कागजमा हाम्रो देशलाई सिंगापुर र स्विट्जरल्याण्ड बनाइसके । तर नेपाल नै बनाउनको लागि हाम्रो देशको भौगोलिक र प्राकृतिक अवस्थाअनुसार कृषि, विद्युत र पर्यटन सबैभन्दा प्रभावकारी र दीर्घकालीन आर्थिक स्रोतका माध्यम हुन् । यी तीन चिजको विकासले मात्र देशलाई समृद्धितिर डोर्याउन सक्छ ।

यी तीन चिजमध्ये विद्युतलाई अझै बढी प्राथमिकता दिनुपर्छजस्तो लाग्छ । किनकि हरेक कुराको लागि विद्युतले सहजीकरण गर्न सक्छ । त्यसैले, अब कुलमानको पालाको चुनौतीहरु पनि कम छैनन् । अब शहरदेखि गाँउ-गाँउसम्म खाना पकाउनको लागि विद्युतीय चुलो बाल्नु छ । राजमार्गलगायत शहरका सडकमा चौबिसै घण्टा काम गर्ने गरी सडकबत्ति र ट्राफिक-लाइट जडान गर्नु छ ।

हिमाली भेगका घर तथा होटेलमा हिटर जोड्नु छ । अनि तराईका घरहरुमा एसी जोड्न पनि बाँकी नै छ । ठाउँ ठाउँमा ठूलाठूला कोल्ड स्टोरहरू खोलेर किसानले उत्पादन गरेका फलफूल-तरकारीहरूलाई लामो समयसम्म सुरक्षित राख्ने पूर्वाधार पनि बनिसकेका छैनन् । सकेसम्म छिट्टै फ्रिजर सहितकै गाडीमा दुध, माछा-मासु, तरकारी फलफूल लगायतका खाद्यवस्तुहरू ओसारपसार गर्ने ब्यवस्था मिलाउनु छ ।

औद्योगिक क्षेत्रमा चौबिसै घण्टा काम भइरहने हुनाले दिउँसो तथा राति नै थाहा नहुने गरि उज्यालोको व्यवस्था गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । स्वास्थ्य, शिक्षा, प्रशासनिकलगायत अन्य अधिकांश क्षेत्रमा विद्युतीय सामाग्रीबाट कार्यसम्पादन हुने हुँदा केहि मिनेटमात्र विद्युत अवरोध हुँदा पर्ने असरको आकलन गरी त्यही अनुसारको योजना र व्यवस्थापन गर्नु पनि कम चुनौतिपूर्ण छैन ।

उत्पादन तथा उचित वितरणबिना ग्याँस, डिजेल तथा पेट्रोलको आयात बन्द गर्न पनि सम्भव छैन । आठदश वर्षभित्रै ग्याँस, पेट्रोल तथा डिजेलको निर्यातलाई घटाउँदै लगेर अहिलेको आयातको १० प्रतिशतमा झार्नुछ । आगामी २० वर्षमा डिजेल तथा पेट्रोल गाडीको आयात पूर्ण प्रतिबन्ध लगाउने लक्ष्य राखी त्यसको लागि व्यापक अध्ययन गरी ठूलो संख्यामा र ठाउँठाउँमा विद्युत गाडीहरूको लागि चार्जिंग स्टेसनहरु बनाउन तत्काल सुरु गरियन भने लक्ष्यप्राप्त गर्न कठीन हुन सक्छ ।

माथि उल्लेखित केही योजनाहरु, महत्वाकांक्षी देखिए पनि देशको अवस्था र विश्वमा भइरहेको परिवर्तनअनुसार दीर्घकालीन योजनाकै रुपमा सुरुआत गरिनुपर्ने आवश्यकता हुन् । अब नेपालमा लोडसेडिङको अन्त भैसक्यो, अब प्राधिकरण हाँक्ने मान्छेले लोडसेडिङ कम गर्ने नभएर माथि उल्लेखित महत्त्वाकांक्षी योजनासहित अघि बढ्नु जरुरी छ ।

कठिन जीवनयापन गरिरहेका जनताहरुको जीवनस्तरमा आमुल परिवर्तन ल्याएर देशलाई विश्वमै चिनाउने समृद्ध राष्ट्र बनाउने घोषणा गर्ने नायक भनाउँदाहरूलाई आफ्नो परिवार र आसेपासे बाहेक दायाँबायाँ सोच्ने फुर्सत नै छैन । लक्षितवर्गको जीवनस्तरमा केही सुधार आउन सकेको छैन । उनीहरु अझै पनि आफूलाई विभिन्न अभियानका अध्येता भनेर आफ्ना तस्वीर भित्तामा टाँसिएकोमा केहि पश्चाताप मान्दैनन् । अब इतिहासले तिनीहरुको फटाइलाई मनमा होइन भित्तामै सिमित राख्नेछ ।

हुन त नेताहरुको अभ्यास हेर्दा उनीहरुको काम बोल्ने हो काम गर्ने होइन जो तिनीहरु गरी राखेकै छन् । कुलमान तिनीहरूसँग तुलना गर्न नमिल्ने काम गरेर देखिएका पात्र हुन् । कुलमानले निरन्तरता पाए पनि वा नपाए पनि उनी देशको एउटा पाटोको नायक बनिसके । अब जनताले सिंहदरवार अथवा बालुवाटार भित्रबाट दुई चारजना ठूला भन्नेको विवेकहीन र स्वार्थी मूल्यांकनलाई सहजै स्वीकार गर्दैनन् । त्यसैले आफैंलाई महान् ठान्ने भित्ते तथा पोष्टरे महानहरू भन्दा कुलमान नै आम नागरिकका लागि वास्तविक महान् हुन् ।

हाम्रो देशका नेताहरूमा आफ्ना गल्ति तथा कमजोरीप्रति पछुतो तथा लाज हुँदैन भन्ने कुरामा त हामी अभ्यस्त भइसकेका छौं । तर अध्ययन तथा विभिन्न प्रतिस्पर्धाबाट आफुलाई अब्बल सावित गर्दै प्रशासनिक निकायका विभिन्न पदमा पुगेका र विद्युत प्राधिकरणजस्तै अन्य थुप्रै प्राधिकरण तथा संस्थानका कार्यकारीहरूलाई त कुलमानको सफलताले केहि घच्याएको हुनुपर्ने हो । अब केहि नतिजा देख्न पाइने भाग्यमानी पो भइन्छ कि !

काम गरे नतिजा राम्रै आउँदोरहेछ भनेर कुलमानले प्रमाणित गरेर देखाइदिएका छन् ।

आफ्नो एउटा परिवारलाई गाडी, घरर बैंक ब्यालेन्स जम्मा गरेर पाइने खुशी र करोडौ जनतालाई खुशी बनाएर पाइने खुशीमा तुलना नै गर्न नमिल्ने अन्तर हुन्छ । कुलमानले त्यो खुशी चाखिसके । विभिन्न निकायका कार्यकारीहरुले त्यस्तो खुशी प्राप्त गर्न प्रतिस्पर्धा गर्ने हो भने पनि साँच्चै देशले कोल्टे फेर्ने आशा गर्न सकिन्थ्यो ।

कुनै कारणले विद्युत प्राधिकरणमा कुलमानकै नेतृत्वले निरन्तरता नपाए पनि नयाँ नेतृत्वलाई समेत प्रतिफल बिनाको नेतृत्व पक्कै सहज हुने छैन। यस अर्थमा कुलमानले एउटा मापदण्ड बनाइसकेका छन् त्यसको निरन्तरतासँगै अझ धेरै सुधार गर्नुपर्ने जिम्मा नयाँ नेतृत्वमा थोपरिएको छ । अब कुलमान एउटा ब्राण्ड भइसकेकोले अबको नेतृत्व पनि कुलमानविना हुनुको विकल्प छैन ।

यी थुप्रै चुनौतिहरु हेर्दा अब विद्युत प्राधिकरण हाँक्ने मान्छेले जागिर खाएर समय बिताउन पाउँदैन । कुलमानले तयार गरेको एउटा प्रणालीलाई निरन्तरता दिन सक्ने आँट क्षमता र दृढता नभएको मान्छेले शुरुमै पछिड हट्नु उपयुक्त हुन्छ । यदि असक्षम पात्रले चाहना गरे भने बधाईको सट्टा गाली खाँदै लुकेर हिँड्नुपर्ने अवस्था पनि आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment