Comments Add Comment

रेस्टुरेन्टमा अब सरल ‘अर्डर’, दुई युवाले शुरु गरे ‘सजिलो डाइन’

२१ असोज, काठमाडौं । रेस्टुरेन्टमा गएर बस्यो, अर्डर लिन वेटर आउँदैन । ढिला गरेर मेनु बोकेर आएका वेटरलाई अर्डर गरेपछि पनि खाना कतिबेला आउने हो ! वेटर भ्याइनभ्याइमा हुन्छ ।

वेटर कतिबेला आउलान् र खाना अर्डर गरौँला भन्दै रेष्टुरेन्टमा हुने पट्यारलाग्दो बसाइलाई ध्यानमा राख्दै दुई युवाहरुले ‘सजिलो डाइन डाइनिङ’ नामक नयाँ सेवा शुरु गरेका छन् ।

वेटरको आवश्यकता नै नपर्ने गरी एक साता अगाडिदेखि अनुपम गोयल र ऋषभ जेनले ‘सजिलो डाइन डाइनिङ’ को शुरुवात गरेका हुन् । यसका लागि वेवसाइट लञ्च भइसकेको र अब यो सेवा लिन चाहने होटल तथा रेस्टुरेन्टहरुले सम्पर्क गर्नसक्ने यसका संस्थापक अनुपमले जानकारी दिए ।

उनका अनुसार ‘सजिलो डाइन डाइनिङ’ मा आवद्ध भएका रेस्टुरेन्टमा ग्राहकले क्यू आर कोड स्क्यानिङ गरेर खानेकुरा अर्डर गर्न सक्नेछन् ।

यसले कोरोनाबाट बच्न सतर्कता अपनाउन मद्दत गर्नेछ भने समयको बचत पनि हुनेछ । ‘रेस्टुराँमा पुगेपछि क्यूआरकोड स्क्यानिङ गरेपछि मेनु देखिन्छ । त्यसबाट अर्डर गरेपछि वेटरलाई पर्खनु परेन’ अनुपम भन्छन्, ‘यसले समयको बचत त गर्छ नै भीडभाड पनि कम गराएर कोभिडबाट पनि सुरक्षित हुन सजिलो हुन्छ ।’

नेपालमा केही ठूला होटलले यो अभ्यास सुरु गरेपनि सबै होटल रेस्टुरेन्टको पहुँचमा भने पुग्न सकेको छैन । सबैले होटल रेस्टुरेन्ट यो सेवा आफैं सञ्चालन गर्न नसक्ने भएकाले पनि सबैलाई सहज होस भन्ने हिसाबले ‘सजिलो डाइन’ शुरु गरिएको अनुपम बताउँछन् ।

अनुपम गोयल र ऋषभ जेन

आफ्नै अनुभवले देखाएको बाटो

अनुपम स्नातक अध्ययन गर्दै गरेका युवक हुन् । उनका पार्टनर जेन पनि स्नातक अध्ययन गरिरहेका छन् । स्थायी घर कपिलवस्तु भएका अनुपमले भारतको दिल्ली विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पुरा गरेका छन् । स्नातक तह सकेर स्वदेश फर्किएका उनले स्नातकोत्तर तहको अध्ययनसँगै बुवालाई व्यवसायमा सहयोग गरिरहेका थिए ।

एचआर गोयल समूहका अध्यक्ष उनका बुवा सुरेन्द्रकुमार गोयल शिवम् सिमेन्टको समेत अध्यक्ष हुन् । उत्पादनमूलक उद्योग तथा व्यापार समेत गरिरहेको यो समूहको व्यवसायमा उनले बुवालाई सघाउँथे । उनमा आफैंले नेतृत्व लिएर केही गर्नुपर्छ भन्ने सोच आएपछि ‘सजिलो डाइन’ शुरु गरेका हुन् ।

उनलाई यसमा उनका साथी जेनले साथ दिएका छन् । भारतको हैजरामा डिप्लोसम्मको अध्ययन पुरा गरेका जेन पनि अहिले काठमाडौंमै स्नात्तकोर अध्ययन गरिरहेका छन् ।

दुई साथीको कुरा मिले पछि उनीहरुले नयाँ योजना सहित ‘सजिलो डाइन’ शुरु गरेका हुन् । यस्तो योजना चाहिँ कसरी बन्यो त ? भन्ने प्रश्नमा अनुपम भन्छन्, ‘यो कोभिड भन्दा अगाडि नै योजना बनेको थियो, कोभिड पछि त झन् सजिलो भयो ।’

‘खाना/खाजा खानका लागि रेस्टुरेन्ट गइरहदा अर्डर गर्नका लागि पनि धेरै समय पर्खनुपर्थ्यो, वेटर कति बेला आउँछ’, उनी भन्छन्, ‘अर्डर गर्नका लागि धेरै समय लाग्ने भएकाले पनि यस किसिमको सेवा दिनु पर्छ भन्ने सोच आएको थियो ।’

कोभिड महामारीबाट बच्च सामाजिक दूरी कायम गर्नुपर्ने भएपछि ग्राहक र वेटरको प्रत्यक्ष भेट नगराउन यो योजनामा थप सहज भयो । कोरोना महामारीका बेला कन्ट्याक्ट लेस अर्डर धेरै उत्तम भएका कारण पनि उनले यो सेवा सञ्चालन गरेका हुन् । यो धेरै रोजाइमा पर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment