Comments Add Comment

पर्सामा भारतीय महिलाको हत्या, प्रेमी पक्राउ

हत्या आरोपमा पक्राउ परेका युवक र हत्या गरिएकी भारतीय महिला ।

२६ असोज, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–४ मा असोज २१ गते बिहान ११ः २० बजे एक महिलाको शव फेला पर्‍यो । स्थानीय गंगोला खोलाको पानीमा करिब ४० वर्षीया महिलको शव तैरिरहेको अवस्थामा भेटिएको थियो ।

हात खुट्टा कपडाले बाधिँएको, घाँटीमा डोरीले बाँधेको र आँखामा कपडा बेरेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । तर शवको सनाखत भने हुन सकिरहेको थिएन । प्रहरीले त्यसदिन घटनास्थल शव जाँच मुचुल्का गर्‍यो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठायो ।

शव पहिचान गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् । उनी भारत उत्तर प्रदेश जिल्ला थाना रामकोला ग्राम सुरजपट्टी बस्ने १८ वर्षीया तरन्नु खातुन थिइन् । उनले शव आफ्नै आमाको हो भनी सनाखत गरिदिइन् । बल्ल प्रहरीले मृतक महिला ४० वर्षीया रेहाना भन्ने मैरुन नेसा रहेको पत्ता लगायो ।

छोरीसँग सोधपुछ गर्दा उनलाई धेरै कुरा थाहा रहेनछ । तर आमाको मकवानपुरको हेटौंडातिर बस्ने कुनै केटासँग सम्बन्ध रहेको जानकारी उनले दिइन् ।

पानीमा भेटिएको महिलाको शव ।

२० गते उनीहरु सँगै निस्किएको सूचना प्रहरीले पायो । तर उनलाई केटाको नाम समेत थाहा रहेनछ । त्यसपछि प्रहरीले ती व्यक्तिको खोजी सुरु गर्‍यो । हेटौंडामा गएर बुझ्दा हेटौंडा उपमहानगरपालिका–४ चिसापानी चोकमा डेरा गरी बस्दै आएका एक युवक शंकास्पद देखिए । ती व्यक्तिको नम्बर पत्ता लागेपनि नाम भने पत्ता लाग्न सकेको थिएन ।

हत्याको अनुसन्धान गर्न विशेष टोली बनाइएको थियो । प्रविधियुक्त तरिकाद्वारा सीडीआर, बीटीएस लोकेसन एनालाइसिस, फलो अप भइरहेको थियो ।

सोही क्रममा ती व्यक्ति जिल्ला पर्सा कालिकामाई गाउँपालिका–२ बस्ने ३० वर्षीय शैफुल खान पैठान रहेको पत्ता लाग्यो । पैठानलाई लगातार निगरानीमा राखेर प्रमाण संकलन गर्दै आएको प्रहरी सफलताको नजिक पुग्दै थियो ।

पैठान असोज १९ गते नै डेरा छाडी सम्पर्कविहीन भएका रहेछन् । पुनः असोज २५ गते इन्तियाज खान भन्ने व्यक्तिबाट १ हजार रुपैयाँ लिएर पैठान भारततर्फ भाग्न खोजिरहेको छ, भन्ने सूचना प्रहरीकोमा आयो । प्रहरीले असोज २६ गते बिहान १० बजे उनलाई पछ्याउँदै गयो । कालिकामाई गाउँपालिका–२ स्थित मस्जिदमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

दुवै जनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको तर विवाह गर्ने विषयमा कुरा नमिलेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानाबाट खुलेको कुँवरले बताए ।

‘महिला डिभोर्सी हुन्, महिलाको चरित्र हत्या गर्न खोजेका हैनौं, तर उनको त्यो केटासँग पहिलेदेखि नै सम्बन्ध रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘महिलाले स्वीकार गर्न दबाव दिएपछि उसले छुटकारा पाउनका लागि हत्या गरेको जस्तो देखिन्छ ।’

आवश्यक अनुसन्धान तथा कारबाहीको लागि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment