Comments Add Comment

फिल्मी कलाकारको म्यूजिक भिडियोमा भ्यूजको खडेरी

लकडाउन सकिएपछि चलचित्र र म्यूजिक भिडियोको बजार संकटमा पर्छ भन्ने टिप्पणी नभएको होइन । तर, लकडाउन सकिएसँगै निर्माण भैरहेका म्यूजिक भिडियो र निर्माणको तयारीमा रहेका चलचित्रको संख्या हेर्ने हो भने मेकर लगानीका लागि कती उत्साहित छन् भन्ने प्रष्ट हुन्छ ।

दैनिक रिलिज हुने २–३ वटा म्यूजिक भिडियो, दैनिक छायांकन हुने भिडियोको संख्या हेर्ने हो भने यहाँ लगानीकर्ताको कुनै अभाव छैन । झन्, युटुबको भ्यूज र टिकटकको संख्याको आधारमा भिडियोको सफलता र असफलताको मापन हुन थालेपछि लगानी गर्नेहरुको संख्या बढेको छ । साथमा, अधिकांश लगानीकर्ताले आफै युटुब च्यानल खोल्दै भिडियो निर्माण गरिरहेका छन् ।
|
तर, दैनिक म्यूजिक भिडियो रिलिज हुँदा गुणस्तरमा भने संकट पैदा भैरहेको छ । गीत बजारमा ल्याउने होडबाजीका कारणले गर्दा पनि दर्शकले भिडियो हेर्न छाडेका छन् । यसकारण पनि हुनसक्छ, सामाजिक संजालमा लाखौ खर्च गरेर बुष्ट गरिएका भिडियोमा भ्यूजको खडेरी देखिन्छ ।

उसो त, भिडियोको सफलताको मापन भ्यूज र ट्रेन्डिङले मात्र गर्दैन । तर, युटुबबाटै आम्दानी गर्नका लागि भिडियोमा लगानी गर्ने निर्माताका लागि भ्यूजको महत्व धेरै छ । यसमाथि, केही कलाकारमाथि भ्यूज आउँछ भनेरै लाखौ लगानी गरिसकेपछि निर्मातालाई घाटा हुँदा समस्या पर्छ । चलचित्रमा चिनिएका अनुहारलाई लाखौ रकम खर्च गरेर भिडियो बनाउने अनी भिडियोले भ्यूज नपाएर पुर्पुरोमा हात राख्नुपर्ने अवस्था बढ्दै गएको छ ।

२ दिन अगाडि नेपाली चलचित्रका दुई चल्तीका कलाकार नायक आकाश श्रेष्ठ र पुष्प खड्कालाई राखेर तयार भएको भिडियो ‘गालैमा डिम्पल’ रिलिज भयो । तर, यो गीतले ओएसआर डीजीटल जस्तो ३८ लाख सबस्क्राइवर भएको च्यानलमा पनि १ लाख भ्यूज बटुल्न सकेको छैन । अहिलेसम्म, यो गीतलाई ८१ हजार पटक हेरिएको छ ।

३ दिन अगाडि नायक पल शाह, नाजिर हुसेन र नायिका स्वस्तिमा खड्का अभिनित ‘मुखैमा रामराम’ बोलको गीत रिलिज भयो । यी तिन स्टारलाई भिडियोमा राख्दा निर्माताले ३ लाख हारहारीको पारिश्रमिक खर्च गरेका छन् । भिडियो मेकिङ र अन्य टिमको खर्च जोड्दा यसको लगानी सहजै अनुमान गर्न सकिन्छ । तर, भिडियोले कुनै कमाल मच्चाएन । ३ दिनमा भिडियोलाई ४ लाख ४७ हजार पटक मात्र हेरिएको छ । करिब १० लाख सबस्क्राइवर भएको च्यानलबाट यो भिडियो रिलिज भएको छ ।

६ दिन अगाडि पल शाह, दुर्गेस थापा, एलिजा गौतम, सुधिर श्रेष्ठलाई राखेर ‘किन यस्तो भो’ बोलको गीत रिलिज भयो । रिलिज भएको एक साता पुग्नलाग्दा पनि यो गीतको भिडियोलाई ७ लाख १२ हजार पटक मात्र हेरिएको छ । गज्जब टीभीले निर्माण गरेका भिडियोले १ दिनमै ७ लाख बढी भ्यूज पाएका रेकर्ड छन् । यो गीतले पनि कुनै कमाल गरेन ।

२ दिन अगाडि पल शाह, सुधिर श्रेष्ठ र श्रेया सिटौलाले अभिनय गरेको ‘पौने ४’ बोलको गीत रिलिज भयो । यो गीतलाई हालसम्म २ लाख २२ हजार पटक मात्र हेरिएको छ ।

नायक आकाश श्रेष्ठले अभिनय गरेको ‘तिम्रो प्यारमा छु’ बोलको गीत करिब ३ साता अगाडि रिलिज भयो । यो भिडियोलाई करिब ३ लाखले हेरेका छन् । गीत राम्रो भएपनि भिडियोले बजार तताएन ।

नायक पुष्प खड्काले अभिनय गरेको ‘मेसो पा छैन’ बोलको गीत एक साता अगाडि रिलिज भयो । पुष्प र मोडल उषा उप्रेतीले अभिनय गरेको यो गीतलाई एक सातामा २ लाख पटक हेरिएको छ । गीत युटुबमा असफल सावित भयो ।

चलचित्रमा नाम चलेका कलाकारले अभिनय गरेको गीतको युटुबमा भ्यूजको खडेरी लागिरहेको समयमा ३ साता अगाडि रिलिज भएको ‘नबोली नबोली’ गीतले करिब ४० लाख भ्यूज पाएको छ । भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय छ । सुरुवातमा खासै भ्यूज नगएको यो गीत जब बजारमा चर्चामा रह्यो, यसपछि यसले दर्शकको उल्लेख्य माया पायो । अहिले यो गीत सर्वाधिक चर्चामा छ । गीत राम्रो हुँदाको फाइदा यो गीतले उठाएको छ ।

नायक आर्यन सिग्देलको साथमा नायिकाद्धय आँचल शर्मा र रेविका गुरुङलाई लिएर निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘दशैं तिहार’ बोलको गीत २ दिन अगाडि रिलिज भयो । यो गीतको भिडियोलाई २ दिनमा १ लाख ३५ हजार भ्यूज मिलेको छ । भिडियो निर्माणमा निर्माताले महंगो रकम खर्चिएका छन् । तर, लगानीको सानो अंश पनि उठ्ने संभावना छैन ।

चलचित्रमा नाम चलेका कलाकारहरुले धेरै भिडियो खेल्नु, दैनिक रुपमा उनीहरुको गीत सार्वजनिक हुनु, अडियो कमजोर हुनु आदिले उनीहरुलाई दिएको पारिश्रमिकको सानो हिस्सा पनि निर्माताले भिडियोबाट उठाउन सकेका छैनन् । तर, पनि बजारमा उनीहरुको माग घटेको छैन । अडियो बलियो बनेको खण्डमा गीत चल्छ भन्ने कुरा भिडियोका मेकरले नवुझेसम्म यो समस्या देखिरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment