Comments Add Comment

भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमणको तयारी थालियो

२८ असोज, काठमाडौं । सीमा विवाद र कोरोना भाइरसको महामारीका कारण रोकिएको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको तयारी थालिएको छ ।

नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको छ । भारतीय पक्षसँग अनौपचारिक संवादपछि निम्तो पठाउन लागिएको सैनिक स्रोतको दाबी छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रकरणपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भने  २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् ।

उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन ।

जंगीअड्डा स्रोत भन्छ, ‘भेटवार्ता र कार्यक्रमबारे भ्रमण मिति तय भएपछि मात्र टुंगो लाग्छ ।’

यो पनि पढ्नुहोस भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’ यो पनि पढ्नुहोस आर्थिक सुशासनमा आक्रामक, ‘राष्ट्रिय महत्वको विषय’मा विवादित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment