 
																			सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् ।
जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक पार गराउनका लागि खटिएको देख्न सक्नुहुनेछ ।
बोनमा जब जब गर्मी सुरु हुन्छ तब शीतकालीन निद्रामा रहेका भ्यागुताहरु बाहिर निस्किन्छन् र घुम्न सुरु गर्दछन् । नयाँ ठाउँमा पुग्नका लागि भ्यागुताहरु टाढा टाढासम्म हिँड्दछन् । त्यस्तो त्यस्तो यात्राका क्रममा सडकहरु समेत पार गर्नुपर्ने हुन्छ, जहाँ तीव्र गतिमा गाडीहरु चल्दछन् ।
सडक पार गरिरहँदा गाडीले किचेर कैयन् भ्यागुताहरु मर्दछन् । वर्षेनी गृष्मयामको सुरुआतसँगै सडकमा ठूलो संख्यामा भ्यागुताहरु किचिएर मर्ने घटनालाई न्यून गर्नका लागि जर्मनीका केही स्वयंसेवी संस्थाहरु अघि सरे । उनीहरुले भ्यागुतालाई सुरक्षितरुपमा सडक पार गराउने र दुर्घटनाबाट जोगाउने गर्दछन् ।
भ्यागुता बचाउनका लागि सञ्चालित उपायहरुका बारेमा बताउँदै एक वन्यजन्तु संरक्षण संस्थाकी निर्देशक मोनिका हाचेलले विगतमा गाडीले किचिएर ठूलो संख्यामा भ्यागुताहरु मर्ने गरेको भए पनि अहिले त्यसरी ज्यान गुमाउने भ्यागुताहरुको संख्या घटाउन सफल भएको बताउँछिन् । अहिले धेरै संस्थाहरुले भ्यागुताहरुलाई सुरक्षितरुपमा सडक पार गराउने काममा स्वयंसेवा गरिरहेको उनको भनाइ छ ।
भ्यागुता बँचाउनका लागि विभिन्न चरणका विभिन्न खालका तरिकाहरु प्रयोग गरिन्छ । भ्यागुतालाई सडक पार गराउनका लागि कतिपय ठाउँमा सडक मुनि सुरुङ समेत बनाइएको छ । भ्यागुताहरु सोही सुरुङ हुँदै सडक मुनिबाट पार गर्दछन् र आफ्नो गन्तव्यमा पुग्दछन् । यसले भ्यागुताहरु सडक माथि आएर दुर्घटना हुने जोखिम रहँदैन ।
साथै कतिपय ठाउँमा भ्यागुताहरुलाई सडकमा आउनबाट रोक्नका लागि तारबारसमेत गरिएको छ ।
विभिन्न गैरसरकारी संस्था तथा सरकारी निकायहरु मिलेर बोन सहरमा विभिन्न ८ सय ठाउँका सडक किनारामा भ्यागुता रोक्ने तारबार गरिएको छ । स्वयंसेवीहरु हरेक दिन तारबारमा अडि्कएका भ्यागुताहरु खोज्दछन् र त्यहाँबाट उद्धार गरेर जंगलमा छाड्दछन् ।
जीव वैज्ञानिकहरुका अनुसार भ्यागुता पर्यावरणका लागि निकै उपयोगी जीव हो । यसले विषालु तथा हानिकारक किराहरु खाएर नियन्त्रण गर्दछ । साथै भ्यागुताले लामखुट्टे समेत खाने गर्दछ । भ्यागुताले पानीको लेउसमेत खाने गर्दछ । जसले पानीको सफाइमा पनि सहयोग गर्दछ ।
एजेन्सी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4