Comments Add Comment

चितवनमा आइसोलेसन खाली, आईसीयू भरिए

लक्षण देखिएकाहरु पनि होम आइसोलेसनमा

२८ असोज, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना संक्रमणका गम्भीर बिरामीको उपचारमा समस्या हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुने देखिएको अस्पताल सञ्चालकहरु बताउँछन् ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजजस्ता ठूला अस्पतालमा संक्रमितका लागि छुट्याइएका आईसीयू बेड भरिन थालेपछि अब गम्भीर खालका संक्रमितलाई कहाँ राख्ने भन्ने चिन्ता बढेको छ ।

पछिल्ला दिनमा अस्पतालहरुले संक्रमितका लागि आईसीयू बेड मिलाइदिनुपर्‍यो भन्ने दबाब झेल्न थालेका छन् । जिल्लाका साना निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेका छैनन् । ठूला अस्पताल र मेडिकल कलेजमा कोरोना संक्रमितका साथसाथै अन्य रोगका बिरामीको पनि उपचार भइरहेको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको बताए ।

कोरोना संक्रमितको उपचार गराइरहेको चितवन मेडिकल कलेजको आईसीयू र एचडीयू बेड भरिभराउ छन् । सो अस्पतालको भेन्टिलेरमा ४ जना संक्रमित छन् । २२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।

भरतपुर अस्पतालको १० बेड आईसीयू भरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । उनका अनुसार अस्पतालको सामान्य आइसोलेसन बेडमा चाप छैन तर कोभिड आईसीयूमा एक जना पनि संक्रमित राख्ने ठाउँ छैन ।

१७५ बेडको आइसोलेसन रहेको यस अस्पतालमा ५५ जना संक्रमित छन् । सूचना अधिकारी पौडेलले आइसोलेसन बेड खाली हुने तर आईसीयू भरिने अवस्थाले कोरोनाका गम्भीर बिरामी बढेको संकेत गरेको बताए ।

आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको सूचना अधिकारी पौडेलको भनाइ छ ।

यहाँका अस्पतालमा विगतमा सामान्य लक्षण भएका संक्रमित मात्रै आउने गरेकामा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमित बढेका छन् ।

चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शय्या र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँछन् ।

‘यहाँ त विभिन्न जिल्लाबाट कोरोना संक्रमित उपचारका लागि आउँछन्, हाम्रो जिल्लाको आफ्नो तयारीले मात्रै पुग्दैन’ प्रमुख तिवारीले भने, ‘कहाँबाट कति बिरामी आउँछन् भन्ने थाहा नहुँदा न त अस्पताल न त जनस्वास्थ्यले नै आफ्नो तयारी गर्न सक्छन् ।’

अस्पतालहरुमा एचडीयू

आईसीयू र भेन्टिलेटरमा मात्रै राखेर बिरामीलाई उपचार गराउन नसक्ने अवस्था भएपछि चितवन मेडिकल कलेज र भरतपुर अस्पतालले एचडीयू (हाई डिपेन्डेन्सी केयर युनिट) सञ्चालन गर्न थालेका छन् ।

कोरोना संक्रमित कतिपय बिरामीलाई सास फेर्न गाह्रो हुँदा अक्सिजनको सप्लाई बढी चाहिने देखिएकोले एचडीयू युनिट सञ्चालन गरिएको हो ।

१० आईसीयू र ५ भेन्टिलेटर रहेको भरतपुर अस्पतालले एचडीयू स्थापना गर्ने तयारी गरिरहेको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अहिले अर्थोपेडिक्स बार्डको ठाउँमा अक्सिजन र मोनिटर राखेर एचडीयू सेवा दिने तयारी गरिएको छ । ३५ देखि ४० जनासम्म संक्रमितलाई अक्सिनजको सपोर्टमा एचडीयूमा राख्न सकिने विश्वास अस्पतालको छ ।

अस्पताल अध्यक्ष डा. भोजराज अधिकारीले कतिपय बिरामी सामान्य अक्सिजन सपोर्टमा राख्दा पनि सहज हुने हुँदा एचडीयूको व्यवस्थापन गर्न लागिएको बताए ।

‘सबै बिरामीलाई आईसीयू नै चाहिन्छ भन्ने छैन, सामान्य स्वास फेर्न गाह्रो भएका संक्रमितलाई एचडीयूमा राख्न सकिन्छ’ डा. अधिकारीले भने ‘तत्कालै आईसीयूको संरचना थप्ने अवस्था र संरचना अस्पतालसँग छैन, जसरी हुन्छ म्यानेज मात्रै गर्ने हो ।’ अहिले अस्पतालको कोभिड आईसीयूमा ५ र साधारण आईसीयूमा तीनवटा भेन्टिलेटर छन् ।

चितवन मेडिकल कलेजमा पनि ४४ बेडको एचडीयू सेवा बुधबारदेखि सुरु गरिएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले एचडीयूमा अक्सिजन, मोनिटर, रक्तचाप बढाउने औषधी सप्लाई गर्ने व्यवस्था मिलाइने बताए ।

नवलपरासी, मकवानपुर तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्ला अस्पतालमा पनि एचडीयू स्थापना गरे चितवनका ठूला अस्पतालमा कोभिडको चाप कम पर्ने उनी बताउँछन् ।

‘एचडीयू खोल्दा त्यति धेरै तालिम प्राप्त जनशक्ति र लगानी चाहिँदैन, सामान्य म्यानेज गर्न पनि सकिन्छ’ निर्देशक डा. लम्सालले भने, ‘अहिले यसो गाह्रो हुनेवित्तिकै अस्पतालमा ल्याउने र अस्पताल ल्याएर पनि आईसीयूमै नै राख्नुपर्दा चाप बढेको छ, त्यसलाई घटाउन एचडीयूले मद्धत गर्छ ।’

होम आइसोसनमा जोखिम बढ्यो

चितवनमा अस्पतालमा उपचार गराउनेको भन्दा होम आइसोलेसनमा बस्न रूचाउने कोरोना संक्रमितको संख्या दोब्बर बढी छ ।

स्वास्थ्य कार्यालय चितवनले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार ११ सय १८ जना सक्रिय संक्रमित छन् । तीमध्ये अस्पतालमा ३ सय ३६ र होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८२ छ ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानले कोरोना संक्रमित गम्भीर अवस्थामा पनि घरमै बसेकाले एकैपटक आईसीयूमा राख्नुपर्ने स्थिति आउने तर आईसीयू खाली नहुँदा मृत्यु हुने सम्भावना रहेको बताउँछन् । उनका अनुसार संक्रमितलाई घरबाट अस्पतालसम्म ल्याउन निकै ढिला हुने गरेको छ ।

अन्यत्रभन्दा चितवनमा कोरोना संक्रमणका कारणले हुने मृत्युदर उच्च रहेको देखिएको छ । चितवनका संक्रमित र मृत्यु हुनेको संख्या हेर्दा मृत्युदर १.३१ प्रतिशत छ । नेपालमा कोरोना संक्रमितको मृत्यु प्रतिशत ०.५७ हुन आउँछ ।

‘संक्रमित भएर बस्नेलाई खासै परिवारले पनि चासो दिँदैनन्, एम्बुलेन्सले पनि भन्नेबित्तिकै ल्याउँदैन, कसले उसलाई अस्पतालसम्म ल्याउने भन्ने ठूलो समस्या देखिएको छ’ डा. न्यौपानेले भने । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य परीक्षण गराउन कोभिड क्लिनिक सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले होम आइसोलेसनमा बस्ने ५० प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण भएको बताए । उनीहरुमा ज्वरो आउने, जिउ दुख्ने, खाना नपच्ने, स्वाद–गन्ध थाहा नपाउने लक्षण देखिएका छन् । सामान्य लक्षण भएका तर ठिकठाक जस्तो देखिने व्यक्तिहरुको पनि अक्सिजनको लेभल कम हुने, एक्सरेमा फोक्सोको भाग नै ‘ह्वाइट’ देखिने उनी बताउँछन् ।

शरीरमा अक्सिजनको मात्रा कम हुँदा श्वास फेर्न गाह्रो हुने, छटपटी लाग्ने, चेतना कम हुने जस्ता लक्षण देखिन्छन् । ‘कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बस्ने संक्रमित कहिलेबाट समाज र परिवारमा घुलमिल हुने भन्ने नै भएन, नत परीक्षण गरिएको छ न त उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा नै जानकारी राख्ने काम हुन्छ’ डा. अधिकारीले भने ।

उनले अस्पतालमा दीर्घ रोग भएका कोरोना संक्रमितलाई पुरानो रोगको उपचारमा ध्यान नदिँदा पनि मृत्यदुर बढेको बताए ।

दशैं र तिहारमा अझै खतरा

दसैँ र तिहारजस्ता ठूला पर्वमा कोरोना संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीका लागि यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायत चाडपर्व मनाउन १४ बुँदे सुझाव सार्वजनिक गरेको छ ।

प्रशासनले १२ वर्षभन्दा कमका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घर बाहिर हिँडडुल नगर्न भनेको छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दसैँमा जेष्ठ नागरिकसँग टीका लगाउने र आशिर्वाद लिने चलन रहेको हुँदा संक्रमण र मृत्युदर बढ्न सक्ने बताउँछन् । वृद्ध उमेरमा दीर्घ रोग बढी हुने भएकाले कोरोना जोखिम पनि उच्च हुने डा. अधिकारीको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी चाडपर्व, भिडभाड, किनमेल आदिले गर्दा जोखिम ह्वात्तै बढ्न सक्ने बताउँछन् । उनले लकडाउन खोल्दाको असर अहिले देखिन थालेको बताए । चितवनको जनसंख्याको ५ प्रतिशत मात्रै कोरोना संक्रमित भए जिल्लाको स्वास्थ्य सेवा प्रदान गर्न नै नसकिने अवस्था आउन सक्ने बताए ।

मृत्युदर अन्यत्र भन्दा बढी

अन्यत्रभन्दा चितवनमा कोरोना संक्रमणका कारणले हुने मृत्युदर उच्च रहेको देखिएको छ । चितवनका संक्रमित र मृत्यु हुनेको संख्या हेर्दा मृत्युदर १.३१ प्रतिशत छ । नेपालमा कोरोना संक्रमितको मृत्यु प्रतिशत ०.५७ हुन आउँछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा कूल संक्रमितको संख्या २ हजार ८ सय २६ रहेको छ । त्यसमध्ये ३७ जनाको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको संख्या ६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment