Comments Add Comment

आगामी वर्ष क्षयरोगबाट मृत्यु हुनेका संख्या नाटकीयरुपमा बढ्छ : डब्ल्यूएचओ

गत जुन ३० मा सुराबायामा रहेको एक सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीले क्षयरोगको खोप र पोलियो थोपा खुवाउने तयारी गर्दै गर्दा बच्चा समाइरहेकी एक इन्डोनेसियाली महिला/AFP

२९ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी वर्षहरुमा क्षयरोगबाट मृत्यु हुनेको संख्या नाटकीयरुपमा बढ्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण आवश्यक औषधिको आपूर्तिमा देखिएको समस्या र विश्वव्यापी रोगसँग लड्न डब्ल्यूएचओसँग आवश्यक कोषको कमी भएकाले आगामी वर्ष क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिइएको हो ।

डब्ल्यूएचओका अनुसार यस वर्ष क्षयरोगका बिरामीहरु पहिचान र निरीक्षणको संख्यामा उल्लेख्य कमी आएको छ । विश्वका धेरै मुलुकले कोरोना नियन्त्रणको लागि सामाजिक गतिविधिमा प्रतिबन्ध लगाएको कारण सन् २०२० को पहिलो अर्धवार्षिक अवस्थामा क्षयरोगका बिरामीलाई पहिचान गर्ने र उनीहरुको निरीक्षणको काम प्रभावित बनेको हो । विशेषगरी भारत, इन्डोनेसिया र फिलिपिन्समा यस वर्षको जुनसम्ममा पहिचान गरिएका क्षयरोगका बिरामीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ देखि ३० प्रतिशत कम छ । डब्ल्यूएचओका अनुसार क्षयरोगका बिरामी पहिचान गर्न नसक्नुले यो रोग फैलिने जोखिम पनि उत्तिकै बढी हुन्छ । क्षयरोगलाई सबैभन्दा घातक संक्रामक रोग मानिन्छ । फोक्सोमा असर गर्ने यो रोग सजिलै अर्को मानिसमा सर्न सक्छ ।

सन् २०१५ देखि २०१९ को बीचमा क्षयरोगबाट मृत्यु हुनेको संख्यामा १४ प्रतिशतको कमी आएको थियो । तर, यस वर्ष कोरोनाको महामारीको कारण क्षयरोगविरुद्धको लडाइँ प्रभावित बनेको हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment