Comments Add Comment

कति निस्क्रिय छन् अहिलेका बालबालिका ?

खासगरी शहरी क्षेत्रका बालबालिका घरभित्रै छन् । खेल्ने, पढ्नलेख्ने सबै काम उनीहरु घरभित्रै गरिरहेका छन् । कोरोनाको संभावित जोखिमबाट बच्नका लागि घरबाहिर निर्धक्क घुमफिर गर्न सहज छैन । त्यसैले कतिपय बालबालिका त घरबाट बाहिर निस्कन पाएकै छैनन् । त्यसैले घरबाहिर खेल्ने, दौडने, उफ्रने क्रियाकलाप ठप्प जस्तै छ ।

त्यसै पनि अहिलेका बालबालिका घरभित्रै रमाउन थालेका छन् । उनीहरु घरभित्र खेल्ने, टिभी हेर्ने गर्छन् । अर्कोतिर मोबाइल, ल्यापटपले उनीहरुको दैनिक गतिविधिलाई प्रभावित बनाइदिएको छ । मोवाइल, ल्यापटपमा लम्पट भएपछि उनीहरु एकै स्थानमा घण्टौं घण्टा बिताइदिन्छन् । कतिपय बालबच्चामा त मोबाइलको लत नै बसिसकेको छ ।

यसले गर्दा उनीहरुको शारीरिक र मानसिक विकासमा अवरोध पुगेको छ । लामो समय स्क्रिनमा बिताउँदा आँखामा प्रत्यक्ष असर परिरहेको छ भने भिडियो गेम, भिडियो आदिले गर्दा उनीहरुको मस्तिष्क विकास समूचित ढंगले हुन पाएको छैन । वैश्विक स्तरमै यो समस्या बढ्दो छ । र, पछिल्लो समय अभिभावकको सबैभन्दा ठूलो टाउको दुखाईको विषय पनि यही हो ।

एक अध्ययन अनुसार विश्वभरका ८० प्रतिशत बालबालिका एवं किशोरहरुले आवश्यक शारीरिक गतिविधि नगर्ने पाइएको छ । यही कारण उनीहरुको स्वास्थ्य खराब हुँदै गएको साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । एक सय ४३ देशमा गरिएको अध्ययन अनुसार अधिकांश बालबालिकाले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगरेको पाइन्छ ।

एकातिर प्रतिकुल परिस्थिती र अर्कोतिर मोवाइल-इन्टरनेटको पहुँचले गर्दा बालबालिकाको शारीरिक गतिविधि नराम्ररी प्रभावित भएको छ । जबकी यो यस्तो उमेर–चरण हो, जतिबेला धेरै भन्दा धेरै शारीरिक गतिविधी जरुरी हुन्छ ।

बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासका लागि उनीहरुले सामाजिक गतिविधिमा सरिक हुनैपर्छ । यसका निम्ति आफ्ना दाजुभाई, दिदीवहिनी, दौतरीसँग उनीहरुले विभिन्न खेलकुद वा शारीरिक क्रियाकलाप गर्नुपर्ने हुन्छ । जस्तो फूटबल खेल्ने, दौडने, उफ्रने ।

तर, जुन उमेरमा सबैभन्दा शारीरिक रुपले सक्रिय हुनुपर्ने हो, त्यही उमेरमा हाम्रा बालबालिकाहरु एउटै कोठाभित्र घण्टौं बिताइरहेका छन् । यसले उनीहरुको पारिवारिक र सामाजिक भावनाको विकास पनि हुन पाइरहेको छैन ।

बालबालिकाको मांशपेशी, हड्डी, जोनी आदि बलियो बनाउन यतिबेला उनीहरुले धेरै भन्दा धेरै खेल्ने, उफ्रिने, दौडने गर्नुपर्छ । घर बाहिरका विविध शारीरिक गतिविधीमा सहभागी हुन जरुरी छ । तर, अहिलेको प्रतिकुल अवस्थामा कसरी उनीहरुलाई शारीरिक क्रियाकलापमा प्रोत्साहित गर्ने त ?

यसका निम्ति आमाबुवा वा दाजु–दिदीले सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ । उनीहरुलाई पढाईमा वा मोवाइल र टिभीमा मात्र एकोहोरिन दिन हुँदैन । बरु घरभित्रै पनि शारीरिक खेलहरु खेल्न सकिन्छ । नाच्ने, व्यायाम गर्ने जस्ता क्रियाकलाप अरु लाभदायक हुन्छ ।

बिहानको समयमा बालबच्चालाई आफुसँग योग व्यायाम गराउने अभ्यास गर्न जरुरी छ । यदि योग एवं व्यायाम गर्न जाँगर नचलाएमा नाच्नका लागि प्रेरित गर्न सकिन्छ । नाचबाट पनि सम्पूर्ण व्यायाम हुन्छ ।

त्यसैगरी घरको सानोतिनो काम सिकाएर, प्रेरित गरेर पनि उनीहरुलाई शारीरिक क्रियाकलपामा सहभागी गराउन सकिन्छ । जस्तो घर सफा गर्ने, भान्सामा काम गर्ने, लुगाफाटो धुने, सागसब्जीमा गोडमेल गर्ने । यस्ता थुप्रै तौर तरिका हुन्छन्, जसले बालबालिकालाई शारीरिक क्रियाकलापमा लगाउन सकिन्छ । यद्यपि दबावपूर्ण ढंगले नभई कुनै न कुनै रुपमा प्रेरित गरेर उनीहरुलाई शारीरिक रुपमा सक्रिय बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment