Comments Add Comment

रिस जेम्सको कडा रिस : डेब्यु म्याचमै रातो कार्ड

२९ असोज, काठमाडौं । डेब्यू म्याचमै रातो कार्ड खाएर मैदानबाट बाहिर निस्किनुपर्दाको पीडा रिस जेम्सलाई जति कसलाई थाहा होला ? यस्तो खराब किर्तिमान आफ्नो नाममा लेखाउने जेम्स ईंग्ल्यान्डकै पहिलोउ फुटबलरसमेत बनेका छन् ।

सन्दर्भ हो नेसन्स लिग अन्तरगत ईंग्ल्याण्ड र डेनमार्कबीच बुधबार भएको खेलको, जहाँ गारेथ साउथगेटका खेलाडीहरु अनुशासनको मामलामा नराम्ररी चुकेका थिए । सो खेलमा ईंग्ल्याण्ड १–० ले हारेको थियो । रेफ्री जेसस गिल मार्जानोसँग असहमति राखेको आधारमा अन्तिम सिठीपछि अम्पायरले उनलाई रेडकार्ड देखाएका थिए । अर्का खेलाडी ह्यारी मगुइरले पनि दुईवटा पहेँलो कार्ड खान पुगे ।

उक्त म्याचमा डेनिस प्लेमेकर क्रिस्टियन एरिक्सनले निर्णायक गोल गरेका थिए । उनको गोल पेनाल्टी सटमार्फत हासिल भएको हो । यो हारसँगै ईंग्ल्यान्ड नेसन्स लिगको समुह ए २ मा तेस्रो स्थानमा खस्केको छ र उसको फाइनल यात्रा कठिन बनेको छ ।

पहिलो अन्तर्राष्ट्रिय सहभागिता निराशाजनकरुपमा अन्त्य भए पनि जेम्सले राइट विङमा आफ्नो भूमिकालाई न्याय गरेका थिए । टिम मेट डेक्लान राइसले २० वर्षिय खेलाडी अन्तर्राष्ट्रिय भेट्रानजस्तो देखिएको प्रतिक्रियासमेत दिए ।

‘रिस जेम्सको खेल हेर्दा यस्तो लाग्थ्यो कि उनी आज ३० औं वा चालिसौं क्यापमा छन्,’ राइसले म्याचपछि बीबीसीसँग भने, ‘म अन्डर ८ देखि नै उसँग छु र उ कति सक्षम खेलाडी हो भन्ने राम्ररी जान्दछु ।’

उनले थपे, ‘जेम्स एउटा गज्जबको युवा खेलाडी हो र उसले हामीलाई फरवार्डमा अर्को विकल्प दिएको छ । त्यो रेड कार्डले उसलाई खासै असर गर्छ जस्तो लाग्दैन ।’

मगुइरको सेन्ड अफभन्दा अगाडिसम्म आफूहरुले निकै राम्रो खेलिरहेको उनले बताए । रिस जेम्स् र मासोन माउन्टले गोलका लागि मौकाहरु निकाले तापनि त्यसलाई जाली चुमाउन नसकिएको उनको विश्लेषण छ ।

जेम्स र मगुइरले रेडकार्ड पाउनुको अर्थ पहिलोपटक एउटा क्यालेन्डर वर्षमा ईंग्ल्यान्डका तीन जना खेलाडीहरु मैदानबाट निकालिएका छन् । यसअघि गत सेप्टेम्बरमा आइसल्यान्डविरुद्धको म्याचमा काइल वाल्करले दुईवटा पहेँलो कार्ड खाएका थिए ।

ईंग्ल्यान्डका कप्तान ह्यारी केनले रेडकार्डका दुई घटनाले आफ्ना खेलाडीहरु जितका लागि कति आतुर छन् भन्ने देखाएको प्रतिक्रिया दिए । जेम्सले आगामी दिनहरुमा आफ्नो निराशालाई राम्रो तरिकाले व्यक्त गर्ने उनको अपेक्षा छ ।

‘यो सिकाईकै एउटा प्रक्रिया हो । म पक्का छु कि उनले यसबाट सिक्नेछन् । जब तपाईंले आफ्नो १२० प्रतिशत दिइरहनुभएको हुन्छ र पनि रिजल्ट निस्किँदैन भने निराशा त हुन्छ नै,’ केनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment