
२९ असाेज, काठमाडौं । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी कामको अनुगमन गर्न हिँडेको काठमाडौं प्रशासनको टोलीले मापदण्ड विपरीत काम गर्दै आएका औषधि पसल, खाद्य स्टोर र सवारी साधनलाई कारबाही गरेको छ ।
बिहीबार प्रशासनको ३ वटा टोलीले काठमाडौंका विभिन्न ठाउँमा गरेको अनुगमनमा म्याद सकिएका र अखाद्य सामानको बिक्री गरेको, क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाएको एवं तोकिएको भन्दा धेरै भाडा उठाएको आरोपमा विभिन्न व्यवसायी एवं सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
थापाथली, कलंकी र कालीमाटी क्षेत्रमा गरिएको अनुगमनमा १७ वटा सवारीलाई बढी भाडा लिएको र क्षमताभन्दा धेरै यात्रु बोकेको आरोपमा कारबाही गरिएको छ ।
त्यस्तै, १३ वटा खाद्यान्न बिक्री गर्ने पसलमा गरिएको अनुगमनले दुई वटा पसलबाट म्याद सकिएका अखाद्य सामग्री जफत गरेको छ । ती पसललाई पनि कानुन अनुसार कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।
त्यस्तै, थापाथलीको नर्भिक अस्पताल क्षेत्रका ४ वटा औषधि पसलमा गरिएको अनुगमनमा ३ वटा औषधि पसलले मापदण्ड विपरीत काम गरेको भन्दै प्रशासनले ती औषधि पसललाई समेत कारबाही गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया 4